ad ad

राजनीति


एमाले–माओवादी गठबन्धनको अध्याय ‘क्लोज’ भएकै हो? यस्तो छ केन्द्रीय समितिमा प्रचण्डको व्याख्या

एमाले–माओवादी गठबन्धनको अध्याय ‘क्लोज’ भएकै हो? यस्तो छ केन्द्रीय समितिमा प्रचण्डको व्याख्या

नेपालखबर
असार २३, २०७९ बिहिबार २०:२८, काठमाडौँ

पछिल्लो समय नेपाली राजनीतिमा एउटा चर्चा जबर्जस्तरुपमा चलेको छ। अहिलेको कांग्रेस–माओवादी गठबन्धन भत्कन्छ र एमाले–माओवादीबीच चुनावी गठबन्धन बन्न सक्छ भन्ने चर्चाले बजार तातेको छ। यसका लागि भित्रभित्रै वाम गठबन्धनको ‘होमवर्क’ समेत भइरहेको चर्चा छ। यही चर्चाबारे विहीबार माओवादी अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा मुख खोलेका छन्।

 बैठकमा प्रचण्डको सम्वोधन सुन्दा आगामी चुनावमा एमाले–माओवादीबीच गठबन्धन हुने सम्भावनाको लगभग च्याप्टर क्लोज भएको मान्न सकिन्छ। किनभने, प्रचण्डले अहिलेकै गठबन्धनभित्रबाट बढी भन्दा बढी सिट जित्नका लागि अधिकतम प्रयत्न गरिने स्पष्ट पारेका छन्।

तर, सिट बाँडफाँटको विषय साउनभित्रै टुंगो लगाइसक्नुपर्ने र आफूहरुको प्रस्तावलाई कांग्रेसले कसरी लिन्छ, त्यो हेर्नुपर्ने प्रचण्डको शर्त छ।

अब कांग्रेससँग चुनावी गठबन्धन बन्दा दुईवटा नयाँ आधारमा अघि बढिने प्रचण्डले बताएका छन्।

एक, ०७४ को चुनावी परिणाममा टेकेर नभई स्थानीय चुनावको मत परिणाममा टेकेर सिट बाँडफाँट हुनुपर्छ। दुई– गठबन्धनभित्रका विचार मिल्ने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बेग्लै सहमति गरेर कांग्रेससँग ‘डिल’ गरिनेछ।

स्थानीय चुनावमा टिकट वितरणको जिम्मा तल्ला कमिटीलाई दिँदा समस्या आएको तर अब संघ र प्रदेशको टिकट केन्द्रबाटै वितरण गरिने भएकाले समस्या नआउने  प्रचण्डको विश्लेषण छ।

‘स्थानीय निर्वाचनमा केन्द्रले जहाँ गम्भीर ढंगले हस्तक्षेप गर्यो, त्यहाँ परिणाम मूलतः राम्रो आयो। जहाँ तललाई जिम्मा दिने भनेर तल पठाइयो, त्यहाँ धेरैजसो ठाउँमा राम्रो भएन। नेपाली कांग्रेसले आफूलाई फाइदा जे गर्दा हुन्छ, त्यो गर्यो,’ प्रचण्डले बैठकमा भने, ‘अब हामीले यही गठबन्धनभित्रबाट अधिकतम राम्रो परिणाम ल्याउन जोड गर्नुपर्छ। अस्तिको जस्तो हुँदैन। किनभने, कमाण्ड कन्ट्रोल सिधै केन्द्रमै हुन्छ। गडबड हुने सम्भावना हुँदैन। जसरी महानगर र उपमहानगरको केन्द्रमा छलफल गरियो र निर्णय गरियो। त्यसैगरी हामी प्रदेश र संघको पनि गर्छौं।’

अब स्थानीय तहको चुनावमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँट हुनुपर्ने बताउँदै प्रचण्डले केन्द्रीय समितिको बैठकमा भने, ‘हिजो हामीले गरेको गल्ती के हो भने पहिले जितेको मतभार हेर्ने भनियो, कांग्रेसले त्यसैलाई समात्यो। जित्ने सम्भावना पनि हेर्नुपर्छ भन्ने भयो। हिजो मात्रै पनि कांग्रेससँग मेरो कुरा भएको छ। अब हिजोको जस्तो तरिकाले हुँदैन। अहिले समय छँदै, साउन महिनाभित्रै को को कहाँ कहाँ कसरी उठ्ने हो, हामीले टुंगो लाइसक्नुपर्छ। चुनावमा जाने पर्याप्त समय हुनुपर्छ भन्ने ढंगबाट छलफल गरिएको छ।’

गठबन्धनभित्रको मिनी गठबन्धनको चर्चा गर्दै प्रचण्डले अगाडि भने, ‘विचारमा अलि निकटता भएका त छौं फेरि हामी गठबन्धनभित्र। कांग्रेससँग एकखालको समझदारी बनाउनुपर्ने हुन्छ भने समाजवादी, जसपा र जनमोर्चासँग हाम्रो एकखालको समझदारी बनाउनुपर्ने हुन्छ। कांग्रेससँग पनि छलफल सकिइसकेपछि परिणाम कस्तो हुन्छ, त्यस आधारमा प्रदेश र पालिकाहरुलाई अन्तिम निर्देशन गरिन्छ।’

प्रचण्डले एमालेभित्र पनि केही राम्रा मान्छेहरु रहेको बताए। उनले भने, ‘प्रतिपक्षभित्र पनि सकारात्मक सोच भएका मान्छेहरु छन्। नेकपा विभाजन हुनै हुने थिएन, गल्ती भयो प्रधानमन्त्रीबाट भन्ने पनि छन्। उनीहरुसँग पनि कुनै न कुनै किसिमले छलफल गर्नुपर्ने हुन्छ। तर, हामीले परिस्थितिलाई गहिरिएर हेर्नुपर्ने हुन्छ। जितिन्छ कि हारिन्छ भन्ने कुरा पनि हेर्नुपर्छ।

नेपाली कांग्रेसले स्थानीय चुनावमा आफ्नो फाइदा मात्रै हेरेको, दाङको घोराहीजस्ता ठाउँमा धोका दिइएको र स्थानीय तहबाटै उम्मेदवारी तय गर्दा कमाण्ड कन्ट्रोल हुन नसकेको भएता पनि आगामी चुनावमा नेपाली कांग्रेससँगै गठबन्धन बनाएर चुनावमा जाने नीति रहेको प्रचण्डले केन्द्रीय सदस्यहरुलाई व्याख्या गरे।

प्रचण्डको यो व्याख्याले एमालेका कतिपय नेताहरुसँग भइरहेका भित्री छलफलहरु निरर्थक हुने संकेत देखिएको छ। पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मामाथि एमालेले जुन आक्रामकता देखायो, यसले पनि माओवादी र एमालेबीच दुरी बढ्ने सम्भावना बढेको नेताहरु बताउँछन्।

के भन्छन् माओवादी नेता ?
‘अब एमालेसँग प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि चुनावी तालमेलको सम्भावना क्लोज भयो,’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बिहीबार बेलुका नेपालखबरसँग भने, ‘जनार्दशन शर्मामाथिको प्रतिशोधपूर्ण व्यवहारले एमालेमा केपी ओली प्रवृत्ति अझै रहेको निष्कर्ष हाम्रो रह्यो। यो चुनावमा एमालेसँग चुनावी तालमेल वा मोर्चा बन्ने कुरा खारेज जस्तै भयो।’

गजुरेलका अनुसार एमालेसँग औपचारिक वा अनौपचारिक छलफल भइरहेका पनि हुँदैन।

‘उनीहरुले जनार्दनजीको हुँदै नभएको केस उठाएर टसलतिर लगे,’ गजुरेलले थपे, एमाले अझै भ्रष्टीकरणको बाटोमा रहेछ। केपी प्रवृत्ति बदलिएन।’

प्रवक्ता कृष्णबहादर महराले पनि यही चुनावमा एमालेसँगको चुनावी मोर्चा वा तालमेलको सम्भावना सकिएको निष्कर्षतिर गएको बताए।

‘अन्य बाम घटकसँग छलफल हुन्छ,  महराले नेपालखबरसँग भने, अब एमालेसँग भने तत्काल त्यो सम्भावनाको अन्त्य भयो।’

अर्का एक नेताका अनुसार कांग्रेससहितको पाँच दलीय गठबन्धन नै बलियो गरी चुनावमा जाने सम्भावना बढेको छ।

अब साउन महिनाभित्रै हामी सिट बाँडफाँटको निर्णय गर्छौ, ती नेताले भने, चुनावको मुखमा बाँडफाँट गर्दा स्थानीय चुनावमा जटिलता आए, र अन्तर्घात भए, अब त्यो रोक्न र चुनावमा सबै एकै भएर जान साउनभित्र सिट बाँडफाँट गरेर जान्छौं। गठबन्धनभित्र त्यही कुरा भएको छ। प्रधानमन्त्री सकारात्मक हुनुभएको छ। उहाँको पनि त्यसमै जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .