ad ad

राजनीति


नगरपालिकाका हाकिमलाई थर्काउँदै मातृकाले भने : केही कर्मचारीको आदत नै कुटाइ खाने हुन्छ

सेयर नदिए अख्तियारले दुस्मनी साँध्छ
नगरपालिकाका हाकिमलाई थर्काउँदै मातृकाले भने : केही कर्मचारीको आदत नै कुटाइ खाने हुन्छ

शैलेन्द्र महतो
असार ५, २०७९ आइतबार १४:४४, जनकपुरधाम

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य मातृका प्रसाद यादवले केही कर्मचारीको आदत नै कुटाई खाने रहेको बताएका छन्।

धनुषाको सबैला नगरपालिकामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रको २४ घण्टे इमरजेन्सी सेवाको उद्घाटन गर्दै नेता यादवले प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मालाई चेतावनी दिँदै यस्तो भनेका हुन्। 

उनले जनताको काम गर्ने इच्छा नरहे राजीनामा दिएर जान आग्रह गरे। सबैलाको जनप्रतिनिधिको सपथ ग्रहण समारोहमा र आजको कार्यक्रममा एक एक घण्टा ढिलो प्रशासकीय अधिकृत शर्मा पुगेको भन्दै नेता यादवले प्रशासकीय अधिकृत शर्मालाई हकारेका हुन्। 

‘प्रशासकीय अधिकृतलाई म भन्न चाहन्छु तपाँई मालिक जस्तो नगर्नुस्। प्रदेशका मन्त्री १० बजे आउनु हुन्छ। प्रशासकीय अधिकृत आउँछन् पौने ११ बजे। यति थेथर म कतै देखेको छैन। हिजो अस्ति नै एक कर्मचारीले कुटाइ खाए। नेतालाई बिनासिती किन बदनाम गर्नु हुन्छ?’ 

नेता यादवले अगाडि भने, ‘केही कर्मचारीको आदत नै जहाँ गएपनि कुटाइ खाने रहन्छ। सबैलालाई किन बदनाम गर्नु हुन्छ? कुटाई खाने आदत छ भने यहाँबाट जाँदा हुन्छ। म त यतिकै बदनाम छु, एक कर्मचारीलाई थुनेकोमा।’

उनले जनताको सेवा गर्न नसक्ने कर्मचारीलाई राजीनामा दिन आग्रह गरे।

‘जनताको सेवा गर्न चाहनु हुन्न भने राजीनामा दिएर जानुस्। जे मन लाग्छ गर्नुस्। यसअघि पनि नवनिर्वाचित जनप्रतिनिधिको सपथग्रहण हुँदा कुनै अत्तोपतो थिएन’ उनले भने,  ‘यति अटेरी गर्ने? जनताले कर्मचारीलाई कुट्दा प्रहरी कुदेर बचाउन आउँछन्। जनताको काम नभए, जनताले कुटाइ खाए प्रहरीलाई पनि कुनै मतलब हुँदैन।’

सबैजना आइसकेपछि सबैभन्दा पछाडि आउने कर्मचारीकै प्रवृति र काममा लापरवाहीले देश बर्बाद भइरहेको नेता यादवले आरोप लगाए।  

‘नेताले ५ रुपैयाँ खाँदा कर्मचारीले हजार रुपैयाँ खान्छन्। कसैले बोल्न सक्दैनन्। यिनीहरु यो मामलामा पुरै ट्रेन्ड रहन्छन्। म मन्त्री छँदा थाहा पाएको छु। यिनीहरु ट्रेनिङमा जो फस्छन्, जान्छन्।’ 

अर्को प्रसंगमा उनले अख्तियार दुरुपयोग आयोगसँग नडराउन कर्मचारीलाई आग्रह गरे। 

जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य केन्द्रलाई चाहिने उपकरण, औषधि चाँडै र राम्रो खरिद गर्न आग्रह गर्दै नेता यादवले भने, ‘स्वास्थ्य केन्द्र संवेदनशील स्थान हो। जे जे औषधि उपकरण चाहिन्छ तुरन्त खरिद गर्नुस्। नत्र दाम हुन्छ असली र सामान हुन्छ नक्कली। सही बिल भए अख्तियार केही गर्दैन। डराउनु पर्दैन।’

उनले अख्तियार क्लिनचिट दिने निकाय रहेको आरोप लगाए। ‘अख्तियारलाई सेयर दिनेलाई छोड्छन्। नदिए समातेर दुस्मनी साँध्छ। अख्तियारको काम यो हो। सही काम गरे डराउनु पर्दैन।’ 

कार्यक्रममा विशिष्ट अतिथि मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साहले ग्रामिण भेगका अस्पतालमा इमरेजन्सी सेवा नहुँदा सामान्य बिरामी शहरको अस्पतालमा जानुपर्ने बाध्यता अहिले पनि रहेको बताउँदै चिन्ता व्यक्त गरे। 

सबैलामा २४ घण्टा इमरजेन्सी सेवा सञ्चालन भएको यो स्वाथ्य केन्द्रलाई आवश्यक उपकरण र औषधिको लागि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने उनले प्रतिवद्धता जनाए। 

सबैला नगरप्रमुख कारीराम यादवको अध्यक्षतामा सो कार्यक्रम भएको थियो। मातृकाको गृहनगर सबैलाका मेयर कारीराम उनैका भाइ हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .