ad ad

राजनीति


गण्डकीमा कांग्रेसबाट सांसद बन्नेको लर्को, ‘सर्टलिस्ट’ बनाउनै कठिन

जिल्लाबाट आएका सबै नामहरु केन्द्रमा पठाइयाे
गण्डकीमा कांग्रेसबाट सांसद बन्नेको लर्को, ‘सर्टलिस्ट’ बनाउनै कठिन

फाइल तस्बिर


वाशुदेव मिश्र
असोज २, २०७९ आइतबार १४:२७, पाेखरा

गण्डकी प्रदेशबाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष निर्वाचनमार्फत् १८ जना सांसद चुनिन्छन्। 

सबैभन्दा धेरै ३ वटा निर्वाचन क्षेत्र कास्कीमा रहेको छ भने २ निर्वाचन क्षेत्र हुनेमा गोरखा, तनहूँ, नवलपुर, स्याङ्जा र बागलुङ छन्। बाँकी लमजुङ,मनाङ,मुस्ताङ,म्याग्दी र पर्वतमा एक सिट रहेको छ।

नेपाली कांग्रेस गण्डकीले प्रतिनिधिसभातर्फ ४९ महिला र २३ जना दलितसहित २६४ जना उम्मेदवारका आकांक्षीको नाममा केन्द्रमा पठाएको छ। तीमध्ये १३२ जना प्रत्यक्ष र त्यति नै जना समानुपातिकका आकांक्षी हुन्।

उम्मेदवारका आकांक्षी महिलामध्ये १३ जना प्रत्यक्षमा सिफारिस भएका छन् भने दलिततर्फ प्रत्यक्षमा सिफारिस हुनेमा एकजनामात्र रहेका छन्। सहमहामन्त्री जीवन परियारलाई कास्की क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको हो।

प्रदेशतर्फ प्रत्यक्षमा २७५ तथा समानुपातिकमा ३७२ जनाको सिफारिस परेको छ। गण्डकी संसदमा ६० जना सांसद हुन्छन् भने तीमध्ये ३६ जना प्रत्यक्षबाट चुनिन्छन्।

कांग्रेस ५ दलीय गगठबन्धनसहित चुनावमा होमिँदै छ। गठबन्धनका कारण  ३६ मध्ये सबै सिटमा कांग्रेसका उम्मेदवार नहुने निश्चित छ। उम्मेदवारका आकांक्षाीमध्ये प्रत्यक्षतर्फ चुनाव लड्न चाहने महिलाको संख्या १६ छ भने दलित ३ जनामात्र रहेका छन्।

यस्तै, समानुपातिकतर्फ १४१ जना महिला तथा ४० जना दलितको नाम सिफारिस भएको छ।

कांग्रेस गण्डकीका प्रवक्ता मधु बास्तोलाका अनुसार जिल्लाबाट आएका सबै नामहरुलाई केन्द्रमा पठाइएको हो। ‘सबै गरेर ९ सयभन्दा बढी आकांक्षीहरुको नाम आएको थियो’,उनले भने, ‘जिल्लालाई त आफूले पठाएका नामहरुबारे जानकारी होला तर प्रदेशका हामीले त नाम सम्झन पनि कठीन छ।’

उनका अनुसार वर्तमान उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, गण्डकी सभापति शुक्रराज शर्मा महासचिव किरणबाबु श्रेष्ठको नाम समानुपातिकको सूचीमा छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रदेश सभापतिमा पराजीत पर्वतका अर्जुन जोशीले प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन्।

उनका अनुसार प्रदेशबाट पठाएका नामहरुको ‘सर्ट लिस्टिङ’ को जिम्मेवारी भने गण्डकीबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारीले पाएका छन्।

गण्डकीबाट हाल उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार रहेका छन्। पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री डा.शशांक कोइरालासहित गण्डकी सभापति शुक्रराज शर्मा यतिबेला नामहरु सर्टलिस्ट गर्न लागेको उनले बताए।

तर,आकांक्षी धेरै भएकाले नामको टुंगो लगाउन मुस्किल रहेको पनि उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .