पोखरा कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
यद्यपी, मतपेटिका आउने क्रम जारी रहेकोले यही नै आधिकारिक तथ्यांक भने नभएको निर्वाचन आयोगको भनाइ छ।
केही स्वतन्त्र पर्यवेक्षकहरुले कास्की निर्वाचनमा ४५ हजारको हाराहारीमा मत खसेको प्रारम्भिक रिपोर्ट तयार पारेका छन्।
निर्वाचन आयोगले सूचना जारी गरि मतदान अधिकृतले निर्वाचन सामग्री बुझाएर दिएको तथ्यांक एकीकृत भएपछि मात्रै आधिकारिक विवरण आउने र यसको लागि अझै एक डेढ घण्टा लाग्ने जनाएको छ।
कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८७१ मतदाता रहेका थिए।
केही ठाउँमा बिस्फोटका घटना भए पनि निर्वाचनको क्रममा अप्रिय घटना भने घटेन।
निर्वाचन आयोगले साँझ ७ बजे मतपेटिका आएसँगै सर्वदलीय बैठक राख्ने र बैठकपछि साँझ ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ।
मतगणनास्थल जिल्ला समन्वय समितिको कार्यालयमा तारबार लगाएर मत गन्ने व्यवस्था गरिएको छ।
यो चुनावमा दलसम्वद्ध र स्वतन्त्र गरि २१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। आइतबार बिहान अबेरसम्म मत गणनाको परिणाम आउने अपेक्षा छ। मतगणनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया