ad ad

राजनीति


चुनावलाई लक्षित गरेर सरकारले वृद्धभत्ताको उमेर घटायो : ओली

चुनावलाई लक्षित गरेर सरकारले वृद्धभत्ताको उमेर घटायो : ओली

फाइल फोटाे


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १८:३२, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्।

शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए। 

उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गरे। उनले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति संकेत गर्दै मुलुकको उद्योगधन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर राष्ट्रलाई कंगाल बनाएको पनि दोहोर्याए। 

उनले प्रश्न गरे, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक? चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ लजिक?’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरुको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको बताए। 

उनले भने, ‘अहिले त मैले धेरैकुरा भनिरहनु पर्लाजस्तो लाग्दैन। हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने? आठ वटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्यौं। त्यसमा सुविधाका कुराहरु अगाडि बढायौं। र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राइभेटाइजेशनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौं। हामीले निजी क्षेत्रलाई पनि सँगै लिएर हिँडने नीति, प्रोत्साहित गर्ने नीति लियौं तर कौडीका मोलमा राष्ट्रलाई कंगाल बनाउने काम गरियो।’

ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले मुलुकको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरुलाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .