ad ad

राजनीति


प्रधानमन्त्री देउवा र पत्नी आरजुले पुरानो क्षेत्र नछाड्ने

गठबन्धनको बलमा यो पटक जित्न सक्छिन् आरजु
प्रधानमन्त्री देउवा र पत्नी आरजुले पुरानो क्षेत्र नछाड्ने

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०७९ बिहिबार १८:४१, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा पुरानै क्षेत्रबाट संसदीय निर्वाचन लड्ने भएका छन्। 

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा र पत्नी डा. राणा कैलाली क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचन लड्ने तयारीमा लागेका हुन्। 

यद्यपि, दुवैले पुरानो निर्वाचन क्षेत्र छाडेर नयाँ क्षेत्रको खोजी गरिरहेको चर्चा चलिरहेको छ। तर, बालुवाटारनिकट स्रोतले क्षेत्र परिवर्तनबारे सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको दाबी गरेको छ।

‘प्रधानमन्त्री डडेल्धुराबाटै र पत्नी आरजु कैलाली–५ बाट उठ्नु हुन्छ,’ स्रोतले भन्यो, ‘कसले कसरी अफवाह फैलाउँछ थाहा छैन। तर, यति बुझ्नुस् ती क्षेत्र परिवर्तनमा सत्यता छैन।’

कांग्रेस कैलालीले पनि प्रधानमन्त्री पत्नी डा. राणा कैलाली–५ बाटै निर्वाचन लड्ने दावी गरेको छ। 

‘भाउजु यतैबाट चुनाव लड्नुहुन्छ। निर्वाचन क्षेत्र सार्ने कुरामा सत्यता छैन,’ कांग्रेस कैलालीका सचिव केशव मिश्रले नेपालखबरसँग भने, ‘यसबारे पार्टीमा सल्लाह र छलफल भइसकेको छ।’

विगतको हिसाब
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा डा. राणा कैलाली–५ मा नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। उनलाई रानाले झण्डै ५ हजार मतले हराएका थिए।

एमाले नेता राना २७ हजार २०२ मतसहित विजयी हुँदा डा. राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन्। यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का  लक्ष्मण चौधरीले ६ हजार ७४७ र विवेकशील साझाका दिनेशराज भण्डारीले २ हजार ७२२ मत ल्याएका थिए। 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कैलाली–५ मा कांग्रेसको मत २२ हजार ७७९ देखिएको छ। 

एमाले १७ हजार ४२० मतसहित दोस्रो र माओवादी ८ हजार १७५ सहित तेस्रो स्थानमा छ। 

यस्तै, नेकपा एकीकृत समाजवादीको पक्षमा २ हजार ९, राप्रपाको पक्षमा १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीको पक्षमा ६५९ मत देखिएको छ। 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३०२ पाउँदा जनता समाजवादी पार्टी  (जसपा) को १५० मत छ। 

गठबन्धनले बलियो
२०७४ को निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा एमाले उम्मेदवार रानासँग पराजित भए पनि डा. राणालाई आसन्न निर्वाचनमा सहज देखिएको छ। 

यस पटक कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गर्ने निश्चित भइसकेकाले उनलाई सहज हुने देखिएको हो। 

देउवा गृहजिल्लामै
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले डडेल्धुराबाट २८ हजार ४४६ मत ल्याएका थिए। 

देउवाका चिरपरिचित प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत पाएका थिए। तत्कालीन समयमा डडेल्धुरामा माओवादीले एमालेसँग चुनावी तालमेल गरेको थियो।

देउवाले निर्वाचन लड्दै आएको डडेल्धुराका स्थानीय तहका वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको मत हेर्दा कांग्रेसका पक्षमा २१ हजार ७३५ मत देखिएको छ। 

यस्तै माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ मत ल्याएका छन्।

स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतअनुसार गठबन्धन दलको मत डडेल्धुरामा ३९ हजार ६५४ देखिएको छ। डडेल्धुरामा कुल मतदाताको संख्या झण्डै ८५ हजार छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .