राजनीति


प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे खबर पाएपछि भ्रमण छोट्याएँ : ज्ञवाली

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे खबर पाएपछि भ्रमण छोट्याएँ : ज्ञवाली

सागर न्यौपाने
मंसिर १३, २०७६ शुक्रबार ८:५०,

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाको जानकारी पाएपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको बताएका छन्।

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको अप्रेसन हुँदा रुस भ्रमणमा रहेका उनीसर्बियाको भ्रमण नगरी शुक्रबार नेपाल आइपुगेका हुन्।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी पाएँ, त्यसमाथि मन्त्रालयको काम पनि रोकिएका थिए,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले भ्रमण अवधि नसकी फर्किएँ।’

परराष्ट्रमन्त्री ज्ञवाली विमानस्थलबाट सीधै प्रधानमन्त्री ओलीको उपचार भइरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। त्यहाँ उनी झण्डै आधा घण्टा बसेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

मन्त्री ज्ञवालीले शनिबारसम्म सर्बियाको भ्रमण गर्ने र आइतबार मात्रै स्वदेश फर्कने कार्यतालिका थियो। तर, रुस भ्रमण सकेर उनी सर्बिया नगई सीधै नेपाल फर्केका हुन्। सर्बियाका राष्ट्रपतिसँग भेटवार्ता गर्ने तय भएको थियो।

उनले मन्त्रालयमा काम चाप निकै बढेको पनि जानकारी दिए। ‘सगरमाथा संवाद तयारीको कामलाई तीव्रता दिनुपर्ने छ,’ उनले भने।

‘पुटिनले नेपाल भ्रमण गर्ने सम्भावना बढ्यो’
मन्त्री ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण हुने सम्भावना बढेको पनि बताए।

मन्त्री ज्ञवालीले रुस भ्रमणमा आगामी चैतमा हुने सगरमाथा संवादमा सहभागी हुन विदेशमन्त्री सेर्गेइ लाभ्रोभमार्फत पुटिनलाई निम्त्याएका थिए।

यो प्रस्तावलाई रुसले महत्व दिएको ज्ञवालीको भनाइ छ। ‘१४ वर्षदेखि दुईपक्षीय भ्रमण भएको थिएन, अहिले भएको छ, उहाँहरुले दिनुभएको महत्व हेर्दा पुटिनको नेपाल भ्रमण हुने सम्भावना बलियो छ,’ उनले भने, ‘तर, अहिले नै समय तोक्न सकिँदैन।’

‘राष्ट्रपति पुटिनलाई औपचारिक रुपमा नेपाल भ्रमणको निमन्त्रणा गरेको छु, उहाँहरु खुसी हुनुभयो,’ उनले थपे।

सरकारले पुटिनको भ्रमणका लागि तयारी गरिरहेको छ। बिहीबार सरकारका प्रवक्ता र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पनि रुसी राष्ट्रपति पुटिनको नेपाल भ्रमण हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad