राजनीति


धनकुटाको माओवादी : कांग्रेसबाट फुत्केर एमालेको भुङ्ग्रोमा

माओवादी भन्छ– कांग्रेस बेइमान, एमाले धोकेबाज
धनकुटाको माओवादी : कांग्रेसबाट फुत्केर एमालेको भुङ्ग्रोमा

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार ११:५०, धनकुटा

नेपालीमा एउटा उखान छ– तावाबाट फुत्केर भुङ्ग्रोमा। धनकुटा जिल्लामा नेपाली काँग्रेसले धोका दिएको भन्दै नेकपा एमालेसँग लिखित सम्झौता गर्न पुगेको माओवादीले एमालेबाट झनै ठूलो धोका पाएको छ। तथापि एमाले नेताहरुले चाहिँ धोकेबाज माओवादी नै भएको तर्क गरिरहेका छन्।

स्थानीय तहको मतदान सकिएलगत्तै धनकुटामा एउटा गोप्य सम्झौतापत्र सार्वजनिक भयो। दुई पृष्ठको हस्तलिखित सो सम्झौता पत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको हस्ताक्षर थियो।

नेपाली काँग्रेससहितका दलसँग गठबन्धन गरेर चुनाव लडेको माओवादी केन्द्रले स्थानीय चुनाव सकिएलगत्तै रातारात नेकपा एमालेसँग सम्झौता गर्न पुगेको थियो।

नेपाली कांग्रेसले चुनावमा धोका दिएको र बेइमानी गरेको भन्दै माओवादीले ७ वटै स्थानीय तहको कार्यपालिकामा एमालेसँग तालमेल गर्ने लिखित सम्झौता गरेको थियो।

मिति नराखी गरिएको एमाले–माओवादीबीचको सम्झौताको माइन्युटमा एमालेका केन्द्रीय सदस्य राजेन्द्र राई, माओवादीका केन्द्रीय सदस्य हेमराज भण्डारी र धनमाया बिकसमेतले हस्ताक्षर गरेका थिए।

सबै स्थानीय तहको कार्यपालिकामा एमाले र माओवादीबीच गठबन्धन गर्ने व्यहोरा उल्लेख गरिएको सो सहमति पत्रमा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली र माओवादीका जिल्ला संयोजक डिल्लीराम राईले हस्ताक्षर गरेका थिए। रातारात गरिएको सम्झौतामा माओवादीका प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगानाले पनि हस्ताक्षर गरेका थिए।

के थियो एमाले–माओवादी सम्झौतामा ?
स्थानीय तह कार्यपालिका निर्वाचनमा सातै तहमा एमाले र माओवादीबीच सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।

चौबीसे, शहीद भूमि, पाख्रिबास र साँगुरीगढी समेत चारवटा पालिकामा एमालेको एकल बहुमत रहे पनि माओवादीलाई एक–एकजना कार्यपालिका सदस्य बनाउन एमालेले सहमति जनाएको थियो।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेससँग मिलेर माओवादीले उपाध्यक्ष जितेको छथर जोरपाटी गाउँपालिकामा उपाध्यक्षको नेतृत्वमा सहज बहुमत पुग्नेगरी एमालेले कार्यपालिकामा सघाउने सहमतिको तेस्रो बुँदामा उल्लेख थियो।

एमालेको एकल बहुमत नरहेको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाको प्रमुखमा एमालेकै नेतृत्व रहेकाले त्यहाँको कार्यपालिका चुनावमा माओवादीले एमालेलाई सघाउने दुई पार्टीबीच लिखित सहमति भएको थियो।

कैलालीमा भत्कियो गठबन्धन, जिल्ला समन्वय समितिमा एमाले-माओवादी मिल्ने

एमाले–माओवादीका जिल्ला प्रमुखहरुले हस्ताक्षर गरेको सहमतिपत्रमा एमालेले ३४ कार्यपालिका सदस्य लिने सहमति भएको थियो। त्यस्तै माओवादीले १४ कार्यपालिका सदस्य लिने गरी दुई दलबीच सहमति भएको थियो।

हेर्नुहोस् सहमतिपत्र

सम्झौतामा बेइमानी !
नेपाली काँग्रेसलाई तह लगाउन भन्दै वाम गठबन्धन गरेका एमाले र माओवादीका नेताहरु अहिले एक अर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन्। किनभने, सम्झौतामा दुबै पार्टी इमान्दार देखिएनन्।

कार्यपालिकाको चुनावमा एमालेले आफ्नो एकल बहुमत रहेको चौबीसे, सहिदभूमि, पाख्रिबास र साँगुरीगढीको कार्यपालिकामा बहुमत जोगाएको छ। तर, एक भोटले बहुमत नपुगेको धनकुटा नगरपालिकामा भने उसले माओवादीको भोट नपाएका कारण कार्यपालिकामा सत्ता गठबन्धनकै बहुमत जुटेको छ।

छथर जोरपाटीमा पनि गठबन्धनकै बहुमत जुटेको छ भने महालक्ष्मी नगरपालिकाको कार्यपालिकामा बहुमत जुटाउन एमाले असफल भएको छ।

स्थानीय कार्यपालिकाको चुनावमा एमाले र माओवादीबीच भएको गठबन्धनको कुनै औचित्य नरेको नेपाली काँग्रेसका नेता सुनिलबहादुर थापाले नेपालखबरलाई बताए। थापाले भने, ‘एमाले–माओवादीबीच भएको त्यो गठबन्धन टुटिसक्यो, त्यसको कुनै औचित्य छैन। अब संसदीय चुनावमा हाम्रो गठबन्धन कायम रहन्छ।’

स्थानीय चुनावअघि नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका नेताहरु पटक–पटक बसेर धनकुटामा तीनै तहमा गठबन्धन गर्ने सहमति भएको थापाले सम्झिए। उनले भने,‘त्यस्तो सहमति हुँदा माओवादीका हेमराज भण्डारी जी पनि हुनुहुन्थ्यो, तर स्थानीय चुनाव लगत्तै किन एमालेसँग मिल्न जानुभयो, बुझ्न सकिएन। कार्यपालिकामा केही सिट जित्न सकिएला कि भन्ने आशा थियो होला।’

एमाले र माओवादीले गठबन्धन गरे पनि धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धनकै बहुमत आएको थापाले बताए। उनले भने, उहाँहरुले लिखित सम्झौता अनुसार एक–अर्कालाई भोट हाल्नुभएन। माओवादीले एमालेलाई भोट हालेन, एमालेले माओवादीलाई हालेन।’

माओवादीले अन्तर्घात र बेइमानी गर्यो– एमाले
यसैबीच सहमतिपत्रका हस्ताक्षर कर्ता एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले एक प्रेस वक्तव्य जारी गर्दै माओवादीले अन्तर्घात र बेइमानी गरेको बताएका छन्।

पराजुलीले वक्तव्यमा भनेका छन्,‘हामीलाई लिखित सहमति विपरीत गम्भीर अन्तर्घात गरेको हुँदा यो राजनीतिक बेइमानीको पनि हामी यसै विज्ञप्तिमार्फत भत्सर्ना गर्न चाहन्छौं।’

हेर्नुहोस् एमालेको विज्ञप्ति

 माओवादी भन्छ– कांग्रेस बेइमान, एमाले धोकेबाज
एमालेले जस्तै नेकपा माओवादी केन्द्रले पनि प्रेस विज्ञप्ति जारी गरेर एमालेलाई बेइमान र धोकेबाज भएको आरोप लगाएको छ।

माओवादीका जिल्ला संयोजक डिल्लीराम राईद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘कांग्रेसको राजनीतिक बेइमानीका कारण एमाले माओवादीसँग भएको सहमति सत्य हो। .... नियम कानून सहमति एउटालाई मात्र लाग्ने हो र ? खेलमा परिणाम कसले निकाल्यो त्यो मुख्य हुँदोरहेछ।’

हेर्नुहोस् माओवादीको विज्ञप्ति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .