ad ad

राजनीति


शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन

शेखरको त्यो रणनीति जसले बदल्यो धरानवासीको मन

सागर न्यौपाने
मंसिर १८, २०७६ बुधबार ८:३५,

धरान उपमहानगरपालिकाको उमेदवारी मनोनयन हुने अघिल्लो दिन कात्तिक २६ गते साँझ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला धरान पुगे।

कात्तिक २७ गते स्थानीय तह अन्तर्गत ४८ पदको उमेदवारी मनोनयन गर्ने कार्यसूचि थियो। कार्यसूचिअनुसार धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले तिलक राईको मनोनयन दर्ता गरायो।

२०७४ सालको निर्वाचनमा तत्कालिन एमालेका तारा सुब्बासँग ठूलो अन्तरले पराजित भएका राईलाई सर्वसम्मत रुपमा उपनिर्वाचनको उम्मेदवार बनाउन उनै शेखरले भूमिका खेलेका थिए ।

मनोनयनपछि उनले भनेका थिए, ‘उमेदवारी चयनमा जसरी पार्टीले सर्वसम्मत निर्णय गरेको छ, सोहीअनुसार सम्पूर्ण पार्टीपंक्ति पनि यहाँ एकढिक्का भएर चुनावमा लाग्नुपर्नेछ, केन्द्रले नेताहरुलाई खटाएको छ।’

उमेदवारी मनोनयनपछि उनले काँग्रेसका स्थानीय नेता, शुभेच्छुक मात्र नभई प्रतिद्वन्द्वी दल र अन्य साना दलहरुसँग समेत छुट्टाछुट्टै छलफल तथा अनौपचारिक समझदारी गर्नुका साथै भिन्नाभिन्नै पक्षका लागि फरकफरक रणनीति तय गरे।

उमेदवारी मनोनयनपछि शेखरले धरानलाई त्यहिँ रहेर वा बाहिर हुँदा समेत निरन्तर निगरानी गर्न छाडेनन् । मंसिर १२ गतेसम्म शेखर चारपटक धरान पुगे। मंसिरको पहिलो हप्तादेखि उनी चार दिन लगातार धरानमा बसे। त्यहीबेला उनले खेलेको भूमिका नै धरानमा कम्युनिष्ट गढ भत्काउन सफल भएको कांग्रेसका नेताहरुको दाबी छ।

यसपटक कांग्रेसले धरानको उपनिर्वाचनलाई विशेष रणनीति र प्राथमिकतासहित लागेको देखिन्छ। पार्टीका सभापति शेरबहादुर देउवादेखि युवा नेताहरु गगन थापालाई लगेर चुनावी प्रचार गराउने योजना उनै शेखरले बनाएका हुन्।

त्यसो त नेकपाले समेत उसको पुरै सामथ्र्य लगाएकै थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड मतदानको तीन दिनअघि मंसिर ११ गते धरानमा सम्बोधन गर्न पुगे भने पूर्वसभामुख सुवास नेम्वाङलगायत अन्य प्रभावशाली नेताहरु पनि खटिएका थिए।

दुवैतर्फको रस्साकस्सीबीच नेपाली कांग्रेसका उमेदवार तिलक राई विजयी भए।

Dharan victory rallyधरानका नवनिर्वाचित मेयर तिलक राइ, शेखर काेइराला र महेश आचार्यलगायत विजय र्यालीमा। तस्विरः दिनेशचन्द्र थपलिया/ट्विटर

निर्वाचनमा सो परिणाम ल्याउन कसरी संभव भयो भन्नेबारे तिलक राइले भने, ‘शेखर दाईको योजनाले गर्दा हामी ऐतिहासिक रुपमा धरानमा विजयी हुन सफल भएका छौं।’
कोइरालाले बनाएको अर्काे चुनावी रणनीति थियो– मतदाताहरुको घरदैलौमैं पुग्ने। २० वडा रहेको धरान उपमहानगरपालिकामा सबैजसो वडामा कांग्रेसले राम्रै मत पाउनुको अर्काे कारण यो पनि रहेको नेकपाका नेता अइन्द्र विक्रम बेघा स्वीकार गर्छन।

धरान ७ को रिक्त वडाअध्यक्षका लागि पनि सँगै उपनिर्वाचन भएको थियो। सो वडामा कांग्रेस उमेदवार एक मत अन्तरले पराजित भए भने सोहि वडाबाट कांग्रेसका मेयर उमेदवार तिलक राइलाई भने १०० मत बढि प्राप्त भयो।

कांग्रेसका उमेदवार घरघरमैं पुगेर प्रत्यक्ष मतदातासँग जोडिँदा नेकपाका नेताहरु भने भाषणतिर मात्रै बढि केन्द्रित भएको बेघाको भनाई छ।

‘कांग्रेसका प्रभावशाली नेता शेखर धरानवासीबीच रहेको करको आक्रोशलाई घरघरमैं पुगेर ‘क्यास गर्न’ सफल भए। उनले आफ्ना उमेदवारले जिते, चर्को करलाई पुनरावलोकन गर्ने प्रतिबद्धता जनाए। त्यहि कारणले गर्दा आधारभूत जनताको मत कांग्रेसतिर गयो,’ नेकपाका सुनसरी नेता बेघाले भने।

चुनावमा नेकपाले पाएको मत विश्लेषण गर्दा पनि उसले सांगठनिक मत पाएको तर आधारभूत तथा सर्वसाधारण जनताको मत भने प्राप्त गर्न नसकेको उनको भनाई छ।
शेखरले धरानमा उपस्थिति रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, साझा पार्टी, विवेकशील नेपाली लगायतका साना दलका सदस्यहरुसँग समेत कुराकानी गरि उनीहरुलाई समेत प्रभाव पारेको स्थानीय नेताहरुको भनाई छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सोही उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहेका वेघाले भने, ‘यसपटक पार्टी पंक्तिको मत त पायौं तर, आम जनताको मत (जुन सरकार र उमेदवारको प्रभावबाट) पाइन्थ्यो, त्यस्तो तटस्थ मत कांग्रेसतर्फ ‘डाइभर्ट’ हुनुमा शेखरकै रणनीतिले काम गरेको पक्कै हो।’

उम्मेदवारी मनोनयनका बेला कात्तिक अन्तिम साता तीनदिन धरानमा बिताएका कोइरालाले त्यसपछिका दिनहरुमा पनि आफूलाई धरानमैं केन्द्रित गराए।

पार्टीले उपनिर्वाचनका लागि धरानमा महेश आचार्यलाई खटाएको थियो। चुनावी प्रचारमा आचार्य देखिए पनि रणनीति बनाउने काममा भने शेखरले नै आन्तरिक योजना कार्यान्वयन गर्न निरन्तर लागिरहे। कांग्रेसका स्थानीय नेताहरु शेखरकै भूमिका नै जीतको मुख्य योजनाकार रहेको स्वीकार गर्छन ।

असन्तुष्ट पक्षसँग गोप्य भेटवार्ता

कोइरालाले आफ्नो पार्टीभित्रका मात्रै होइन, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका नेताहरुलाई पनि विश्वासमा लिने काम गरे। भर्खरै एकिकृत भएको नेकपाभित्रको सांगठनिक मामिलामा रहेका असन्तुष्टि र स्थानीय विषयमा उनीहरुको भावनात्मक कुराहरुलाई पहिल्याउँदै त्यसलाई चुनावमा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने मिहिन विश्लेषण गरे।

त्यसकै आधारमा आफू केन्द्रीय राजनीतिमा रहेका कारण जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने ठाउँमा पुग्ने भन्दै एकपटक सहयोग गर्न उनले आग्रह गरेका थिए।
‘यसपटक नेपाली कांग्रेसलाई सहयोग गर्नुस्, म पनि केन्द्रीय नेता हुँ, आँफै पदमा पुगेको बेला पक्कै सहयोग गर्छु, परेको बेला सहयोग गर्ने मेरो पनि हैसियत बन्छ,’ उनको भनाई उद्धृत गर्दै कांग्रेसका एक स्थानीय नेताले बताए।

त्यसो त कोइराला धराने जनतामाझ पहिलेदेखि नै लोकप्रिय नेता हुन्। उनी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकूलपति भएका बेला त्यहाँका जनताबीच राम्रोसँग भिजेका र धेरैको मन जितेका थिए। त्यो पुरानो आधारले उनलाई उपनिर्वाचनका बेला धरानमा धेरै टेवा दियो।

कम्युनिष्टहरुकै सिको गर्दै कोइरालाले घरदैलो अभियान चलाए । धरानलाई नै पुरै समय दिए। त्यसैले धरानमा २०७४ सालमा प्राप्त १६ हजार मतलाई दुई वर्षपछि भएको चुनावमा २६ हजार ७ सय ९ ल्याएर नेपाली कांग्रेस पार्टीलाई नै ऐतिहासिक जीत दिलाउन सफल भए।

तत्कालिन एमालेले २०४८ को संसदीय चुनावमा पार्टी अध्यक्ष मनमोहन अधिकारीलाई सबैभन्दा सुरक्षित क्षेत्र ठानेर त्यहीँ लगेको थियो र जिताउन सफल भएको थियो। त्यसयता सो क्षेत्र सँधै बामपन्थी गढ रह्यो।

अन्ततः शेखरले धरानवासीको घरदैलो मैं पुगी मतदाताको मन परिवर्तन मात्रै गराएनन्, २८ वर्षपछि कम्युनिष्ट गढ भत्काएर नयाँ इतिहास बनाउन सफल रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .