राजनीति


शरीरमा तेस्रो मिर्गाैला राख्ने तयारीमा प्रधानमन्त्री, बेइजिङको प्रस्ताव पनि अस्वीकार

शरीरमा तेस्रो मिर्गाैला राख्ने तयारीमा प्रधानमन्त्री, बेइजिङको प्रस्ताव पनि अस्वीकार

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १२:५,

एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन्।

तर, सरकार र पार्टीका महत्वपूर्ण कामहरूको व्यवस्थापन गरेर मिर्गाैला प्रत्यारोपणमा जाने तयारी गरेका ओलीको योजना भने अकास्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेपछि केही पछाडि धकेलिन सक्ने चिकित्सकहरूले जनाएका छन्।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा‍. दीव्यासिंह शाह मिर्गाैला प्रत्यारोपणको तयारीकै क्रममा अमेरिका पुगेर फर्केको दुई साता बिते पनि मिर्गाैलासम्बन्धी थप उपचारको टुंगो लागेको छैन।

एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको यो उपचार अझै एक सातासम्म चल्ने भएकाले त्यसपछि मात्रै मिर्गाैला प्रत्यारोपणका बारेमा थप निर्णय हुने बुझिएको छ।

१३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न कम गरेपछि प्रधानमन्त्री ओलीसँग सातामा तीनपटक डायलासिस गर्ने वा पुनः प्रत्यारोपण गर्ने विकल्प छन्। मिर्गाैला पुनः प्रत्यारोपण गर्ने मनस्थितिमा ओली पुगे पनि कहाँ उपचार गर्ने भन्नेबारे निष्कर्षमा पुगिनसकेका कारण पनि उपचारमा ढिलाइ भइरहेको हो।

प्रधानमन्त्री ओलीनिकट नेकपाका नेताहरूले अहिले सीमित काम गरिरहेको मिर्गाैलालाई नचलाएर अर्को मिर्गाैला प्रत्यारोपण गर्न सकिने प्रविधि भएकाले त्यसैमा गृहकार्य भइरहेको जनाएका छन्।

‘नेपालमै पनि त्यसरी अर्को मिर्गाैला राखेका बिरामी रहेछन्, यो प्रविधि पनि सम्भव रहेछ’, ओलीको स्वास्थ्य उपचारबारे जानकार एक नेताले भने।

त्यसरी मिर्गाैला राख्दा कम्तीमा ३ महिना पूर्ण आराम गर्नुपर्ने भएकाले देशबाहिर त्यति लामो समय बस्न प्रधानमन्त्रीले इच्छा नगरेको उनको दाबी छ।

मिर्गाैला प्रत्यारोपणका लागि सिंगापुरमा कडा कानुन रहेका कारण प्रधानमन्त्री ओली पुनः त्यहाँ जाने सम्भावना नरहेको बताइएको छ। सिंगापुरको कानुनअनुसार आफन्तबाहेक अरुको मिर्गाैला प्रत्यारोपण गर्न सकिन्न।

विकल्पमा नेपालमै उपचार गर्नेबारे पनि गृहकार्य भइरहेको छ। ग्रान्डी अस्पताललमै मिर्गाैला प्रत्यारोपण गर्न सकिने ब्रिफिङ त्यहाँका चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई नै गरेपनि उनी आफैंले चाहिँ मुख खोलेका छैनन्।

‘ग्रान्डीमा उच्चस्तरको सेवा भएकाले प्रधानमन्त्रीको उपचार यहीँ सम्भव छ’, मिर्गाैला प्रत्यारोपण प्रक्रियाबारे जानकार अस्पतालका एक चिकित्सिकले भने।

तर, अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्न प्रयोग हुने मेसिन एउटा मात्र रहेकाले जोखिम कम गर्न अर्को एउटा थप गर्नुपर्ने खबर बालुवाटार पुगेको छ।

‘अन्तिम निर्णय त भैसकेको छैन तर ग्रान्डी अस्पतालमै मिर्गाैला प्रत्यारोपण गर्न सकिने चिकित्सकहरूको ब्रिफिङपछि विदेशबाट प्रत्यारोपण गर्न प्रयोग हुने मेसिन र विशेषज्ञ चिकित्सक ल्याएर शरीरमा तेस्रो मिर्गाैला राख्ने गरी तयारी भइरहेको छ’, नेकपाका अर्का एक उच्च नेताले भने।

प्रधानमन्त्री ओलीको यसअघिका उपचारमा संलग्न भारत र सिंगापुरका चिकित्सकहरुलाई समेत बोलाएर ग्रान्डीमै उपचार गर्ने सम्भावना बढी रहेको उनको सचिवालयका एक सदस्यले पनि बताए।

‘त्यसो हुँदा एक त प्रधानमन्त्रीको उपचार आफ्नै देशमा भयो भन्ने हुन्छ’, सचिवालयका एक सदस्यले भने, ‘अर्को अस्पतालमै आराम गर्दै पनि प्रधानमन्त्रीले केही काम गर्न सक्ने हुनाले मुलुकमा अस्तव्यस्तता पनि हुँदैन।’

भारत र चीनको प्रस्ताव अस्वीकार
प्रधानमन्त्री ओलीले उपचारका लागि छिमेकी भारत र चीनबाट आएको प्रस्ताव अस्वीकार गरेका छन्। तीन महिनाअघि नेपाल भ्रमण आएका बेला भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बालुवाटारमा भेटेर प्रधानमन्त्रीलाई भारतमा उपचार गराउन प्रस्ताव गरेका थिए।

एक्लाएक्लै भएको भेटमा विदेशमन्त्री जयशंकरले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको उक्त सन्देश सुनाउँदै पहिलेदेखि नै भारतमा उपचार भएकाले मेडिकल हिस्ट्रीसमेत हुने हुँदा थप सजिलो हुने सम्झाउँदै अनुरोध गरेका थिए। तर, प्रधानमन्त्री ओलीले सदासयताका लागि धन्यवाद दिँदै हाललाई सिंगापुरमै उपचार भइरहेकाले उतै सजिलो लागेको प्रतिक्रिया दिएको स्रोतहरूले जनाएका छन्।

यसैगरी, राष्ट्रपति सी चिङफिङको भ्रमणका बेला चीनले पनि उपचारका लागि आफ्नो मुलुक आउन प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेको थियो। बालुवाटार स्रोतहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि कुनै कसर बाँकी नराख्ने भन्दै चीनका विदेशमन्त्री वाङ यीले ओलीसमक्ष प्रस्ताव राखे पनि उनले धन्यवाद दिँदै आवश्य परे कुरा गर्ने बचन दिएर पन्छाएका थिए।

भारत र चीन दुवैको प्रस्ताव स्वीकार नगर्नाका पछाडि प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अनावश्यक राजनीतिकरण नहोस् भन्ने चाहेको नेकपाका ती नेताले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली दुवैको १३ वर्षअघि भारतमा उपचार भएको थियो। भारतीय पक्षले अनौपचारिक रुपमा ‘सम्बन्ध तिक्त भएका बेला हामीले उपचार गरिदिएका हौँ’ भन्नेजस्ता टिप्पणी गर्ने गरेको ओलीका कानमा पुगेका कारण यसअघि प्रधानमन्त्री बनेयता उनी थप उपचारका लागि दिल्ली नगई बैंकक र सिंगापुर जाने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .