ad ad

राजनीति


ओलीले आफैँलाई बुद्धिजीवी भने तर चिप्लिए‍‍...

ओलीले आफैँलाई बुद्धिजीवी भने तर चिप्लिए‍‍...

वाशुदेव मिश्र
बैशाख २६, २०७९ सोमबार १८:३, पाेखरा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली ‘वाचाल’ भएकोमा शंका छैन। तर, उनी आफूलाई बौद्धिक पनि भएको जिकिर गर्छन्।

सोमबार पोखरामा आयोजित एमालेको चुनावी सभामा पनि उनले आफू बुद्धिजीवी भएको जिकिर गरे।

कार्यक्रमको सुरुतिरै उनले भने,‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो। मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन्।’

उनले भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कविता सम्झे। भने,‘भूपी शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे उहिल्यै देखेका थिए। उसैबेला लेखेका थिए, घुम्ने मेचमाथि अन्धो मान्छे। जनताले छानेर  त त्यसो गरेका थिएनन् तर परमादेशबाट भूपी शेरचनको कविता टक्रक्क आइपुग्यो।’ 

पोखरा र गण्डकी विभिन्न साहित्यकार जन्माउने थलो भएको चर्चा गर्दै उनले गण्डकी पौराणिक कथासँग जोडिएको थलो भएको पनि बताए। त्यहाँसम्म उनी ठीकै थिए।

तर,उनी एकठाउँमा भने चिप्ले। उनले गण्डकीमै ८ हजार उचाइ माथिका ५ वटा हिमाल भएको जिकिर पनि गर्न भ्याए।  मनास्लु, अन्नपूर्ण १ र धौलागिरीलाई ८ हजार मिटर अग्लो भनेसम्म त ठीकै थियो तर उनले अन्नपूर्ण २ र ३ लाई पनि ८ हजार मिटर अग्लो भनिदिए।

खासमा अन्नपूर्ण प्रथम र धौलागिरी र मनास्लु मात्रै ८ हजार मिटर अग्ला हिमाल हुन्।

अन्नपूर्ण प्रथम ८ हजार ९७ मिटर र धौलागिरी ८ हजार १६७ मिटर अग्लो रहेको छ भने मनास्लु ८ हजार १५६ मिटर अग्लो छ।

८ वटा हिमाललाई मात्रै ८ हजार मिटर अग्लो मानिँदै आएकोमा अरु ६ वटा हिमाललाई पनि पर्यटन विभागले ८ हजार अग्लोमा सूचीकृत गरेको छ।

थप भएका आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार (८४०४ मिटर), ताप्लेजुङमा पर्ने यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मिटर, ल्होत्से मिडिल (८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) छन्।

यसअघिसम्म अन्नपूर्ण र धौलागिरी,मनास्लुसहित  सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु ( ८४६३ मिटर), छ्यो यु (८२०१ मिटर),सूचीकृत भएका थिए।

कांग्रेस कार्यकर्तालाई भनेः रुखमा भोट हाल्न नपाउँदा कसरी मन थाम्नुहुन्छ?

एमाले अध्यक्ष ओली पुनः कांग्रेसप्रति नरम तथा माओवादी र नेकपा एकीकृत समाजवादीप्रति आक्रामक देखिएका छन्। पोखराको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेसीहरुको मन पगाल्ने प्रयत्न गरेका हुन्।

पोखराको मेयरमा कांग्रेसको आफ्नो उम्मेदवार छैन। मेयर एकीकृत समाजवादीलाई दिइएकोमा असन्तुष्ट बनेका कांग्रेसीहरुको सहानुभूति लिन उनले यो रणनीति अपनाएका हुन्। 

‘मैले कांग्रेसका साथीहरुलाई भनेँ तपाईंहरुको आफ्नो घोषणापत्र हेर्नुस्। कांग्रेसले आफ्नो घोषणापत्रमा ८ ठाउँमा आफ्नो अध्यक्ष नाम लेखेको छ, आफ्नो सभापतिको नाम ८ ठाउँमा लेखेको छ, एमालेको अध्यक्षको नाम  ४२ ठाउँमा लेखेको छ’,उनले भने,‘ यहाँ त कांग्रेसको घोषणापत्र आएको छैन होला किनभने यहाँ त कांग्रेसको मेयर सेयरको उम्मेदवार छैन, के को घोषणापत्र?’

उनी त्यत्तिमा रोकिएनन्। कांग्रेसका मुख्य नेताहरुबाहेक अरु नेताहरुमाथि आफ्नो सहानुभूति भएको बताउँदै उनले भने, ‘हिजो मैले भरतपुरमा पनि भनेँ कसरी मन थाम्न सकेको होला, कांग्रेसका कार्यकर्ताहरुले?’ 

त्यही उपक्रममा उनी माओवादी अध्यक्ष प्रचण्डमाथि खनिए। 

उनले भने,‘ भरतपुरमा ५ वर्षअघि पनि कांग्रेसका कार्यकर्ताहरुले रुख चिन्हमा भोट हाल्न पाएनन्। यसपटक पनि पाएनन्। यसपटक पनि धम्क्याइराछ। धम्क्याएर, दिएनौ भोट भने, दुर्घटना गराइदिन्छु देशलाई धम्की दिइरहेको छ। खुरुक्क छोरीलाई भोट हालेर जितायौ भने म खुसी हुन्छु, उत्साहित हुन्छु, खुसी हुन्छु। १५-२० वर्षसम्म गठबन्धन कायम राख्छु। सधैँ मेरै भाइ, मेरै भाइ, मेरै भतिजो, मेरै ज्वाइँलाई तिमेरुले बोकीराख्नुपर्छ। कस्तो गजब छ!’ 

उनले थपे,‘१५–२० वर्ष कायम राख्ने गठबन्धन। चितवन उनको नाममा राजीनामा गर्दिने, कांग्रेसका साथीहरुले रुखमा भोट हाल्न कहिल्यै नपाउने। अब त हुँदै गएर चितवनमा कांग्रेसले कहाँ भोट हाल्ने नै थाहा छैन। कसैले गिलासमा, कसैले पेन्सिलमा, कसैले अण्डामा, अण्डाभित्रको हँसिया हथौडामा, कसैले साइकलमा, कसैले बाल्टीमा, मगमा यस्तैमा भोट हाल्ने। कसरी मन थामेको होला। म उहाँहरुलाई भन्न चाहन्छु।’ 

कांग्रेसका नेताहरुले कांग्रेसलाई नीतिहीन सिद्धान्तहीन, गन्तव्यहीन बनाएको पनि उनको टिप्पणी थियो। 

यसअघि नै  पोखरामा आफूले बोलेको सम्झँदै उनले भने,‘ कृष्णप्रसाद भट्टराईले त्यत्तिकै कांग्रेस त्यत्तिकै छाडेका हैनन्। जीवनको उत्तरार्धमा उहाँले पार्टी छाड्नुभयो। गणेशमानले यत्तिकै पार्टी छाड्नुभएको हैन। २००३ सालमा भद्रगोल जेल तोडेर हिँडेको मान्छे किन पार्टी छाड्नुपर्यो। नाच्दै गाउँदै छाडेको हो र? बीपी कोइराला अहिले हुनुहुन्थ्यो भने, उहिलेको कांग्रेस रहेन, अहिलेको कांग्रेसमा बसेर काम छैन भनेर छाड्नुहुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .