लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सोमबारमात्रै निर्वाचन आयोगलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको छ।
बन्दसूची तयारीको काम पूरा नभएका कारण लोसपाले सोमबारमात्रै आयोगमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउने भएको हो।
आयोगले राजनीतिक दलहरुलाई आइतबार र सोमबार गरी दुई दिन समानुपातिक निर्वाचान प्रणालीतर्फको बन्दसूची बुझाउन भनेको छ।
लोसपाका नेता केशव झाले सोमबारमात्रै पार्टीले बन्दसूची बुझाउने जानकारी दिए। ‘हामी बन्दसूची तयार गर्दैर्छौं,’ उनले भने, ‘भोलि (सोमबार) बुझाउँछौं।’
लोसपाले प्रतिनिधिसभामा समानुपातिक प्रणालीतर्फ ११० जनाको नाम समावेश गरेर बन्दसूची बुझाउने पनि बताए।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७९ मा गरिएको व्यवस्था बमोजिम दलहरुले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ बढीमा ११० र कम्तीमा ११ जना उम्मेदवारको नाम सूचीकृत गरेर आयोगसमक्ष बुझाउनुपर्दछ।
दलहरुले बन्दसूची तयार पार्दा दलित, आदिवासी जनजाति, खस आर्य, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने हुन्छ।
उम्मेदवारको बन्दसूची तयार गर्दा दलले समावेशी सिद्धान्तअनुसार तयार गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।
Shares

प्रतिक्रिया