नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बाम पार्टीबीच एकता प्रस्ताव गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा भएको छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका हुन्।
माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएका हुन्।
स्रोतका अनुसार प्रचण्डले एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रस्ताव पनि गरेका छन्।
‘म पार्टीभित्र पनि सल्लाह गर्छु, माधवजीको पार्टी पनि अहिले हामीसँगै एउटै एजेण्डामा अघि बढिरहेको छ,’ प्रचण्डले भट्टराईसमक्ष राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्यमान देशको राजनीति र भावी चुनावका कारण हामी मिलेर जानुपर्छ।’
बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो।
बिहीबार प्रचण्डसँगको छलफल सकारात्मक भएको भट्टराईले आफूनिकट नेताहरुसँग बताएका छन्।
अहिले उनी आफूनिकट नेताहरुसँग छलफलमा छन्। जसपा पुनर्गठन निर्णय गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले भट्टराई लगायत ९ नेतालाई कारवाही गरिसकेका छन्।
प्रतिक्रिया