राजनीति


असन्तुष्ट पौडेललाई भेट्न निवासमै पुगे देउवा

असन्तुष्ट पौडेललाई भेट्न निवासमै पुगे देउवा

नेपालखबर
मंसिर २८, २०७६ शनिबार ७:१७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवासमा पुगेर भेट गरेका छन्।

महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै सभापति देउवासँग असन्तुष्ट रहेका पौडेललाई भेट्न शनिबार बिहान उपसभापति बिमलेन्द्र निधिसहित देउवा पौडेल निवास पुगेका हुन।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भेटमा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने भन्ने विषयमा कुराकानी भएको बताए। ‘सभापति देउवा र उपसभापति निधिज्यु आउनु भएको थियो’, अधिकारीले नेपालखबरसँग भने, ‘पार्टीभित्र देखिएका विवाद वार्ता र सहमतिबाटै हल गर्ने विषयमा कुराकानी भयो।’

उनले पार्टीभित्र देखिएको विवाद समधानका लागि बनाइएको वार्ता समितिबाट नै सबै विवदको टुंगो लगाउने विषयमा छलफल भएको जानकारी दिए।

‘दुवै जनाले पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नुपर्ने पक्षमा जोड दिनु भएको थियो’, उनले भने, ‘विवाद समधानका लागि बनाइएको वार्ता समितिबाटै सबै विवादको समधान खोज्ने विषयमा छलफल भयो।'

कांग्रेसभित्र देखिएको विवाद समधानका लागि पौडेल पक्षले प्रकाशमान सिंहको नेतृत्व दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी रहेको समिति बनाएको छ भने संस्थापन पक्षबाट विमलेन्द्रनिधिको नेर्तत्वमा वार्ता समिति गठन भएको छ। कांग्रेसभित्र विभाग थप, जनवर्गीय संगठनको महाधिवेशन र पार्टीको महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद देखिएको छ।

विवादकै कारण पौडेल पक्षले बिहीबार बसेको केन्द्रीय समितिको बैठक समेत बहिष्कार गरेको थियो। सभापति देउवाले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्नेमा कार्यकाल सकिनै लाग्दा विभाग थप गर्ने, तरुण दलको म्याद थप गर्ने लगायतका कार्यसूची लगेपछि पौडेल समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो।

संस्थापन पक्षले पौडेल पक्षले बहिष्कार गरेको बैठकमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव लगिएको थियो।

बैठक बहिष्कारपछि शुक्रबार पौडेल पक्षको छुट्टै बैठक बसी महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad