राजनीति


जनमोर्चाको बटमलाइन : संघमा दुई, प्रदेशमा सात (सूचीसहित)

जनमोर्चाको बटमलाइन : संघमा दुई, प्रदेशमा सात (सूचीसहित)

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १८:५५, काठमाडौँ

पाँचदलीय गठबन्धन आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्यमा छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल र शीर्ष नेताहरु सिट बाँडफाँटमा दिनानुदिन छलफल गर्दै आएका छन्। 

सिट बाँडफाँटका लागि हुने छलफलमा गठबन्धनमा रहेका दलहरु आ–आफ्नो हात माथि पर्ने गरी प्रस्ताव राख्दै आएका छन्।

छलफलका क्रममा कांग्रेसले सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टी (जसपा) ३२ सिट पाउनुपर्ने अडान राख्दै आएका छन्। 

गठबन्धनको अर्को साझेदार दल राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा दुई र प्रदेशसभामा ७ सिटको प्रस्ताव गरेको छ। प्रस्तावअनुसार सिट बाँडफाँट भए गठबन्धनलाई जित्न सहज हुने जनमोर्चाको दाबी छ। 

‘हामीले संघमा दुई र प्रदेशमा ७ सिट पाउनु पर्छ भनेर कुरा राख्दै आएका छौं। हाम्रो प्रस्तावलाई गठबन्धनमा कसैले अन्यथा लिएको छैन,’ जनमोर्चाका एक शीर्ष नेताले नेपालखबरसँग भने। 

ती नेताका अनुसार जनमोर्चाले संघीय संसदतर्फ बागलुङ–१ र प्युठान आफ्नो दलले पाउनुपर्ने प्रस्ताव सिट बाँडफाँटका लागि गठित कार्यदल र शीर्ष नेताहरुको बैठकमा राखेको छ। ती स्थानमा जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेदवार बनाउने तयारी गरेको छ। 

ती नेताले अध्यक्ष केसीलाई बागलुङ–१ र उपाध्यक्ष पौडेललाई प्युठानबाट प्रतिनिधिसभा सदस्यमा प्रतिष्पर्धामा उतार्ने निर्णय नै गरिएको पनि जानकारी दिए।

‘हामीले बागलुङ–१ मा अध्यक्ष चित्रबहादुर केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेललाई उठाउने निर्णय नै गरिसकेका छौं,’ उनले भने। 
जनमोर्चाले प्रदेशसभातर्फ ७ स्थानमा दाबी गरेको छ। बगलुङ–२ ‘ख’, अर्घाखाँची–१ ‘क’, गुल्मी–१ ‘क’ र दाङ–१ ‘क’ मा जनमोर्चाले प्रदेशसभातर्फ दाबी गरेको हो। 

यस्तै, जनमोर्चाले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि एक–एक स्थान आफ्नो दलले पाउनुपर्ने ‘बटम लाइन’ बनाएको छ। 
केन्द्रीय कार्यालय कपन स्रोतका अनुसार जनमोर्चाले बागमती प्रदेशमा काठमाडौं– ९‘ख’, कर्णाली प्रदेशमा सुर्खेत–१ ‘क’ र सुदूरपश्चिम प्रदेशमा डोटी–१ ‘ख’ पाउनु पर्ने ‘बटम लाइन’ बनाएको हो। 

‘हामीले प्रदेशसभातर्फ दाबी गरेको ठाउँमा हाम्रो मत जता डाइभर्ट हुन्छ उतै जीत हुने देखिन्छ। २०७४ मा जनमोर्चाको मत नपाएर एमाले हारेको अवस्था हो,’ एक शीर्ष नेता भन्छन्, ‘ती स्थानमा जनमोर्चाको अपनत्व सिर्जना गर्न नसके मत डाइभर्ट गर्न सहज हुन्न। गठबन्धनको जीतका लागि ती स्थान हामीले पाउनुपर्छ।’

गठबन्धनलाई प्रदेशसभातर्फ जनमोर्चाको मत आवश्यक नभए आफूहरु मैत्रीपूर्ण प्रतिष्पर्धामा जान पनि तयार रहेको ती नेताको भनाइ छ।

‘हाम्रो मत आवश्यक नभए स्वच्छ प्रतिष्पर्धामा जान सकिन्छ,’ उनले भने, ‘यसो गर्दा परिणाम सुखद् नआउन सक्छ।’

जनमोर्चाका तर्फबाट सिटौला संयोजकत्वको कार्यदलमा सहभागी आनन्द शर्माले सोमबारबाट ‘खास’ छलफल सुरु भएको प्रतिक्रिया दिएका छन्।

‘बालुवाटारमा हिजो (सोमबार) खास छलफल भएको छ,’ उनले भने, ‘सबै छलफल हार्दिकतापूर्ण छन्। यो राम्रो पक्ष हो।’ 

जनमोर्चाले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको थियो। उक्त निर्वाचनमा जनमोर्चाका उपाध्यक्ष पौडेल प्युठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad