संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले देश निकट भविष्यमै दस प्लस एकको अवधारणामा जाने बताएका छन्।
याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा प्रदेश १ नामाङ्कनको उपयुक्ततामाथि आइतबार सम्पन्न बहसमा आफ्नो धारणा राख्ने क्रममा लिङ्देनले लिम्बुवान किरात नामको पक्षमा बोलेका हुन्।
प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने धारणा बताउँदै उनले भने, 'हामीले पहिचानको सवालमा उठाइरहेको मुद्दा के हो भन्ने कुराको बटमलाइनमा हामी प्रष्ट हुनुपर्छ। पहिचानमाथि अबको बुझाई भनेको केवल कस्तो पहिरन, कस्तो संस्कृति भन्नेमात्रै होइन। पहिचानको सम्बन्ध भूमिको ऐतिहासिकतासँगै त्यसमाथिको स्वायत्त राज्यसंचालनसँग जोडिन्छ। अबको पहिचानलाई हामीले स्वशासनसँग जोड्नुपर्छ। हाम्रो बटमलाइन यो हुनुपर्छ। त्यसैले हामी छुट्टै लिम्बुवान राज्य प्राप्तिको आन्दोलनमा छौँ।'
लिम्बुवान राज्य प्राप्तिको यो चरणमा प्रदेश १ लाई ऐतिहासिकताका आधारमा लिम्बुवान किरात स्वीकार्न सकिने बताउँदै उनले भने, 'दुई अलग र विशिष्ट पहिचान भएका किरात र लिम्बुवानलाई एउटै प्रदेशमा गाभेर पहिचानवादीबीच मनमुटाव सिर्जना गर्ने प्रपञ्चले यो प्रदेश बनाइएको हो। लिम्बुवान भन्नासाथ लिम्बूको भन्ने भाष्य निर्माण गरिएको छ, जुन गलत छ। लिम्बुवानको ऐतिहासिकताबारे हजारौं डकुमेन्टहरु छन्। लिम्बुवान आन्दोलनको लामो विरासत छ। लिम्बुवान प्राप्तिका लागि सहिदहरुको बलिदानी छ।'
राज्य पुनर्संरचना समितिको प्रतिवेदनले दस प्लस एकको अवधारणा सिफारिस गर्दागर्दै संघीयता विरोधीहरुले सात प्रदेशमा देशलाई जबर्जस्ती लगेको उनले बताए, 'पहिलो संविधानसभामा पहिचानसहितको संघीयताको पक्षमा ककस नै बनेको थियो। षड्यन्त्रपूर्वक संविधानसभा नै विघटन गरियो। तर पहिचान र सामर्थ्यलाई आधार मानेर प्रदेश बनाउने अवधारणा कायमै थियो। पछि पहिचानविरोधीहरुले बलमिच्याइँ गरेर ७ प्रदेश बनाए।'
लिम्बुवान राज्य प्राप्तिको आधारबिन्दु तय गर्न अहिलेलाई लिम्बुवान किरात मानेर जान सकिने उनले बताए। तर भविष्यमा आठौं प्रदेशका रुपमा प्रदेश १ बाट लिम्बुवान अलग्गिने पनि उनले ठोकुवा गरे।
कार्यक्रमका अर्का वक्ता जनता समाजवादी पार्टी, लिम्बुवान राज्यसमितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेश १ लाई एउटा सिङ्गो प्रदेशको रुपमा नबुझ्न आग्रह गरेका छन्। प्रदेशको नाम लिम्बुवान किरात नाम नै पारित भए पनि तात्विक रुपमा लिम्बुवानले केही फाइदा लिन नसक्ने उनले जिकिर गरेका छन्।
लिम्बुवान आन्दोलनबारे बोल्दै माखिमले भने, 'हामी जुनसुकै पार्टीमा आबद्ध भए पनि लिम्बुवान आन्दोलनको हाम्रो लक्ष्य एउटै हो। राजनीतिक पार्टीको रुपमा साधनमात्रै हाम्रो फरक हो, तर गन्तव्य एउटै हो। त्यसैले रुपमा छरिएकोजस्तो देखिए पनि सारमा हाम्रो उद्देश्य आठौं प्रदेशको रुपमा लिम्बुवान प्राप्ति नै हो।'
लिम्बुवान र किरातलाई प्रदेश १ भित्रका अलगअलग प्रदेशका रुपमा बुझ्न आग्रह गर्दै उनले भने, 'हामी यही प्रदेशलाई मानेर बस्नेवाला छैनौं। यसले हामीलाई कुनै फाइदा गर्दैन। लिम्बुवान आन्दोलनको म्यान्डेट पनि यो होइन। संसारभर संघीयताको अवधारणालाई हेर्दा सुरुमा थोरै राज्य र पछि बढ्दै गएका छन्। नेपालमा पनि हुने त्यही हो। त्यसैले प्रदेश नं एकलाई नै एउटा सिङ्गो प्रदेशको रुपमा स्वीकारेर बसिरहनुपर्ने कुनै कारण छैन।'
लिम्बुवानको इतिहासलाई नजरअन्दाज गरेर अन्य नाममा जोड नदिन पनि उनले आग्रह गरेका छन्, 'लिम्बुवान र लिम्बुवान आन्दोलनको विरासतलाई लत्याएर अन्य नामहरु सिफारिस गर्दै नेताहरुको ढोकाढोका नचहार्न म हाम्रै समुदायका केही अग्रजहरुलाई अनुरोध गर्छु।'
Shares

प्रतिक्रिया