ad ad

राजनीति


भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले लेखे प्रधानमन्त्री देउवालाई पत्र

भारतीय जनता पार्टीका अध्यक्ष नड्डाले लेखे प्रधानमन्त्री देउवालाई पत्र

नेपालखबर
असोज ३, २०७९ सोमबार २२:४३, काठमाडौँ

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगत प्रकाश नड्डाले प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाली जनतालाई नेपालको राष्ट्रिय दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका छन्। 

उक्त पत्रमा नेपाल र भारतबीच रहीआएको ‘मौलिक र बहुआयामिक संबन्ध’ सुदृढ गर्न भारत प्रतिबद्ध रहेको नड्डाले उल्लेख गरेका छन्। 

‘नेपाल र भारतबीच मौलिक र बहुआयामिक संबन्ध संबन्ध छ, यो संबन्धको समानान्तर छैन। यो संबन्धलाई अझ सुदृढ गर्न भारत प्रतिबद्द छ। म नेपाल र नेपाली जनताको सम्पूर्ण समृद्दिका लागि भगवान् पशुपतिनाथसंग प्रार्थना गर्न चाहन्छु’ भाजपा अध्यक्ष नड्डाले देउवालाई संबोधन गरेर लेखेको पत्रमा भनिएको छ।

भाजपाका विदेश बिभाग प्रमुख विजय चौथाईवालेले भारतस्थित नेपाली राजदूत डा. शंकर शर्मामार्फत् देउवालाई पत्र पठाएका हुन्। 

नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस एवं संविधान दिवसका अवसरमा सोमबार साँझ आयोजना गरेको कार्यक्रममा चौथाइवालेले पत्र हस्तान्तरण गरेका हुन्। चौथाइवालेले उक्त पत्र आफ्नो ट्विटरमार्फत् सार्वजनिक गरेका छन्। 

नेपालको संबिधान दिवसको अवसर पारेर भारतको सत्तारुढ दलको नेतृत्वका तर्फबाट प्रधानमन्त्री देउवालाई पत्र पठाइएको हो। यद्यपी भारतले नेपालको नयाँ संबिधानप्रति आफ्नो रिजर्भेसन राखेको थियो। २०७२ असोज ३ गते जारी भएको नेपालको संबिधानप्रति भारत सरकार र सत्तारुढ भारतीय जनता पार्टीले असन्तुष्ठि जनाएका थिए। भारतको राजनीतिक र प्रशाशनिक नेतृत्वले नेपालको संबिधान समावेशी नरहेको र नेपालका सबै पक्षको अपनत्व नरहेकोमा असन्तुष्ठी जनाएको थियो। खासगरी मधेशको भावना संबधोन नगरी संबिधान जारी गरेकोमा भारतको असन्तुष्टी थियो। 

भारतीय नेतृत्वका कुरा नेपालले सुनुवाई नगरी संबिधान जारी गरेकोमा आक्रोशित भारतले नेपालमाथि ५ महिना आर्थिक नाकाबन्दी गरेको थियो। २०७२ साल असोज ३ गते संबिधान जारी हुनु केही दिन पहिले तत्काली भारतीय विदेशसचिव एस जयशंकर (हालका विदेशमन्त्री) नेपाल आएर मधेशवादी दलका माग संबोधन गरेर मात्र संबिधान जारी गर्न नेपालको राजनीतिक नेतृत्वलाई दबाब दिएका थिए। तर नेपालको नेतृत्वले भारतको असन्तुष्ठीबीच संविधान जारी गरेको थियो। 

तर पछिल्लो समय भाजपाले नेपालको सत्तारुढ दलसंग संबन्ध विस्तारको नीति लिएको छ। गत चैतमा भएको भारतको औपचारिक भ्रमणमा प्रधानमन्त्री देउवाले दिल्लीस्थित भाजपा मुख्यालयको पनि भ्रमण गरे। उनलाई भाजपाका अध्यक्ष जेपी नड्डाले भ्रमणका लागि अनुरोध गरेका थिए। 

त्यसैगरी सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत साउनमा भाजपा अध्यक्ष नड्डाकै निम्तोमा भारत भ्रमणमा गएका थिए। उनले पनि भाजपा मुख्यालयको भ्रमण गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .