ad ad

समाज


नक्कली सेयर कारोबारमा फरार, साढे दुई वर्षपछि बैंक चोरीमा पक्राउ

नक्कली सेयर कारोबारमा फरार, साढे दुई वर्षपछि बैंक चोरीमा पक्राउ

दीपक खरेल
मंसिर १२, २०७६ बिहिबार १२:५,

काठमाडौं प्रहरीले सोमबार र मंगलबार दुई दिन लामो अप्रेशन गरेर पक्राउ गरेका बैंक चोरीका ६ आरोपीमध्ये एकजना ‘खुँखार ठग’ भएको खुलेको छ। 

नेशनल हाइड्रोपावर कम्पनी र चिलिमे जलविद्युत कम्पनीकोे नक्कली सेयर कारोबार गरेको आरोपमा मुद्दा तामेलीमा रहेका आरोपी गोविन्द घिमिरेलाई प्रहरीले अर्को ठगी आरोपमा पक्राउ गरेको हो। नेपाल धितोपत्र बोर्डले घिमिरे पक्राउसँगै उनको मुद्दा ब्युताँउने तयारी गरेपछि सो कुरा समेत खुलेको हो।

काठमाडौं जिल्ला अदालतले मुद्दा नै तामेलीमा राखेका घिमिरे प्रहरीले पक्राउ गरेको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम निकाल्ने गिरोहका मुख्य योजनाकार (मास्टर माईन्ड) समेत घिमिरे नै रहेको खुलेको हो।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले घिमिरेबिरुद्ध बोर्डले मुद्दा अघि बढाउने बताए। उनका अनुसार घिमिरे बोर्डले नक्कली सेयर कारोबार र अर्काको नाममा कारोबार गर्ने गरेको आरोपमा मुद्दा चलाएर कालो सूचीमा राखेका ब्यक्ति भएको बताए।

‘प्रहरी हिरासतमा रहेका घिमिरे धितोपत्र बोर्डले कालो सूचीमा राखेका ब्यक्ति हुन,’ प्रवक्ता गिरीले बिहीबार नेपालखबरसँग भने ‘हामी मुद्दा ब्युँताउने तयारीमा छौं।’
बोर्डले दिएको जानकारीअनुसार घिमिरेबिरुद्ध बोर्डका तर्फबाट प्रवक्ता गिरीले नै मुद्दा दर्ता गरेका थिए। काठमाडौं जिल्ला अदालतमा २०७४ असार २३ मा दर्ता भएको मुद्दाको पहिलो सुनवाई न्यायाधीश रमेशराज पोखरेलको इजलासमा सोही वर्ष माघ २५ मा भएको थियो।

न्यायाधीश पोखरेलले घिमिरे पक्राउका लागि पुनः म्याद जारी गर्न पहिलो आदेश दिएका थिए। त्यसपछि २०७५ बैशाख २० मा न्यायाधीश पोखरेलले मुद्दा तामेलीमा राख्ने आदेश गरेका हुन्।

money looted from bank 1

यस्तो थियो नक्कली सेयर कारोबारको घट्ना

बोर्डका अनुसार घिमिरे सहितको समुहले चिलिमे जलविद्युत कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीकोे नक्कली सेयर कारोबार गरेको प्रमाणित भएको थियो। यही घटनामा दुई सेयर ब्रोकर कम्पनी र बैंक समेत कारबाहीमा परेका थिए।

घिमिरेले नक्कली सेयर प्रमाणपत्रका आधारमा ब्रोकर र बैंकको करिब दुई करोड रकम ठगी गरेका थिए। घिमिरेले ब्रोकर कम्पनीहरुलाई विश्वस्त बनाएर बैंकमार्फत नक्कली सेयर धितो राखेर ऋण लिएका थिए।

बोर्डले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार घिमिरे सहितको समुहले २०७१ देखि २०७४ का बीचमा अग्रवाल सेक्युरिटिजबाट १३ हजार ५ सय कित्ता चिलिमे हाइड्रोपावर र श्रीहरि सेक्युरिटिजबाट नेशनल हाइड्रोपावरको नक्कली सेयर बनाएर कारोबार गरेका थिए।

यस्तै दलाल कम्पनीहरु मार्फत उनीहरुको सिफारिसमा नक्कली सेयर प्रमाणपत्र धितो राखेर तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकबाट करिब ६५ लाख रुपैयाँ र युनाइटेड फाइनान्सबाट करिब ६० लाख रुपैयाँ ऋण लिएका थिए।

बोर्डले यही घटनामा दोषी ठहरगर्दै दुबै ब्रोकर कम्पनीबाट प्रतिव्यक्ति १० लाख जरिवाना असुलेको थियो।

Uttam raj Subedi

यसरी गरियो बैंक चोरी

प्रहरीका अनुसार पक्राउ परेका हाल कालीमाटी बस्दै आएका काभ्रेपलाञ्चोक पाँचखालका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटका हाल बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोकका हाल सुविधानगर बस्ने गोविन्द घिमिरेले विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने गरेका थिए।

प्रहरीका अनुसार यो समुह सुविधाजनक घरमा बस्ने, नयाँ मोटरसाईकल र मोबाइल किन्ने र मोजमस्तीका लागि सेयर कारोबारीबाट लुटेरा बनेको थियो। प्रहरीले पक्राउ परेका ६ जनाकै डेरामा खानतलासी गरेर त्यहाँ रहेका कागजपत्र बरामद गरि अध्ययन गरिरहेको छ।

परिसरका अनुसन्धान शाखा प्रमुख डीएसपी होविन्द्र बोगटीका अनुसार यो समुहका नाईके अन्जन बरालले आईतबार जनता बैंकको ग्वार्को शाखाबाट ग्राहक गोपाल राजबाहकको नामको चेक बुक लिएका थिए।

उनका अनुसार सामान्य लेखपढ गर्न जानेका निर्माण व्यवसायी राजबाहकको खाताबाट रकम निकालेपछि यही समुहले फोन गरि मोबाइल स्विच अफ गर्न समेत भनेको थियो।
अनुसन्धान अधिकारीहरुका अनुसार राजबाहकको हस्ताक्षर र उनले एसएमएस बैंकिङ सेवा लिएको जानकारी यो समुहले कसरी पायो? भन्ने बिषयले बैंकका कर्मचारीको संलग्नता देखाउछ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता बोगटीले जनता, एनआईसी र मुक्ति विकास बैंकका कर्मचारी समेत अनुसन्धानको दायरामा रहेको बताएका छन्।
अभियुक्तहरुले बैंकमा खाता रहेका व्यक्तिको चेकमा रहेको हस्ताक्षर चोरी, सोही व्यक्तिको नाममा चेक हराएको निवेदन समेत दिएर नयाँ चेक बुक लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता बोगटीले बताए। बोगटीका अनुसार त्यसरी अरुको हस्ताक्षर मिलाएर उनीहरुले लाखौँ निकालेका छन।

‘हामीले ठूलो परिमाणमा कागजपत्र बरामद गरेका छौं। यो ठूलो गिरोह हो, थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर टेकुमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनले भने, ‘१८ वटा बैंक शंकाको घेरामा छन। बैंकको मिलेमतो नभई यो घटना सम्भव छैन।’

धेरै व्यक्तिको नाममा रहेका खाताको सयौँ थान सक्कली चेक बनाउन सफल देखिएकाले ती खाताबाट भिसा कार्ड बनाई प्रयोगमा ल्याएको समेत देखिएको उनले जानकारी दिए।
यसमा सम्बन्धित बैंकका कर्मचारीहरुको मिलेमतो समेत देखिएको र त्यसबारे गहन अनुसन्धान हुने बोगटीले बताए।

मंसिर ८ गते राति जनता बैंकका खातावाल राजवाहकले आफ्नो खाताबाट पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालेको मोबाइल मेसेज आएको तर आफैँ कुनै पनि चेक कसैलाई नदिएको भन्ने पीडितको सूचना परिसर काठमाडौंमा दिए।

त्यसपछि प्रहरीको विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरी पीडितको खाता तत्काल चेक गर्दा नक्कली चेकबाट पैसा निकाल्न सफल भएको देखिएको प्रहरीले जनाएको छ।

खोजतलासका क्रममा मंसिर ९ गते पीडितको खाताबाट पैसा निकाल्न पुनः चेक बोकी एक जना व्यक्ति जनता बैंक न्युरोड शाखामा आएको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि अन्य व्यक्ति पनि सोही दिन पक्राउ परेका थिए। उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, २९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्टर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको ३०० थान फारम, १९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेस्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखी बैंकिङ कसुर सम्बन्धी सात दिने म्याद पाटन उच्च अदालतबाट लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .