ad ad

राजनीति


एमालेमा गुटैगुट, सजिलो छैन टिकट वितरण

एमालेमा गुटैगुट, सजिलो छैन टिकट वितरण

नेपालखबर
साउन २१, २०७९ शनिबार १९:१०, काठमाडौँ

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनमा सीटको भागवण्डा कसरी मिलाउने भन्ने सकस परेको छ। यसका लागि सत्तापक्षले ११ सदस्यीय समिति नै बनाएको छ। 

चुनावमा टिकट वितरण कसरी गर्ने भन्ने समस्या पाँच दलीय गठबन्धनमा मात्रै होइन, एकमना एकता रहेको भनिएको नेकपा एमालेमा पनि नयाँ गुटहरु जन्मिएका कारण टिकट वितरण सहज देखिँदैन।

नेकपा एमालेका एक नेताले नेपालखबरसँग भने, ‘माओवादीहरु अलग भएर गइसकेपछि र माधव नेपालहरु पनि अलिग्एपछि अब त एमाले एक ढिक्का बन्ला भन्ने लागेको थियो, अहिले फेरि पार्टीभित्र गुटैगुट देखा परेका छन्, आगामी चुनावमा हाम्रो पार्टीमा पनि गठबन्धनमा जस्तै झगडा पर्नेवाला छ।’

ती नेताका अनुसार एमालेभित्र अध्यक्ष केपी शर्मा ओली सर्वमान्य नै रहेता पनि दोस्रो तहका नेताबीच गुटबन्दी बढेको छ। उनी भन्छन्,‘ ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेलका आआफ्नै गुट छन्, आफ्नो मान्छेलाई टिकट दिन उहाँहरुको हानाथाप पर्नेवाला छ।’

त्यसैगरी सुवास नेम्वाङले आफ्नो समूहका मान्छेलाई च्याप्ने गरेको एमाले नेताको आरोप छ। नेम्वाङले खास गरी जनजाति नेताहरुको पक्षपोषण गर्ने गरेको ती नेता बताउँछन्।

पदाधिकारीभन्दा तल पनि गुटहरु बढ्न थालेको ती नेताले बताए। यसको उदाहरण दिँदै उनले भने, ‘तल पनि महेश बस्नेतको एउटा गुट छ, गोकुल बास्कोटाको अर्कै गुट छ।’

त्यसो त एमालेभित्र ओली पक्षकै नेताहरुले गुटहरु खेलाए पनि तेस्रो धारका रुपमा हिजो फरक धारमा रहेका घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई अर्को समूहका रुपमा व्यवहार गर्ने गरिएको भुसाल पक्षका नेताहरुले बेग्लै गुनासो गर्दै आएका छन्।

एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीको पनि प्रभाव रहेको नेताहरु बताउँछन्। भोलि टिकट वितरण हुँदा विद्या भण्डारी निकट नेताहरुले पनि कोटा दाबी गर्ने स्रोतको दाबी छ। एमाले स्रोत भन्छ, ‘शीतलनिवासको पनि अप्रत्यक्ष गुट एमालेमा छ।’

त्यसो त एमालेभित्र पूर्वमाओवादीहरुको पनि बेग्लै गुट रहेको छ। रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतलाई पनि टिकट वितरणमा चित्त बुझाउनुपर्ने स्थिति छ।

मोरङको उदाहरण हेरौं–

एमालेभित्रको गुटबन्दीले उम्मेदवार छनोटमा कसरी प्रभाव पार्ने स्थिति देखिएको छ भन्नेबारे मोरङको ‘केस स्टडी’ हेरौं–

मोरङ क्षेत्र नम्बर १ मा ०७४ सालको चुनावमा नेकपा एमालेबाट घनश्याम खतिवडाले निर्वाचन जितेका थिए। एमाले–माओवादी गठबन्धनका कारण खतिवडाको जित सहज भएको थियो।

एमालेका खतिवडाले ३७ हजार ५२४ मत ल्याउँदा कांग्रेसका डिग बहादुर लिम्बुले ३१ हजार ४३६ मत पाएका थिए। अहिले यहाँ एमाले–माओवादी गठबन्धन हुनेवाला छैन। त्यसको उल्टो कांग्रेस र माओवादीको गठबन्धन हुने देखिन्छ।

तर, मोरङ १ नेकपा एमालेको राम्रो प्रभाव रहेको क्षेत्र हो भन्ने कुरा गत स्थानीय चुनावमा देखिएको छ। एमालेले यहाँका धेरै स्थानीय तहमा जित निकालेको छ। तथापि वडागत मतका आधारमा विश्लेषण गर्दा एमालेले यसक्षेत्रमा पाएको मत ३२ हजार ३६६ छ भने कांग्रेसको पनि हाराहारी अर्थात् ३१ हजार ४१३ छ। यहाँ  माओवादीले पाएको वडागत मत ६ हजार ५८३ छ।

मोरङ १ मा माओवादी र कांग्रेसीच गठबन्धन भयो भने एमालेलाई जित निकाल्न चुनौतीपूर्ण छ। तर, राम्रो उम्मेदवार दिने हो भने एमालेले गठबन्धनलाई हराउन सक्ने सो पार्टीका नेताहरु बताउँछन्। तर, एमालेको राम्रो उम्मदेवार को त ? यहाँ टिकटका लागि पार्टीभित्र लडाइँ छ।

एमाले मोरङका एक नेता भन्छन्, ‘यहाँ चुनाव जित्ने हो भने या त घनश्याम खतिवडालाई नै फेरि टिकट दिनुपर्छ, होइन भने केपी ओली नै ल्याउनुपर्छ।’

ती नेताका अनुसार मोरङ १ मा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि दाबी गरेकी छिन्। उर्लाबारी घर भएकी शिवमाया यसअघि समानुपातिक सांसद थिइन्। यसपालि समानुपातिकमा दोहोरिने सम्भावना कम भएकाले उनी मोरङ १ बाट चुनाव लड्न चाहन्छिन्।

रोचक के छ भने घनश्याम खतिवडा र शिवमाया दुबै केपी ओली समूहकै नेता हुन्। यसमा पनि शिवमाया शीतलनिवास निकट मानिन्छन्। पछिल्लो समय राष्ट्रपति र शिवमायाबीच राम्रो सम्बन्ध रहे पनि खतिवडा पनि पञ्चायतकालमा भण्डारीलाई दुःख–सुखमा साथ दिएका पुराना नेता हुन्।

तर, एमाले स्रोतले भन्यो, ‘टिकटको दौडमा शीतलनिवासको दबाव प्रयोग गर्ने हैसियत खतिवडाको भन्दा तुम्बाहाम्फेको दह्रो छ। तर, मतदातामा प्रभावचाहिँ शिवमायाको भन्दा घनश्यामकै बलियो छ। उनी जनतामा बढी भिजेका छन्। उता शिवमायालाई सुवास नेम्वाङको पनि साथ हुने देखिन्छ।’

तुलनात्मक रुपमा मोरङका अरु क्षेत्रमा भन्दा एमालेको राम्रो प्रभाव रहेको उत्तरी मोरङमा टिकटका लागि प्रतिस्पर्धा गर्नेहरुमा शिवमाया र घनश्याम मात्र होइन, गुरु बराल पनि छन्। बराल पनि ओली निकटकै नेता हुन्।

यो त एउटा क्षेत्रको उदाहरण मात्र हो, यस्तै समस्या पार्टीमा देशैभरि रहेको एमाले नेताहरु बताउँछन्। पार्टीले विभिन्न गुट–उपगुटका स्वार्थलाई समाधान गर्न सकेन भने चुनावमा एकले अर्कालाई असहयोग गर्ने खतरा स्थानीय चुनावबाटै देखिइसकेको स्वयं अध्यक्ष ओलीले नै बताउँदै आएका छन्।

पछिल्लो समय नेकपा एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच अन्तरविरोध बढेको छ। उनीहरुबीचको अन्तरविरोध संगठनभित्र र राजनीतिक विचारधारामा पनि देखिन थालेको नेताहरु बताउँछन्। खासगरी लुम्बिनीमा टिकट वितरणलाई लिएर उनीहरुबीच अन्तरविरोध देखिने गरेको स्रोतले बतायो। यसको असर देशभरिको टिकट वितरणमा पर्ने सक्ने एमाले नेताहरुको विश्लेषण छ।

बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भने एमालेभित्र घेराबन्दी गरिँदै आएको अहिलेदेखि होइन। तर, पार्टीभित्र उनी पनि आफ्नो पोजिसन बलियो पार्ने रणनीतिमा लागेको नेताहरुको तर्क छ। यसका लागि पोखरेलले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीको क्याम्पसँग सम्बन्ध बढाएका छन्।

तर, शीतलनिवासको विश्वास लिएर शक्ति आर्जन गर्न महासचिव पोखरेल पनि उत्तिकै सचेत देखिन्छन्। यस्तो हुँदै जाँदा एमालेभित्र विद्या भण्डारीको भूमिका बलियो हुने बुझाइ पार्टीका कतिपय नेताहरुको छ।

त्यसो त राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पनि अब धेरै छैन। मंसिर ४ मा चुनाब भएपछि बढीमा फागुनसम्म पुग्दा नयाँ राष्ट्रपतिको चुनाव हुने सम्भावना छ। त्यसपछि भण्डारीले भूमिका खेल्ने भनेको नेकपा एमालेभित्रैबाट हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .