ad ad

राजनीति


गठबन्धन सहरमा अल्मलियो, एमाले गाउँ पस्यो

सातै उपाध्यक्ष प्रदेशमा खटिए, सचिवहरु पनि गाउँसम्म पुगे
गठबन्धन सहरमा अल्मलियो, एमाले गाउँ पस्यो

गृहजिल्ला झापामा आयोजित चुनावकेन्द्रित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
भदौ ३, २०७९ शुक्रबार १८:५०, काठमाडौँ

सत्ता गठबन्धन भागबण्डामै अल्झिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमाले भने गाउँ पसिसकेको छ। एमालेले केन्द्रीय नेताहरु नै खटाएर जिल्ला जिल्ला र गाउँसम्म निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम चलाइरहेको छ। 

पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेता पनि परिचालित भइरहेका छन्। सत्ता गठबन्धनका नेताहरु चाहिँ टिकटका लागि सहरमा केन्द्रित भएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एक्लै लड्ने तयारीमा जुटिरहेको एमालेले देशव्यापी प्रशिक्षण चलाइरहेको छ।

स्थानीय निर्वाचनमा हारको कारण पाँच दलीय गठबन्धनभन्दा आन्तरिक एकताको कमीलाई ठानेको एमालेले संसदीय निर्वाचनमा त्यसलाई दोहोरिन नदिने रणनीति बनाएको छ।

स्थानीय तहको निर्वाचनमा एक्लै कम्तीमा २५ जिल्ला पुगेका अध्यक्ष केपी शर्मा ओलीले यो पटक नेताहरुलाई सामूहिक रुपमा सबै क्षेत्रमा पुर्‍याउने रणनीति बनाएका छन्।

यही रणनीतिअनुसार यतिबेला एमाले नेताहरु भ्रातृ र जनसंगठनदेखि जिल्ला कमिटीको प्रशिक्षणमा पनि पुगिरहेका छन्।

खास गरी एमालेका पदाधिकारीहरु धमाधम जिल्ला दौडाहामा निस्किएका छन्। संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङ पहिलो पटक प्युठान पुगेका छन्।

 

राष्ट्रिय जनमोर्चाको प्रभाव रहेको प्युठानबाट युवा नेता सूर्य थापा उठ्ने तयारी गरिरहेका छन्। उनले जिल्लामै रहेर खासगरी जनमोर्चा र अन्य दलका  नेता कार्यकर्ता एमालेमा तानिरहेका छन्।

साउन ३० मा प्युठान पुगेका नेम्वाङले बिजुवारमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा गठबन्धन सरकारका गलत कामको फैसला मंसिर ४ को निर्वाचनबाट जनताले गर्ने बताए।

उनले उक्त प्रशिक्षण कार्यक्रममा भने, ‘आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नेहरू कम्युनिष्टबाट च्युत भइसकेका छन्।'

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि साउन ३० मा काठमाडौंमा अनेरास्ववियुले गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भए।

एमाले अहिले जिल्ला कमिटीसँगै भ्रातृ संगठनको पनि प्रशिक्षणमा होमिएको छ। स्थानीय निर्वाचनका गल्ती नदोहोर्याउने योजना बनाएको एमालेले तत्कालीन १० भाइलाई पनि विभागीय प्रमुखको जिम्मेवारी दिएर विवाद मिलिसकेको सन्देश दिएको छ।

यस्तोमा वरिष्ठ नेता पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले एकतावद्ध भएर बहुमत ल्याउने दाबी गरे। उनले स्थानीय तह निर्वाचनमा जनताको लोकप्रिय मत पाएकाले एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे।

अर्कातिर एमाले उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन केन्द्रित प्रशिक्षणका लागि साउन ३१ मा बाँके पुगे। त्यहाँ पुगेर उनले पनि अन्य नेताकै शैलीमा आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए।

स्याङ्जाको आँधिखोलामा एमाले सचिव योगेश भट्टराई

‘एमाले निर्वाचनमा पराजित हुँदा राष्ट्रवाद र समाजवाद पराजित हुन्छ,’ एमाले बाँके जिल्ला कमिटीले गत मंगलबार खजुरामा गरेको कार्यकर्ता प्रशिक्षणमा ज्ञवालीले भने, ‘कम्युनिष्ट पार्टीको बर्को ओढेर कांग्रेस जिताउन आउनेलाई जनताले विश्वास गर्ने छैनन्।'

ज्ञवालीले अदालतबाट संसद पुनर्स्थापना र १० बुँदे सहमतिपछि पनि पार्टी फुटाउनु गलत भएको तर्क उक्त प्रशिक्षणमा गरे।

यस्तै एमाले सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेशकुमार भट्टराई बुधबार निर्वाचन केन्द्रित कार्यकर्ता प्रशिक्षणका लागि बुधबार स्याङ्जा पुगे।

उनले त्यहाँस्थित आँधिखोला गाउँपालिकामा आयोजित एमालेको कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गरे।

एमालेका अर्का सचिव लेखराज भट्ट साउन ३० मै गृहजिल्लास्थित पार्टीको भ्रातृसंगठन प्रेस चौतारी नेपालको चुनाव केन्द्रित प्रशिक्षणमा भाग लिन पुगे।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले  नागरिकता विधेयक संसदमा फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाएको तर्क गरेका थिए।

उपाध्यक्षहरूको कमाण्ड
एमालेले कार्यकर्तालाई व्यवस्थित रुपमा परिचालन गर्न र पढाउन देशका सातै प्रदेशमा उपाध्यक्षहरूलाई खटाएको छ।

अहिले प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खटिएका छन्। मधेशमा सुरेन्द्र पाण्डे, बागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ. कर्णालीमा रामबहादुर थापा 'बादल' सुदूरपश्चिममा युवराज ज्ञवालीलाई खटाइएको छ।

उनीहरुको नेतृत्वमा एमालेले मंसिर ४ मा हुन लागेको संसदीय चुनावको तयारी तीव्र पारेको हो। 'उपाध्यक्षहरूको कमाण्डमा जनसंगठनदेखि भूगोल कमिटीसम्मको प्रशिक्षण चलिरहेको छ। जनसंगठनहरुको काठमाडौं प्रशिक्षण जारी छ', संगठन विभाग प्रमुख खगराज अधिकारीले भने, 'अन्य प्रशिक्षण जिल्ला र गाउँ तहसम्म छ। यसको उद्धेश्य पहिलो त विचलन रोक्ने हो। अर्को भनेको स्थानीय चुनावका कमजोरी सँच्याउने हो। हाम्रो अहिलेको लक्ष्य सकेसम्म बहुमत नै हो।'

बाँकेमा आयोजित प्रशिक्षणमा उपाध्यक्ष युवराज ज्ञवाली

नियमित पढाइँदै​
मंसिर ४ को चुनाव आउन ठ्याक्कै तीन महिना बाँकी रहँदा एमालेले प्रशिक्षणलाई तीव्र पारेको छ। यता केन्द्रीय स्कुल विभागले समेत पार्टी कार्यालयमा नियमित प्रशिक्षण थालेको छ।

विभागले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत आजदेखि कार्यकर्ताका लागि केन्द्रीय कार्यालयमा पार्टी स्कुल (विषयगत प्रशिक्षण) दिन थालेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीले सबै जनसंगठनलाई प्रशिक्षण दिइने बताए। उनले भदौभर सात-आठवटा जनसंगठनका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिइसक्ने योजना सुनाए।

प्रशिक्षणमा मार्क्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा संगठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताहरूले प्रशिक्षण दिने छन्।

एमालेले खासगरी स्थानीय निर्वाचनअघि र त्यसपछि पार्टीमा प्रवेश गरिरहेकाहरुलाई लक्षित गरेर पनि प्रशिक्षण दिँदैछ। ‘नवप्रवेशीहरूलाई एमालेको काम गर्ने शैली, संस्कार, मूल्य–मान्यता लगायत विषयमा प्रशिक्षित गर्ने योजना छ’, ज्ञवालीले भने।

रणनीति फेर्दै
गत वैशाख ३० गतेको स्थानीय निर्वाचनअघि अध्यक्ष ओली एक्लै देश दौडाहामा निस्किएका थिए। तर ओली देशदौडाहाका क्रममा एक्लै पुगेका ठाउँको परिणाम एमालेको पक्षमा आएन।

ओलीको एक्लो दौडधूपले मात्रै परिणाम नआएको भन्दै एमालेले यो पटक ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय नेताहरुलाई गाउँसम्म परिचालित गरेको छ।

एमाले संगठन विभाग प्रमुख अधिकारी प्रशिक्षण र संगठनात्मक काममा एकसाथ नेताहरुलाई परिचालित गरिएको बताउँछन्।

'हाम्रा सातै जना उपाध्यक्षहरू अहिले प्रशिक्षण कार्यक्रमको कमाण्ड गरेर परिचालित हुनु भएको छ। स्थानीय चुनावमा रहेका आन्तरिक समस्या र विचलनलाई यी प्रशिक्षणले सम्बोधन गर्नेछन्', उनले नेपालखबरसँग भने, 'उपाध्यक्षहरूको नेतृत्वमा प्रदेशदेखि गाउँ तहसम्म चलिरहेका प्रशिक्षण र भेलाले पार्टीलाई एकतावद्ध बनाउने छन्।

काठमाडौंमा स्कुल विभागको प्रशिक्षणका क्रममा उपमहासचिव प्रदीप ज्ञवाली

अधिकारीका अनुसार स्थानीय चुनावअगाडि यस किसिमका प्रशिक्षण कार्यक्रम नराख्दा कार्यकर्तामा विचलन आएर अन्तर्घात भएको बताउँछन्।

'यस किसिमको प्रशिक्षण भएकै थिएन। कार्यकर्ताहरु पनि वैचारिक रुपमा भुत्ते भएकाले समस्या भएको हो। त्यसका केही असर स्थानीय चुनावमा देखिए', उनले भने, 'तर यस पटक हामी ती समस्यालाई चिर्ने गरी अघि बढेर बहुमतको लक्ष्यमा छौँ। गठबन्धनमा सिट बाँडफाँट नै जटिल छ। त्यसको असन्तुष्टिको फाइदा एमालेले उठाउन सक्ने गरी जानुपर्छ।'

एमालेका प्रमुख सचेतक विशाल भट्टराई पनि माथिदेखि तलसम्म पार्टीलाई एकसाथ चलायमान बनाउन वैचारिक र संगठनात्मक प्रशिक्षण अभावलाई यसपटक पूरा गर्न लागिएको बताउँछन्।

'स्थानीय निर्वाचनमा केही कमजोरी भएका छन्। हामी सत्ता गठबन्धनकै कारण हारेका हौँ। त्यसमा हाम्रो आन्तरिक कारण पनि होलान्', एमाले केन्द्रीय सदस्य एवम् संघीय संसदका प्रमुख सचेतक विशाल भट्टराईले भने, 'यो पटक सबै नेताहरु एकसाथ देशभर परिचालित भएका छन्। अध्यक्ष ओली पनि त्यही अभियानअन्तर्गत परिचालित हुनु भएको छ।'

भट्टराईका अनुसार पार्टीमा लामो समयदेखि प्रशिक्षण नचल्दा स्थानीय निर्वाचनमा विचलन देखिएकाले त्यसलाई सच्याउने अभियान अहिले चलाइएको हो।

'एकातिर केन्द्रीय पार्टी स्कुल विभागले नियमित पढाउने छ। अर्कातिर नेताहरु पनि आवश्यकता अनुसार गाउँसम्म पुगेर प्रशिक्षण दिनुहुनेछ। स्थानीय निर्वाचनमा जस्तो गुटगत र अन्तर्घात जस्ता समस्या दोहोरिन नदिन पार्टी सचेत छ', उनले भने, 'अहिलेबाटै हामी एकतावद्ध भएर पार्टीलाई बहुमत ल्याउने गरी चुनावमा होमिन्छौं। हाम्रो लक्ष्य बहुमत हो। हामी एक भएमा गठबन्धनले हराउन सक्दैन।'

एमालेले यस पटक १० भाइ र तत्कालीन माधव नेपाल गुटका रुपमा चर्चामा देखिएका नेताहरुलाई पनि प्रशिक्षण अभियानमा एकसाथ होमेको छ।

'हामी चुनावी अभियानमा जुटिसकेका छौँ। देशभर प्रशिक्षण चलिरहेका छन्। स्थानीय निर्वाचनमा देखिएको अनुशासनहीन गतिविधि र अन्तर्घातलाई निमिट्यान्न पार्न सके चुनावी नतिजा हाम्रो पक्षमा आउँछ', एमालेका एकजना पदाधिकारीले भने, 'त्यसका लागि तयारी भइसकेको छ। गठबन्धन सरकारका असंवैधानिक र जनविरोधी गतिविधिको भण्डाफोर गर्दै भदौभर प्रशिक्षण चल्नेछन्।'

स्याङ्जामा आयोजित प्रशिक्षण कार्यक्रमका सहभागी

ओली पूर्वतिर
अन्य पदाधिकारीहरु जिल्ला जिल्ला पुगेर प्रशिक्षण दिइरहेका बेला अध्यक्ष ओली पनि बुधबारै झापा पुगेका छन्।

उनी गृहजिल्ला झापामा चुनावी रणनीति बनाउन उपाध्यक्ष सुवास नेम्वाङसहित पुगेका हुन्। ओलीले त्यहाँ पार्टीका कार्यकर्तालाई प्रशिक्षणसँगै स्थानीयवासीसँग संवाद पनि गरेका छन्।

स्थानीय निर्वाचनमा गृहनगर दमक गुमाएका ओली अहिलेबाटै आफ्नोसहित झापाका सबै क्षेत्रमा पूर्वतयारीका लागि जुटेका हुन्।

इलाममा केपी ओली र सुवास नेम्वाङसहितका नेताहरु

उपाध्यक्ष नेम्वाङ  र उपमहासचिव विष्णु रिमाल पनि पुगेका छन्। झापाको कचनकवलमा पुगेर उनले कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरे।

त्यस्तै उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमकको तेस्रो नगर अधिवेशनमा पनि सहभागी भए।

ओली झापाबाट इलाममा हुने पार्टी कार्यक्रमका लागि उपाध्यक्ष नेम्वाङसहित शुक्रबार पुगेका छन्। त्यहाँ उनले राष्ट्रिय युवा संघको नेपाल बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरे।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला इलामबाट चुनाव जित्न उपाध्यक्ष नेम्वाङलाई यो पटक चुनौती थपिएको छ। सत्ता गठबन्धनसँग भिड्नुपर्ने भएपछि नेम्वाङ पनि अहिले जिल्ला केन्द्रित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .