राजनीति


सिट बाँडफाँटमा अलमलिँदा चुनाव प्रचारमा बाधा पुग्यो : जनमोर्चा

सिट बाँडफाँटमा अलमलिँदा चुनाव प्रचारमा बाधा पुग्यो : जनमोर्चा

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार २१:४९, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले गठबन्धन दलबीच सिट बाँडफाँटमा अलमलिँदा चुनाव प्रचारमा बाधा पुगेको जनाएको छ।

महासचिव मनोज भट्टले बिहीबार वक्तव्य प्रकाशित गरी पाँचदलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बिचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको बताएका छन्।

‘अब चुनावका लागि दुई महिना मात्र बाँकी रहेको छ। चुनावका सिटहरुबारे निर्णय नहुँदा त्यस सम्बन्धी प्रचार प्रसारको काममा बाधा पुगिरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनको पक्षमा भएका राजनीतिक शक्तिहरुले आफ्नो प्रचार प्रसारको काम अगाडि बढाइरहेका छन्। तर पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बिचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको छ।’

पाँचदलीय गठबन्धनमा अहिलेसम्म सिट बाँडफाँटबारे ठोस निर्णय हुन सकेको छैन। 

यस्तै, राजमोले सप्रतिनिधि सभामा बागलुङ १ बाट अध्यक्ष चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई उठाउने निर्णय गरेकोमा गठबन्धन दलहरुले त्यसलाई स्वीकार गरेको पनि स्पष्ट पारेको छ। तर, त्यसबारे औपचारिक निर्णय भने भइनसकेको महासचिव भट्टले बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘पाँचदलका बिचमा यो समझदारी बन्दै आएको छ कि पाँचदल मध्ये पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै त्यो सिट दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाँडेर चुनाव लड्ने। त्यस अनुसार नै प्यूठानमा पहिले राजमोले जितेको हुनाले त्यहाँ हामीले दावी गरेका छौ भने बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नं. १ मा हामीले दावी गरेका छौं। त्यसका लागि राजमोले बागलुङको क्षेत्र नं. १ मा हाम्रो पार्टीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी तथा प्यूठानमा राजमोकी उपाध्यक्ष तथा प्रवक्ता का. दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पाँचदलका बिचको बैठकमा राजमोको उक्त दुवै दावीलाई सामान्यतः स्वीकार गरिएको छ। तर प्यूठान र बागलुङका उक्त दुवै सिट राजमोलाई दिनेबारे पाँच दलका बीच सामान्य प्रकारको समझदारी बनेको भएपनि त्यसबारे औपचारिक रुपमा अन्तिम निर्णय हुन र पाँचदलका तर्फबाट आधिकारिक रुपमा घोषणा हुन बाँकी भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं।’

राजमोले बागलुङ र प्यूठानबारे मात्र होइन देशका अन्य सबै सिटहरुबारे पनि छिट्टै आधिकारिक घोषणा हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .