ad ad

राजनीति


भ्रष्टाचार र महंगीविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दै एमाले

भ्रष्टाचार र महंगीविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दै एमाले

नेपालखबर
साउन १२, २०७९ बिहिबार १५:१७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महँगी र भ्रष्टाचारविरुद्ध साउन १६ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। उक्त प्रदर्शनका लागि आन्तरिक तयारी तीव्र पारिएको छ।  

एमालेले बिहीबार पार्टी कार्यालय च्यासलमा उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई भव्य बनाउन निर्देशन दिएको छ। 

बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता ठूलो मारमा परिरहेका बताउँदै सरकारले नियन्त्रणमा पहल नगरेकाले प्रदर्शन गर्न लागिएको बताए। 

उनले सरकारलाई खबरदारी गर्न जरुरी रहेको पनि उल्लेख गरे। पोखरेलले प्रदर्शनका लागि राम्रो तयारी गर्न र संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिए।

बैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते गर्न लागिएको जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिए।

‘पार्टीको संगठित शक्ति परिचालन गरी बढीभन्दा बढी जनता सडकमा उतार्न सबै जनसंगठन र उपत्यकाका सबै पार्टी कमिटीले विशेष ध्यान दिनुपर्छ,’ उनले भने। 

मुलुकमा महँगी र भ्रष्टाचार व्याप्त रहेकाले सरकारका बेथितिविरुद्ध एमाले सडकमा उत्रेर आवाज उठाउँछ भन्ने सन्देश  प्रदर्शनले दिनुपर्ने उनले बताए। 

'सरकारका बेथिति र गलत कामविरूद्ध जनतालाई जागरुक बनाउने अहिलेको आवश्यकता हो', उनले भने, 'त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ।' 

जनप्रदर्शन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र काशीनाथ अधिकारी पनि सहभागी थिए। 

एमालेको जनप्रदर्शन वसन्तपुरबाट दिउँसो २ बजे शुरू हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .