आफूविरुद्ध सडकमा ठूलो प्रदर्शन भएपछि बोलिभियामा १४ वर्ष शासन चलाएका राष्ट्रपति एभो मोरालेस राजीनामा दिएर मेक्सिकोमा शरण लिइरहेका छन्। त्यसपछि बोलिभियामा दक्षिणपन्थी सिनेटर जिनिन अनेज राष्ट्रपति बनेकी छन्। तर, मोरालेसको पकड रहेको क्षेत्रका बासिन्दा उनको पुनरागमनका लागि लडिरहेका छन्। उनीहरुले देशको मुख्य राजमार्ग अवरोध गरेर ठूला सहरलाई नाकाबन्दी गरेका छन्।
खासगरी कोका खेती हुने क्षेत्रका किसान मोरालेसको समर्थनमा उत्रिएका छन्। ती क्षेत्रमा जाने सडकमा उनीहरुले टायर र काठ राखेर अवरोध गरेका छन्। कतिपय स्थानमा रुख ढालिएको छ, काँडे तार लगाइएको छ। ढुंगा र माटोको पर्खाल पनि ठड्याइएको छ। त्यस्ता करिब एक सय अवरोध राखिएका छन्। हरेक अवरोधसँगै छडी बोकेर रक्षक बसेका छन्, जसले पास नभएकालाई फर्काइदिन्छन्। आपत परेकालाई जान दिन्छन्।
करिब एक सय माइल पार गरेपछि भिल्ला तुनारी गाउँ पुगिन्छ। यही ठाउँमा मोरालेसले आफ्नो राजनीतिक करिअर सुरु र अन्त्य गरेका थिए। र, यहाँका मानिस अझै उनको पूजा गर्छन्। यहीँ ठाउँ अहिले बोलिभियाको अन्तरिम सरकारविरुद्ध प्रतिरोधको मुख्यालय बनेको छ।
गाउँसँगैको नदीमा रहेको रणनीतिक पुलवरिपरि हजारौँ कोका किसान शिविर खडा गरेर बसेका छन्। उनीहरुले बोलिभियाको प्रमुख राजमार्गमा अवरोध गरिरहेका छन्। यसले देशको अर्थतन्त्रलाई नै धराशायी बनाएको छ। ठूला सहरमा खाद्यपदार्थ र इन्धन अभाव छ।
‘एभो मोरालेस हाम्रालागि बुबाजस्तै हुन्,’ ३० माइल पार गरेर दुई साताअघि भिल्ला तुनारी आइपुगेकी कोका किसान एन्टोनियएटा लेडेजी भन्छिन्, ‘उनी नफर्के यहाँ शान्ति आउने छैन।’
मोरालेसले गराएको चुनावमा धाँधली भएको भन्दै आन्दोलन चर्कियो। सेना र प्रहरीले उनको साथ छाडे। त्यसपछि मोरालेस राजीनामा दिन बाध्य भए। अब नयाँ चुनाव हुने भनिएको छ। तर, त्यसमा मोरालेसलाई उठ्न प्रतिबन्ध लगाइएको छ।
तर, शरणार्थी बनेका आफ्नो नेतालाई फर्काउन भिल्ला तुनारीका किसान दृढसंकल्प छन्। ५० हजारभन्दा बढी परिवारका लागि सत्ताबाट मोरालेसको बहिर्गमन सरकारको अन्त्यभन्दा पनि ठूलो घटना हो। मोरालेसले तिनको राजनीतिक प्रतिनिधित्व मात्र गरेका थिएनन्, सो स्थानमा पूर्वाधार, शिक्षा र स्वास्थ्यमा आमूल सुधार पनि ल्याएका थिए। उनीहरु मोरालेसलाई प्रेमपूर्वक एभो भनेर पुकार्छन्।
एभोको नाम मात्र लिँदा पनि सडकमा भेला भएकाहरुमाझ रोदन पैदा हुन्छ। धेरैको सम्झनामा एभो उनीहरुजस्तै कोका किसान थिए। उनी स्थानीय कोका युनियनको अध्यक्ष पनि भए र आजपर्यन्त त्यो पद उनीसँगै छ।
‘हामीले देखेको एक मात्र राष्ट्रपति उनै हुन्,’ कोका किसान ग्रेगोरियो चक भन्छन्, ‘उनी हामीसँगै खेतमा काम गर्थे।’
नोभेम्बर १० मा यही गाउँको कोका युनियन महासंघको कार्यालयमा आइपुगेर मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरे। त्यही दिनदेखि यहाँ किसानहरु जम्मा हुन थाले। भोलिपल्ट उनी मेक्सिको उडे र शरणार्थी बने।
कुनै समय पर्यटनको केन्द्र रहेको यो स्थान अहिले युद्ध शिविर बनेको छ।
तुरुन्तै यस क्षेत्रमा पाल टाँगिन थाल्यो, रुखका हाँगाबिँगा छिमलेर सडकमा तेर्स्याइन थाल्यो र किसानहरु पालो बाँधेर पहरा दिन थाले।
अन्तरिम राष्ट्रपति अनेजले राजीनामा दिनुपर्ने र प्रदर्शनका क्रममा मारिएका करिब ३० एभो समर्थकहरुलाई न्याय दिनुपर्ने उनीहरुको माग छ।
‘यो अवैध सरकारलाई हामी मान्यता दिँदैनौँ,’ स्थानीय श्रमिक आन्दोलनमा मोरालेसको सहायक रहेका एन्ड्रोनिको रोड्रिगेज भन्छन्, ‘हाम्रो उदेश्य एभोलाई आफ्नो कार्यकाल पूरा गर्न दिनु हो।’
धेरैले उनलाई मोरालेसको उत्तराधिकारीको रुपमा पनि हेरेका थिए। ३० वर्षीय रोड्रिगेजको तीव्र गतिमा राजनीतिक उदय भएको थियो। ‘२४ घण्टाभन्दा कम समयमा हामी एक लाख किसान परिचालन गर्न सक्छौँ,’ उनी भन्छन्।
नौ वर्षदेखि नै उनी युनियनको काममा सक्रिय भएका थिए। देशको राजनीतिक परिदृश्य परिवर्तन हुँदै गर्दा कोका किसानहरुको उनीप्रतिको निष्ठा कायम राख्ने ठूलो चुनौती रोड्रिगेजसामु छ। यही साता उनी सरकारी अधिकारीहरुसँग वार्ता गर्न राजधानी ला पाज गएका थिए।
अनुशासन, खाद्यान्नमा आत्मनिर्भरता र रणनीतिक क्षेत्रमा नियन्त्रणका कारण महिनौँसम्म पनि किसानहरु सडक अवरोध कायम राख्न सक्षम रहेको रोड्रिगेजको भनाइ छ।
सहरी क्षेत्रका बासिन्दाले आफूहरुलाई लागूऔषध उत्पादक मानेकामा यहाँका किसान दुःखी छन्। ‘उनीहरु हामीलाई लागूऔषध तस्कर, आतंकवादी, गुण्डा भन्छन्,’ किसान हिरोनिमो तोसिकोले आँसु झार्दै भने, ‘तर, म केरा, खरबुजाजस्ता फलफूल फलाउँछु। म कसैलाई दुःख दिन्नँ। म असल नागरिक हुँ।’
बोलिभियाका आदिवासीले सदियौँदेखि स्थानीय प्रयोगका लागि कोका उत्पादन गर्दै आएका छन्। यो कोकिनको कच्चा पदार्थ पनि हो। मोरालेस राष्ट्रपति बनेपछि परम्परागत प्रयोगका लागि कोका उत्पादनलाई उनले वैधता दिए। तर, उनले निश्चित मात्राभन्दा बढी उत्पादन गर्न नपाइने कडा नियम लगाए।
संयुक्त राष्ट्रसंघका अनुसार उनको शासनकालमा कोकिनको विश्वव्यापी माग बढिरहेपनि यो क्षेत्रमा कोका उत्पादन कम भएको थियो। स्थानीय युनियनहरुले कोका खेतीको नियमन गर्छन्। मूल्य स्थिर राख्ने र कोकिन ल्याबमा पुग्नेगरी उत्पादन हुन नदिने जिम्मेवारी पनि उनीहरुकै हो।
यो नीतिले आर्थिक स्थिरता ल्यायो र किसानहरुलाई अन्य बाली लगाउन पनि प्रेरित गर्यो। यसका कारण दशकौँसम्मको लडाइँ, कोका नियन्त्रण गर्ने सेनाको दमन अन्त्य भएर शान्ति पनि आयो।
अक्टोबरको चुनावमा पनि यो क्षेत्रमा मोरालेसको पार्टीले ९० प्रतिशत मत ल्यायो। यद्यपि, सडक अवरुद्ध गर्ने पक्षमा सबै छैनन्।
यो क्षेत्रका थुप्रै कोका किसानले अहिले पसल, साना होटेल र रेस्टुरेन्टमा लगानी गरेका छन्। उनीहरु यहाँको नवमध्यमवर्ग बनेका छन्, जसले भिल्ला तुनारीलाई पर्यटकीय केन्द्र बन्न सघाए।
नाकाबन्दी अहिले तेस्रो सातामा पुगिसकेको छ। यहाँका होटेलको बन्द सटर पुरानो देखिन थालिसकेका छन्, स्विमिङ पुलमा झार पलाउन थालेका छन् भने रेस्टुरेन्टमा दाउरा बालेर दिनको एक छाक खाना पकाउने गरिएको छ।
आफ्नो जमिन नहुने स्थानीयलाई सबैभन्दा ठूलो मार परेको छ। खाद्यान्न अभाव भएको छ।
सडक अवरोध हेर्न आउनेहरुको ठूलो भीड लाग्छ। मानिसहरु ठेलामा यहीँ खानेकुरा बेचिरहेका छन्। पैसा नहुनेहरु कोकाको पात चपाएर भोक मारिरहेका छन्।
साँझको खानापछि युनियनका सदस्यहरु रोलकलका लागि जम्मा हुन्छन् र स्थानीय भाषामा छलफल थाल्छन्। दिनभरीको समाचार, ला पाजबाट आएको खबरबारे चर्चा गर्छन्। त्यसपछि उनीहरु सडकमाथि नै वा रुखका हाँगाबिँगामाथि पल्टिन्छन्।
‘हाम्रो बालीनाली खेतमा कुहिन थालेको छ। यस्तोबेला यहाँ बस्नु मुस्किल छ,’ किसान सेराफिनो ओलिभरोस भन्छन्, ‘तर, हामीलाई थाहा छ, यो अत्यन्त आवश्यक बलिदान हो। एभोको शासनमा हामीले जति अधिकार पायौँ, हाम्रा सन्तानले पनि त्यति नै अधिकार पाउन सकून् भनेर हामी यहाँ आएका हौँ।’
(द न्युयोर्क टाइम्सबाट।)
प्रतिक्रिया