ad ad

राजनीति


चिनियाँ जनकंग्रेसका अध्यक्षद्वारा संघीय र प्रादेशिक चुनावको सफलताको कामना

दसैँअघि नै सीमामा रोकिएका कन्टेनर नेपाल पठाउने आश्वासन
चिनियाँ जनकंग्रेसका अध्यक्षद्वारा संघीय र प्रादेशिक चुनावको सफलताको कामना

सन्तोष घिमिरे
भदौ २७, २०७९ सोमबार २२:२६, काठमाडौँ

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले मंसिर ४ गते हुन लागेको संघीय र प्रादेशिक चुनावको सफलताको कामना गरेका छन्। 

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँग सोमबार भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता समेत रहेका लीले नेपालको राजनीतिक स्थायित्व र समृद्धि चीनको चाहना रहेको बताए। चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार अपरान्ह नेपालको चार दिने भ्रमणमा आएका हुन्। नेपाल आएलगत्तै समकक्षी सापकोटासँग उनले औपचारिक वार्ता गरेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार सभामुख सापकोटासँगको भेटवार्तामा लीले आसन्न संघीय संसद् र प्रादेशिक चुनावको सफलताका लागि शुभेच्छा व्यक्त गरे। त्यसक्रममा सापकोटा र लीले दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध र सहकार्यप्रति सन्तुष्टि व्यक्त गरेका थिए। 

संघीय संसद् भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा सभामुख सापकोटाले एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै चीनका विरुद्ध नेपाली भूमिमा कुनै गतिविधि हुन नदिने बताएका थिए। चिनियाँ नेता लीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर सहयोग गर्ने बताएका थिए। 

सभामुख सापकोटाले चीन र चिनियाँ जनताले नेपालको विकास प्रयासमा दिँदै आएको उदार सहयोगका लागि प्रशंसा गर्दै कोरोना महामारीपछिको पुनर्स्थापना र नेपालका अन्य विकास प्रयासमा चीनबाट अझ बढी सहयोगको अपेक्षा गरेको बताए। 

‘चीन सरकारले नेपाललाई उल्लेख्य मात्रामा कोरोना विरुद्दको खोप, चिकित्सकीय उपकरण र सामग्री उपलब्ध गराएकोमा नेपाल सरकार र जनता आभारी छन्,’ सापकोटाले भेटवार्तामा भने। 

भेटवार्तामा दुवै पक्षले नेपाल र चीनको संसदबीच अन्तर्क्रिया र सहकार्य अझ बढाउन सहमति जनाए। त्यसैगरी नेपाल र चीनका संसदमा रहेका संसदीय मैत्री समूहका भूमिकालाई महत्व दिँदै सद्भाव अभिवृद्धि गर्नेमा सभामुख सापकोटा र चिनियाँ सभामुख लीले जोड दिए। नेपालको संघीय संसदमा सुभाष नेम्वाङको नेतृत्वमा नेपाल–चीन मैत्री समूह छ। त्यसैगरी चिनियाँ संसदमा पनि चीन–नेपाल मैत्री समूह छ। 

भेटवार्तामा चिनियाँ नेता लीले नेपालको संसदको आवश्यकताअनुसार संस्थागत तहमा सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे। विगतमा पनि चीनले नेपालको संसदलाई संस्थागत सहयोग गरेको छ। हाल संघीय संसद् रहेको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चीन सरकारको सहयोगमा निर्माण भएको थियो। 

नेपाल र चीनका सभामुखबीच दुई देशबीच बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गत कनेक्टिभिटी पूर्वाधार निर्माणको महत्वबारे छलफल भएको थियो। नेपालले सन् २०१७ मे महिनामा बीआरआईमा साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। बीआरआई अन्तर्गत नेपालमा उच्च गतिका रेल तथा सडक लगायत विकास पूर्वाधार निर्माण गर्ने भनिए पनि अहिलेसम्म परियोजना कार्यान्वयनमा आउन सकेका छैनन्। 

भेटवार्तामासापकोटा र लीबीच दुई देशबीचको आर्थिक सम्बन्धबारे पनि छलफल भएको थियो। लीले व्यापार घाटा घटाउन चीनले आवश्यक उपाय अवलम्बन गर्ने आश्वासन दिए। ‘चीनका उद्यमीलाई नेपाली जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछौँ,’ उनले भेटमा भने। 

भेटवार्तामा सीमा नाकामा व्यापार सहज बनाउनेबारे पनि कुराकानी भएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना संक्रमण बढेपछि हाल नेपाल र चीनका सीमा नाका ठप्प छन्। सीमा नाकाबाट आयात निर्यात र मानिसको आवागमन बन्द छ। लीले तिब्बततर्फको सीमा नाकामा रोकिएका कन्टेनर दसैँभन्दा अघि नेपालतर्फ जाने वातावरण मिलाइने बताएका थिए। दसैँ, तिहारका लागि सामान बोकेका दर्जनौं कन्टेनर तिब्बततर्फ रोकिएको एक महिनाभन्दा बढी भइसकेको छ। त्यसका कारण नेपाली व्यापारीले आफूलाई ठूलो घाटा परेको बताउँदै आएका छन्। तिब्बतमा कोरोना संक्रमणका कारण लकडाउन  गरिएका कारण नेपाली व्यापारीले सामान नेपाल ल्याउन पाएका छैनन्। 

भेटपछि सापकोटा र लीले नेपाल र चीनको संसदबीच सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर पनि गरे। सभामुख सापकोटाले ली र उनको प्रतिनिधिमण्डललाई होटल सोल्टीमा रात्रीभोज पनि दिए। रात्रीभोजमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्का, उर्जामन्त्री पम्फा भुसाल, चार वटै सुरक्षा अंगका प्रमुख र सरकारका उच्चपदस्थ अधिकारी लगायत सहभागी थिए। 

६७ सदस्यीय चिनियाँ टोलीका साथ चिनियाँ जनकंग्रेसका अध्यक्ष ली सोमबार अपरान्ह नेपाल आएका हुन्। लीलाई सभामुख सापकोटा, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत उच्चपदस्थ अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। 

लीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भोलि मंगलबार भेट्दैछन्। 

त्यसैगरी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भोलि नै बेग्लाबेग्लै भेट तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पर्सि शिष्टाचार भेट गर्नेछन्। 

राष्ट्रिय जनकंग्रेस चीनको व्यवस्थापिका हो। जसले चीनको राष्ट्रिय नीति बनाउने गर्छ।  नेता ली चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावशाली स्थायी समितिका सातमध्ये एक सदस्य हुन्। उनी राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा छन्। 

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि प्रभावशाली नेता लीको नेपाल यात्रा भएको हो। चिनियाँ कम्युनिस्ट पार्टी र चीनको नयाँ राजनीतिक नेतृत्व चयन गर्ने महत्वपूर्ण मानिएको महाधिवेशन अक्टोबरमा हुँदैछ। जसले मुलुकको आन्तरिक तथा विदेश नीतिका सवालमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। छिमेक नीतिबारे समेत उक्त अवसरमा छलफल हुनेछ। 

राष्ट्रपति सीको भ्रमणपछि नेपाल आउने ली नै वरिष्ठतम् चिनियाँ नेता हुन्। सी असोज २५, २०७६ मा नेपालको राजकीय भ्रमणमा आएका थिए। उक्त ऐतिहासिक भ्रमणमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति भएको थियो। २३ वर्षपछि नेपालमा भएको चिनियाँ राष्ट्रपतिको आगमनलाई विश्वले नै विशेष चासोका साथ हेरेको थियो।

ली नेपालको मात्रै यात्रामा भने आएका होइनन्। उनी चीनसँग सीमा जोडिएका एसियाका चार छिमेकी मुलुक रुस, मंगोलिया, नेपाल र दक्षिण कोरियाको भ्रमणमा निस्केका हुन्। उनको भ्रमण गत बुधबार रुसबाट सुरु भयो। उनी त्यहाँको इस्टर्न इकोनोमिक फोरममा सहभागी भए। रुसपछि उनी अर्को छिमेकी मंगोलिया गए। मंगोलिया भ्रमणपछि उनी काठमाडाँै आएका हुन्। नेपालपछि उनी दक्षिण कोरिया जानेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .