ad ad

राजनीति


अमेरिकाका नेपालीसँग डोनाल्ड लुले भने– नेपालकै ठूलो छिमेकीले अनावश्यक उचाल्यो, एसपीपी-एमसीसीबीच तालमेल छैन

अमेरिकाका नेपालीसँग डोनाल्ड लुले भने– नेपालकै ठूलो छिमेकीले अनावश्यक उचाल्यो, एसपीपी-एमसीसीबीच तालमेल छैन

अमेरिकी नेपालीहरूसँग स्टेट डिपार्टमेन्टले पहिलो पटक आयोजना गरेको छलफलमा डोनाल्ड लुले एसपीपी र एमसीसीबीच कुनै तालमेल नरहेको बताए (तस्बिरः हिमालयखबर)


सन्जय घिमिरे
असार ३, २०७९ शुक्रबार ८:५८, टेक्सास, अमेरिका

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौताको नेपालमा विरोध हुनुमा चीनको हात रहेको आरोप पुनः लगाएका छन्।

अमेरिकामा रहेका प्रवासी नेपालीहरूसँग स्टेट डिपार्टमेन्टले पहिलो पटक आयोजना गरेको प्रत्यक्ष छलफलमा लुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) चाहिँ सेना सँगको सामान्य सहयोग कार्यक्रम मात्र रहेको दाबी गरे।

अमेरिकाको ड्यालसमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग बिहीबार भएको अन्र्तक्रियामा सहायक मन्त्री लुले भने, ‘एमसीसीलाई कसले अनावश्यक उचाल्यो तपाईंहरुलाई थाहै छ। त्यो नेपालकै ठूलो छिमेकीले हो नि’, लुले चीनको नाम नलिई भने, ‘किनकी उ नेपालमा आफ्नो एकल प्रभुत्व कायम गर्न चाहन्छ। पहिलेदेखिनै उ यो परियोजनाप्रति आक्रोशित थियो।’

अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको संसदबाट अनुमोदन हुनु अघि अमेरिका र चीनबीच वक्तव्यमार्फत् आरोप प्रत्यारोप चलेको थियो। अमेरिकी विदेश मन्त्रालयले एमसीसी पास हुन ढिलाई हुनुमा चीनको हात रहेको आरोप त्यसबेलै लगाएको थियो भने चीनको विदेश मन्त्रालयले ‘बलमिच्याईँपूर्वक एमसीसीजस्ता कुनै पनि अनुदान सहयोग नेपालमाथि नलाद्न र लादेको खण्डमा शशक्त प्रतिवाद गर्ने’ चेतावनी अमेरिकालाई दिएको थियो।

अमेरिका र चीनबीच वक्तव्यबाजी भएलगत्तै नेपालको संसदबाट एमसीसीसँगको सम्झौता बहुमतले पास भएको थियो।

लु तिनै अधिकारी हुन् जसले गत नोभेम्बरमा एमसीसीसँगको सम्झौतामा बहस भइरहँदा नेपाल भ्रमण गरेका थिए। नेपाली नेतासँग निरन्तर सम्पर्कमा रहेका लुले फेब्रुअरी दोश्रो साता नेपालका सत्तारुढ तथा प्रतिपक्षी दलका नेतालाई टेलिफोन गरी ‘एमसीसी सम्झौता अनुमोदन नगरे नेपालसँगको दुई पक्षीय सम्बन्धमा पुनर्विचार गर्ने’ भन्दै दबाब दिएको काठमाडौँमा नेताहरूले बताएका थिए।

अमेरिकाले नेपालमासँग सम्बन्ध गाँसेको ७५ वर्ष पुगेसँगै दुई पक्षीय सम्बन्धलाई गहिरो बनाउँदै लगेको छ। एमसीसी परियोजना अनुमोदन भएसँगै अमेरिकी अधिकारीहरूको नेपाल भ्रमण बाक्लिएको छ भने नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक अमेरिका भ्रमण तय भएको छ, जसलाई वासिङ्टनले निकै महत्व दिएको भान हुन्छ।

प्रधानमन्त्री देउवाअघि प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा आउँदै छन्।

यसै सन्दर्भमा अमेरिकाको स्टेट डिपार्टमेन्टले पहिलो पटक वासिङ्टन आसपास रहेका नेपाली प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्र्तक्रिया गरेको हो, जसमा करिब दुई दर्जन नेपाली सहभागी थिए। अमेरिकाको दक्षिणी भूभागमा पर्ने टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स आसपास ५० हजार जति नेपाली छन्, जुन वासिङ्टन नजिकै पर्छ।

अमेरिकी उपविदेशमन्त्री लु विदेशमन्त्रालयका दुई अधिकारीसहित प्रवासी नेपालीलाई सम्बोधन गर्न आएका हुन्। जहाँ उनले प्रवासी नेपाली प्रतिनिधिले राखेका बिभिन्न सरोकारका विषयमा जवाफ दिए।

अमेरिकी सहायक विदेशमन्त्री लुले एमसीसी अनुमोदन गर्न नेपालको संसदले गत फेब्रुअरी २८ मा गरेको १२ बुँदे व्याख्यात्मक घोषणाप्रति पनि टिप्पणी गरे, जुन संभवतः वासिङ्टनले १२ बुँदे व्याख्याप्रति जनाएको पहिलो प्रतिक्रिया हो।

‘अमेरिकालाई थप व्याख्या आवश्यक पर्दैन। किनकी अमेरिका र नेपालले जे जति कुरामा लिखित सम्झौता गरेका छौँ, हामी त्योभन्दा तलमाथि छैनौँ’, लुले भने, ‘यो ५० करोड डलरको शुद्ध अनुदान हो। व्याज तिर्नु पर्दैन। यसले नेपालमात्र नभएर दक्षिण–एसियामै हरितउर्जाको विकास र विस्तारमा ठूलो सघाउ पुग्नेछ ।’

काठमाडौँमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्तावित सम्झौताबारे विवाद भइरहेका बेला लुले नेपाली सेनासँग सहयोग आदान प्रदान र क्षमता अभिवृद्धिका लागि एसपीपी अन्तर्गत सहकार्य हुन लागेको बताए।

उनले भने, ‘यो सेनाको आपसी क्षमता अभिवृद्धि र सहयोग आदान प्रदान कार्यक्रम मात्र हो। एमसीसी र एसपीपीबीच कुनै तालमेल छैन।’ 
वासिङ्टनस्थित नेपाली दूतावासलाई पनि यो कार्यक्रममा निमन्त्रणा गरिएको थिएन।

‘कार्यक्रममा डोनाल्ड लु बोल्दैछन् भन्ने कुरा नेपालीबाटै थाहा भएको थियो। तर दूतावासलाई निम्तो गरिएको थिएन’, दूतावासका एक अधिकारीले नेपालखबरसँग भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .