राजनीति


‘एमालेले नसोचेको परिणाम आयो, समीक्षा हुन्छ’

‘एमालेले नसोचेको परिणाम आयो, समीक्षा हुन्छ’

सुदीप भण्डारी
जेठ १२, २०७९ बिहिबार ८:०, बुटवल

लुम्बिनी प्रदेशको प्रमुख शहर बुटवल उपमहानगरपालिकामा दुई दशकसम्म नेकपा एमालेले आफ्नो दबदबा कायम राखेको थियो । यो पटकको स्थानीय चुनावमा एमालेका बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पछि पारेर कांग्रेसका खेलराज पाण्डे मेयरमा निर्वाचित भएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह नगरका रुपमा समेत चिनिएको बुटवलको चुनावी नतिजाले एमाले नेताहरु आश्चर्यमा परेका छन् । मेयर मात्र होइन, अघिल्लो पटक जितेका धेरै वडाहरू एमालेले गुमाएको छ । समग्र रुपन्देही र लुम्बिनी प्रदेशमा समेत एमाले पहिले भन्दा धेरै खस्केको छ ।

आखिर बुटवलमा एमालेले हार्नुको कारण के हो ? स्थानीय चुनावको समीक्षा एवं एमालेको आगामी यात्राका बारेमा नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीसँग नेपालखबरले गरेको कुराकानी :

स्थानीय चुनावमा एमालेको लागि बुटवलमा अप्रत्यासित नतिजा आएको हो ? यसलाई कसरी समीक्षा गर्नुभएको छ ?
कल्पनाभन्दा बाहिरको नतिजा आएको छ । हाम्रो कार्यकर्ता पंक्ति, कमिटी र पार्टी सदस्यहरु तथा हिजो हाम्रा जनप्रतिनिधिहरुले जितेका वडा हेर्दा हामीले नसोचेको परिणाम हो ।

अघिल्लोपटक भन्दा थोरै तलमाथि पर्ला तर यस्तो नतिजा आउला भन्ने ठानेका थिएनौं । तर १ र २ नम्बर वडाको नतिजा आउन थालेपछि त हामीलाई अप्रत्यासित नै लाग्यो । लोकतन्त्रमा विश्वास गर्नेहरुले नतिजालाई स्वभाविकरुपमा लिनुपर्छ ।

बुटवल दुई दशकभन्दा बढी एमालेको गढका रुपमा परिचित थियो । अहिले पराजित हुनुमा कहाँनिर कमजोरी भयो जस्तो लाग्छ ?
दुई कारणलाई हामीले पार्टीमा छलफलको विषय बनाउनुपर्छ । कतिपय वडामा वडाध्यक्ष र सदस्यका धेरै आकांक्षी हुनुहुन्थ्यो । हामीले एकजनालाई वडाध्यक्ष र ४ जनालाई सदस्यको टिकट दिन सक्थ्यौँ । टिकट नपाएकालाई समयमै कन्भिन्स गरेर उहाँहरुलाई पार्टीको काममा हिँडाउन सकेनौँ कि ? अर्कोतर्फ, हरेक वडा र टोल टोलमा हाम्रो संगठन छ, ती संगठनका कार्यकर्ता दिनभर हाम्रो जुलुसमा सँगसँगै हिँडेका छन् । पार्टीको प्रचार सामाग्री टिकटक, फेसबुकमा पनि राखेका छन् । तर, मतदान अन्तै गरेका छन् । यो बडो अचम्मको कुरा देखिएको छ । यसलाई घात भन्ने कि अन्तर्घात भन्ने ? हामीले गम्भीर ढंगले पार्टीमा समीक्षा गर्छौँ ।

बाह्य कारणमा प्रतिस्पर्धी पार्टीले सत्ता, पैसाको बललगायतका कारण चुनाव जित्यो होला । तर, हामीले बाहय भन्दा पनि आफूभित्रै कारण खोजेर समीक्षा गर्दैछौँ । 

अर्कोतर्फ, यहाँमात्र होइन देशकै विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । राजनीतिक पार्टीले आफ्नो आँकलन गर्न सकेनन् । काठमाडौँ महानगरमा सामान्य मान्छेले यति ठूलो पार्टीका मान्छेहरूलाई चुनौति दिएका छन् । त्यसैले अब राजनीतिक पार्टीले गम्भीरतापूर्वक सोच्ने बेला आयो । त्यस्तै, बुटवलमा पनि अप्रत्यासित नतिजा आएको हो ।

मेयर र वडामा पछाडि परेर पनि बुटवलमा एमाले उपमेयर जितेको छ । यो कसरी सम्भव भयो ?
पहिलेको चुनावमा पनि मेयरको तुलनामा उपमेयको मतान्तर धेरै नै फराकिलो थियो । अहिले पनि स्वाभाविक छ । हामीले संविधानले व्यवस्था गरेअनुसार नै महिलालाई अघि सारेका थियौं । सावित्रा अर्याल आफैंमा स्थापित महिला भएकाले मत राम्रो आयो । महिला उमेदवार भएकाले पनि उहाँको पक्षमा धेरै मत आयो होला ।

यसअघि प्रदेश राजधानीको मुद्दा पनि निकै पेचिलो भयो । राजधानी दाङमा सार्दा बुटवलका धेरै व्यवसायीको मन दुखेको थियो । एमालेको पराजयको मुख्य कारण प्रदेश राजधानी सार्ने कुरा हो भनिन्छ नि ?
बुटवलको राजधानी दाङ जाँदा स्वाभाविक रुपले हाम्रो पार्टी पंक्ति, खासगरी उद्योगी व्यवसायीहरुको चित्त निकै दुखेकै हो । तर, चित्त दुखाइ यस्तोमा आएर पोख्नुहुँदैनथ्यो जस्तो लाग्छ । तर, हामीलाई चुनाव हार्नुमा प्रदेशको राजधानी कारण हो भनेर धेरै साथीहरुले भन्नुभएको छ ।

राजधानीका लागि दाङ जान नदिन जसरी पहल गर्नुपर्दथ्यो, त्यो पहलकदमी हामीले गर्न सकेनौं होला । अथवा पार्टीले निश्चित निर्णय गरिदियो । त्यो निर्णयलाई टेकेर हाम्रा यहाँका प्रतिनिधिहरु पनि बोल्न सक्नुभएन । बहुदलीय व्यवस्थामा पार्टी शक्तिशाली हुन्छ, त्यसले समस्या भयो भन्ने मलाई लाग्छ ।

सुकुम्बासीको मुद्दामा पनि एमालेले खासै काम गरेन भन्ने आरोप छ नि ? 
विगतमा हाम्रै पार्टीको सरकार हुँदा सुकुम्बासीहरुलाई लालपूर्जा दिएका थियौं ।  पछिल्लो समय तीन वर्ष हाम्रै पार्टीले शासन गर्यो । अलि ढिला भूमि आयोग निर्माण भयो र त्यो आयोगले जुन रफ्तारका साथ काम गर्नुपथ्र्यो, त्यो भएन । सुकुम्बासीलाई लालपूर्जा दिने तयारीमा थियौं । संघीय सरकारबाट एमाले हट्नुपर्दा त्यो भएन । त्यसको फाइदा प्रतिस्पर्धी पार्टीलाई भयो । भूमिहीनको मन पनि जित्न सकेनौं कि ? तिनाउ करिडोरमा पनि कतिपय मान्छेहरुलाई हाम्रो घर भत्काएर हामीलाई किन विकास चाहियो भन्नेखालका आवाज उठ्यो । त्यो आवाजलाई पनि हामीले सही तरिकाले जवाफ दिन र बुझाउन सकेनौं ।

अघिल्लो चुनावमा रुपन्देहीमा एमालेले ८ वटा पालिका जितेको थियो । यो पटक ३ वटा पालिका मात्र जितेको छ । सिंगै जिल्लाको नतिजालाई कसरी हेर्नुभएको छ ?
गैडहवामा पहिले निकै कमजोर थियौं, अहिले जित्यौं । ओमसतिया र देवदह जितेका छौं । अरु नगरपालिकामा प्रमुख नजिते पनि उपप्रमुख जितेका छौं । हाम्रो पार्टीको मतमा विकास भएको देखिन्छ । तर, जुन नतिजा प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त भएन । अब गम्भीर ढंगले समीक्षा गरेर अघि बढ्छौैँ ।

देशभरको अवस्था हेर्दा एमाले दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा अस्तिसम्म एमाले तेस्रो थियो । तर, अहिले माओवादी भन्दा एउटा बढी पालिका जितेर दोस्रो भएको छ । प्रदेशमा किन यति कमजोर देखिएको हो ?
नेकपा माओवादी केन्द्र विघटन हुने अवस्थामा थियो । त्यतिबेला हाम्रो पार्टी एकता भयो । तर, अहिले माओवादी बर्खाको टुसा पलाएझैं पलाएको छ । कि हामीले पार्टी एकता गर्नुहुँदैन थियो, कि एकता गरेपछि टिकाउनुपथ्र्यो जस्तो लाग्छ । हामीले टिकाउन नसक्दा सहानुभूति उनीहरुतिर गयो । त्यसमा हामी चुक्यौं ।

अब फेरि वाम गठबन्धनको आवश्यकता देख्नुभएको छ कि छैन ?
बाम गठवन्धनको आवश्यकता नीति र सिद्धान्तमा हुनुपर्छ । नीति र सिद्धान्तमा प्रयोग गरेमा त्यो दिगो हुन्छ । फेरि पनि ६०–४० भनेर प्राविधिक कुरामा गयौं भने डुब्छौं । वाम गठवन्धनको अहिले त सम्भावना देख्दिनँ, कालान्तरमा त्यो जरुरी छ ।

आउँदो संसदीय चुनावमा वाम गठबन्धन हुन सक्छ ?
हामीले तलबाट हेर्दा त्यसो गर्दा राम्रो हुन्छ । सन्देश राम्रो हुन्छ । तर, मैले सम्भावना देखेको छैन ।

माधव नेपालसँग विगतमा जस्तै आरोप–प्रत्यारोप नै चलिरहन्छ कि एक भएर अघि बढ्नुपर्छ ?
तत्काललाई दुई पक्षबीच तितै सम्बन्ध छ । मेरो इच्छाले मात्र पार्टी एकता सम्भव पनि छैन । तर, बामपन्थी एक ठाउँ हुँदा नेपालको लोकतन्त्र बलियो हुन्छ । आत्मकेन्द्रित नभई कम्युनिष्ट आन्दोलनको सोचले नेताहरु लाग्ने हो भने त्यो आवश्यकता र औचित्य छ । अहिलेको तिक्तता कम भएपछि मिल्नुपर्छ जस्तो लाग्छ ।

यो चुनाबबाट पाठ सिकेर एमाले अब कसरी अघि बढ्नुपर्ला ?
हाम्रा आनीबानी, संस्कार हामीले पुरै परिवर्तन गर्नुपर्छ । पार्टी निर्माणका लागि नेताहरुको रगत पसिना खर्च भएको छ । सहीदको बलिदानीबाट पार्टी विकास भएको हो । हामीले चाँहि भन्ने एउटा, गर्ने अर्को जस्तो भयो । कम्युनिष्ट आन्दोलनको आचरणयुक्त व्यवहार हुनुपर्यो ।

अब पार्टी केन्द्रीय कमिटीको बैठक पनि बस्ला । जिल्ला कमिटीको बैठक बसेर पनि हामी समीक्षा गर्छौं । अब नेताहरु काठमाडौँ केन्द्रित हुने होइन, गाउँफर्क अभियान सञ्चालन हुनुपर्छ ।

जुन जिल्लाको मान्छे हो, त्यही जिल्लामा कार्यकर्तासँग सम्बन्ध बढाउनुपर्छ । कम्युनिष्ट पार्टीका नेता र जनतावीच नङ र मासुको सम्बन्ध हुनुपर्छ । 

पृथ्वीसुब्बाविरुद्ध एमाले कार्यकर्ताको नाराबाजी, अन्तर्घात गरेको आरोप

दल बैठकमा ओलीको समीक्षा : सत्ता गठबन्धनले होइन, अन्तर्घातले धेरै ठाउँ मेयर गुमायौँ

‘डिजास्टर’ भयो, अब वाम गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

सुदूरपश्चिमका एमाले नेता भन्छन्– कांग्रेसलाई पुरानै साइजमा राखियो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .