राजनीति


श्रीलंकालाई संकटबाट बाहिर ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई कांग्रेसको अपिल

श्रीलंकालाई संकटबाट बाहिर ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई कांग्रेसको अपिल

नेपालखबर
साउन २, २०७९ सोमबार २१:१७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले श्रीलंकालाई गम्भीर आर्थिक संकटबाट बाहिर ल्याउन पहलकदमी लिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ। 

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन सरकारलाई सुझाव दिएको छ। 

‘मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यो बैठकले संवेदनशीलतापूर्वक लिएको छ। यो प्रतिकुल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई यो बैठक अपील गर्दछ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष राष्ट्रका रुपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन आग्रह गर्दछ’ कांग्रेसको सुझावमा भनिएको छ। 

सन् २०१४ यता सार्कको अध्यक्ष राष्ट्र नेपाल छ। अध्यक्ष देश भएपनि सार्क सदस्य मुलुक श्रीलंकाको संकटलाई नेपालले टुलुटुलु हेरी बसेको अवस्था छ। तिन महिनाअघि परराष्ट्र मन्त्रालयले श्रीलंका संकटलाई नजिकबाट नियालिरहेको बताएको थियो। 

सार्ककै सदस्य मुलुक चरम संकटमा परेका बेला सार्कमा सामान्य छलफल हुन सकेको छैन। अहिलेको श्रीलंका संकटमा पनि सार्कले कम्तिमा छलफल भने पनि गर्नुपर्ने परराष्ट्र मामिला विज्ञहरुको भनाई छ। वैदेशिक मुद्रा सञ्चितीमा भारी गिरावट, युक्रेन संकट, वैदेशिक ऋणको भारी र आन्तरिक राजनीतिमा देखिएको अस्थिरता लगायत कारणले श्रीलंकामा चरम आर्थिक संकट देखिएको छ।

पछिल्लो समय राष्ट्रपति गोतबया राजापाक्षे मुलुक छोडेर भागेका छन्। उनको राजीनामा पछि कार्यवाहक राष्ट्रपतिका रुपमा रनील विक्रमासिंघे पदमा आएका छन्। श्रीलंकाको आर्थिक अवस्था जर्जर बनेको छ। विद्यार्थीहरु कपी र कलम किन्न समेत पैसा नहुँदा विद्यालय जान पाएका छैनन्। तेलको संकट पनि उस्तै छ। श्रीलंकामा देखिएको यस्तो संकटका बीच सार्कले यसलाई सामान्य छलफलको बिषय बनाउन पनि सकेको छैन। 

सन् २०१४ यता मृतप्रायः जस्तै भएतापनि बेलाबखत सार्कका बैठक चाहिँ भएका थिए। जस्तोः सन् २०२० मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटबारे सार्कका सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखसँग भिडिओ संवाद गरेका थिए। उनले कोरोना संकटसँग लड्न सार्क कोरोना कोषको प्रस्ताव गर्दै भारतका तर्फबाट १० लाख अमेरिकी डलर घोषणा गरेका थिए।

नेपालले पनि उक्त कोषमा रकम जम्मा गरेको थियो। सीमापार आतंकवादका बिषयमा भारत र पाकिस्तानबीचको शत्रुताले सार्कको भविष्य संकटमा पारेको छ। सार्कलाई अघि बढाउने अध्यक्षका हिसाबले नेपालले पनि पहल लिन सकेको छैन। 

सत्तारुढ नेपाली कांग्रेसको एक सातासम्म चलेको केन्द्रीय कार्य समिति बैठकमा मुलुकको अर्थतन्त्रको अवस्थाबारे पनि छलफल भएको छ। छलफलपछि कांग्रेसले अर्थतन्त्रबारेमा अनावश्यक भय फैल्याइएको दाबी गरेको छ। प्रमुख प्रतिपक्षी एमाले लगायतले सरकारका कारण नेपालको आर्थिक अवस्था श्रीलंकाकै बाटोमा रहेको बताएपछि सत्तारुढ कांग्रेस रक्षात्मक बनेको हो। 

‘देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आमनागरिकमा अस्वभाविक ढङ्गले भय सृजन गर्ने काम भैरहेको छ’, कांग्रेसले भनेको छ, ‘आमनागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था, मुख्य समस्या, चुनौतीहरु र जोखिम न्यूनीकरणका उपायबारे श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न यो बैठक सरकारलाई आग्रह गर्दछ। अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ।’ 

कांग्रेसले अनेक राजनैतिक चुनौती पार गर्दै मुलुकलाई सही मार्गमा ल्याइपुर्याउन सफल नेतृत्व गरेको पनि जनाएको छ। 

‘कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ’, कांग्रेसले भनेको छ, ‘त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रहसाथ यो बैठक जनजीविका र सुशासन लगायत विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .