राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : हैजा, मल र बाढी पहिरोबारे छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : हैजा, मल र बाढी पहिरोबारे छलफल

फाइल फोटो


नेपालखबर
असार १४, २०७९ मंगलबार २३:०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। 

सरकारले गर्दै आएका काम कारवाहीका बारेमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराउने नियमित ब्रिफिङमा हैजा, मल र बाढी पहिरोबारे कुराकानी भएको छ।

‘मन्त्रीहरुको सपथ ग्रहणका दिन उहाँहरूबीच छोटो कुराकानी भएको थियो, आज प्रधानमन्त्रीको नियमित ब्रिफिङ अन्तरगत भेट भएको हो,’ राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले नेपालखबरसँग भने, 'आज मुख्यतः तीनवटा विषयमा कुराकानी भए।’

अहिले मनसुन शुरु भएको अवस्थामा देशैभरि बाढी पहिरोका खबरहरु आउन थालेका छन्। यसमा उद्धार, राहत र पूर्वसूचना प्रणालीलाई स्थानीय तहसम्म शुरुदेखि नै बलियो बनाउनुपर्ने भन्दै राष्ट्रपतिले सरकारलाई ध्यानाकर्षण गराएको र प्रधानमन्त्री पनि यसमा गम्भीर देखिएको ढकालले बताए।

बाढी पहिरोको सम्भावित जोखिमबाट बच्न स्थानीय तहसम्म सरकारले सहकार्य गरेर तयारी अवस्थामा रहनुपर्ने राष्ट्रपतिको भनाइ रहेको उनले बताए।

त्यस्तै, काठमाडौंमा झाडा पखाला र हैजाको महामारी फैलने खतरा देखिएको बताउँदै राष्ट्रपतिले यसमा सतर्कता अपनाउन प्रधानमन्त्रीलाई सुझाएको शीतलनिवास स्रोतको भनाइ छ।

‘अहिले हैजा प्रारम्भिक चरणमै छ, महामारीको रुप लिइसकेको छैन। काठमाडौं उपत्यकामा भएका सबै सरकारी स्वास्थ्य संस्था एवं निजी स्वास्थ्य संस्थाहरूसँग पनि समन्वय गरिकन यसमा असाध्यै सतर्क रहनुपर्ने अवस्था छ’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ढकालले भने।

भेटमा राष्ट्रपतिले खेतीको सिजनमा पनि किसानले मल पाउन नसकेको विषयमा प्रधानमन्त्री देउवासँग चासो राखेकी थिइन्।

खेतीपातीको समय आइसक्यो, किन मलको सधैं अभाव हुन्छ? यसका लागि सरकारका तर्फबाट के पहल भइराखेको छ भन्ने चासो राष्ट्रपतिले व्यक्त गरेको उनले बताए।

राष्ट्रपति र प्रधानमन्त्रीबीच साँझ एक घण्टाभन्दा बढी कुराकानी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .