ad ad

राजनीति


छाङरुमा भारतद्वारा अतिक्रमित कालापानीलाई राष्ट्रिय मुद्दा बनाउने ३ नेताको सालिक

छाङरुमा भारतद्वारा अतिक्रमित कालापानीलाई राष्ट्रिय मुद्दा बनाउने ३ नेताको सालिक

गोकुल जोशी
असार १९, २०७९ आइतबार ११:१७, कञ्चनपुर

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलोपटक उठाउने दार्चुलाका तीन जना दिवंगत नेताको सालिक बनाइएको छ।

व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको हो।

सुदूरपश्चिमको वन मन्त्रालयको आर्थिक सहयोगमा प्रेमसिंह धामी स्मृति प्रतिष्ठानले सालिक निर्माण गरेको प्रतिष्ठानका अध्यक्ष किसन सिंह धामीले बताए ।

कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा सालिक निर्माण गरिएको हो। यसले इतिहास जीवन्त राख्ने स्थानीयले बताएका छन्। 

सालिक निर्माणका लागि व्यास गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अशोक बोहराले स्थान छनोटमा सहयोग गरेका धामीले बताएका छन्।

कालापानीमा रहेको भारतीय अतिक्रमणको विषय पञ्चायतकालमा पहिलोपटक तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले उठाएका थिए। 

प्रजातन्त्र पुनःस्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए। 

ऐतवाल र बोहरा कालापानीमुनिको छाङरुका बासिन्दा समेत थिए। यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए। 

छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाले तयारी थालेको छ। गाउँपालिका अध्यक्ष मंगलसिंह धामी भन्छन्,‘मौखिक रूपमा जानकारी गराइएको छ, अब लिखित रूपमै निमन्त्रणा गर्छौं।’

व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा छ। भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपाल चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .