ad ad

राजनीति


डम्बर खतिवडाको नजरमा बाबुरामका चार संकट

डम्बर खतिवडाको नजरमा बाबुरामका चार संकट

नेपालखबर
साउन २२, २०७९ आइतबार ८:१५, काठमाडौँ

लेखक, विश्लेषक तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डम्बर खतिवडाले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ‘एक प्रकारको महा द्विविधा’मा रहेको टिप्पणी गरेका छन्। 

करिब ८ वर्ष सहकार्य गरेको समूहले नयाँ दल दर्ता गरेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाई र अडान प्रष्ट पार्दै खतिवडाले डा. भट्टराई समक्ष ४ बाटाहरु रहेको बताएका छन्। 

‘मेरो अनुभव र बुझाईमा यो समूह र विशेषतः यसका मुल नेता डा. बाबुराम भट्टराई अहिले चौरास्ता, चार मनस्थितिमा हुनुहुन्छ,’ खतिवडाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसलाई एकप्रकारको महा द्विविधा (द ग्रेट डिलेमा) भन्न सकिन्छ।’

शनिबार (२० साउन) मात्रै भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बैठक बसेको थियो। सो बैठकले डा.भट्टराई र महिन्द्र राय यादवलाई अध्यक्षसहित १८९ सदस्यीय केन्द्रीय समिति बनाएको छ। 

१० वर्षे शसस्त्र द्दन्द्द हुँदै शान्ति प्रक्रियामा होमिएका भट्टराईले यसअघि माओवादी छाडेर नयाँ शक्ति गठन गरेका थिए। पछि मधेशकेन्द्रीत दल एकीकृत गरेर जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष बनेका भट्टराईले जसपा छाडेर पुनः नयाँ दल दर्ता गराएका छन्। 

उक्त दल दर्ताबारे आफ्नो मत राख्दै खतिवडाले सामाजिक सञ्जालमा ४ बाटा देखाएका छन्ः
१) नेकपा (मसाल) नेता मोहनविक्रम सिंहको प्युठान र चित्र बहादुरको बागलुङमा जस्तै गोर्खा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रुपमा खुम्चिनु।
२) कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समुहहरुको एकतामा सामेल भई विलयन हुनु। 
३) डा. भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानू र समूह नै तितरबितर हुनु।
४)बृहत् अर्थमा बैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रुपमा योगदान गर्नु। यो समुहले एक्लै अब बैकल्पिक राजनीतिको पुनर्गठन र नेतृत्व गर्न सक्दैन तर चाहेमा नयाँ र बृहत परिप्रेक्ष्यमा योगदान गर्ने घटक भने हुन सक्छ।

यी ४ मध्ये कुन बाटोमा जान्छ भन्ने प्रष्ट नहुन्जेलसम्म यसैको पार्टी सदस्य भएर बस्छु। यसको अनुमानित अवधि मंसिर मसान्तसम्म हो। नेतृत्वमा किन बसिँन भने अहिलेको मोडेलको पुनर्गठनमा मेरो सहमति थिएन र त्यसको नैतिक बोझ उठाउने सामर्थ्य मसंग रहेन। नेतृत्वमा बस्दा अहिलेको मोडेलमा मेरो पनि समर्थन छ भन्ने बुझिन्थ्यो।

यस प्रक्रियामा डा. भट्टराईसंग भएको मेरो अन्तिम फोन संवादको एकटुक्रा जस्ताको त्यस्तै ।

कदाचित मनमा चौथो बाटो हिड्न उचित हो भन्ने भावना आयो भने साँस्कृतिक क्रान्तिको असफलतापछि माओले श्रमशिविरमा बसेका देङ सियाओ पिङलाई संझेजस्तो हामीलाई सम्झनुहोला।

फोनमै गज्जबले हाँस्नु भो तर कुनै उत्तर दिनु भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .