ad ad

राजनीति


‘बुद्धिजममार्फत त्रिदेशीय सहकार्य’

‘बुद्धिजममार्फत त्रिदेशीय सहकार्य’

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार ६:३०,

नेपाल, भारत र चीनबीच त्रिदेशीय सहकार्यका लागि बुद्धिजम (बौद्ध दर्शन) सहयोगी हुने सक्ने विज्ञहरुले तर्क गरेका छन्।

‘चाइना एसोसियसन फर फ्रेण्डसीप’ र सिचुवान विश्वविद्यालयको ‘इन्स्टिच्यूट अफ साउथ एसियन स्टडीज’ ले चेङ्दुमा आयोजना गरेको ‘बुद्धिष्ट कल्चरः चीन, भारत र नेपाल’ विषयक गोष्ठीमा चिनियाँ, भारतीय र नेपालका वक्ताहरुले बुद्धिजममार्फत तीन देशबीच सांस्कृतिक र नागरिक सहकार्य बढाउन जोड दिएका हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भारतको अनौपचारिक र नेपालको राजकीय भ्रमण गरेपछि पहिलो पटक चीन, भारत र नेपालबीचको सहकार्यमा केन्द्रित भएर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र सरकारसँग सम्बद्ध संस्था ‘चाइना एसोसियसन फर फ्रेण्डसीप’ ले सिचुवान विश्वविद्यालयसँगको सहकार्यमा सोमबार एक दिने गोष्ठी आयोजना गरेको हो।

चाइना एसोसियसन फर फ्रेन्डसीपमा सीपीसीका उच्च नेता र पूर्वमन्त्रीहरुले नेतृत्व गर्ने गरेका छन्। सरकारी अधिकारीहरु, सामाजिक अभियन्ता, कुटनीतिज्ञ, सुरक्षा विज्ञ, प्राध्यपक र उद्योगीहरु एसोसियसनको सदस्य बन्न सक्ने प्रावधान छ।

गोष्ठिमा सहभागी अधिकांश वक्ताहरुले इतिहासमा भारत, नेपाल र चीनबीचमा बुद्धिजमले आर्थिक सहकार्य, सामाजिक सद्भाव, र द्वन्द्व अन्त्य गर्न ठूलो भूमिका खेलेको स्मरण गर्दै फेरि पनि यस्तो सहकार्यको खाँचो रहेको औंलाए। भारतबाट नेपाल भएर चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै बुद्धिजम चीनको मुख्य भूमिसम्म फैलिएको अधिकांश वक्ताहरुको कथन थियो। इतिहासमा बुद्धिजमले द्वन्द्वको अन्त्य गरी एकआपसमा मिलेर देश विकासमा सहकार्य गर्न सहयोग पुर्याएको बताएका थिए।

चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलले गोष्ठीको पहिलो सत्रको समीक्षा गर्दै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) र राष्ट्रपति सीले भन्ने गरेको ‘मानव जातिको साझा भविष्य’ का लागि एक अर्को देशको सह–अस्तित्वमा सहकार्य गर्ने कुरा बुद्धिजमभित्रको मुख्य कुरा भएको उल्लेख गरे।

सिचुवान युनिभर्सिटीको ‘इन्स्टिच्यूट अफ साउथ एसियन स्टडिज’ की कार्यकारी निर्देशक ली ताओले एकआपसमा भएका गलत बुझाई र मतभेदलाई अन्त्य गरी द्वन्द्व घटाएर आर्थिक विकास र समाजमा पारस्पारिक सद्भाव फैलाएर समनता ल्याउन बुद्धिजमको ठूलो भूमिका रहेको बताइन। उनले बुद्धिजममार्फत चीन, नेपाल र भारतबीचमा पर्यटन प्रर्बद्धन मात्र होइन, आर्थिक कोरिडोरहरुको समेत विकास गर्न सकिनेमा जोड दिंदै बुद्धिजम सहकार्य र सहअस्तित्वको पर्याय भएको जनाइन।

त्रिभुवन विश्वविद्यालयका इतिहास विभागका पूर्व प्राध्यापक त्रिरन्न मानन्धरले नेपालका नेवारी व्यापारीमार्फत तिब्बतमा बुद्धिजमको प्रचार भएको तर्क गरे।

अरनिकोजस्ता प्रख्यात तत्कालीन इन्जिनियर तथा कालीगढहरुले नै बौद्धधर्मसम्बन्धी कला र सीप चीनसँग फैलाउन भूमिका खेलेको उनको भनाई थियो। ‘ल्हासाको पोतला दरबारमा कुँदिएका कलात्मक चित्र तथा मूर्तिहरु बनाउन नेपाली कालीगढको मुख्य भूमिका रहेको थियो’, उनले भने।

शान्ति, समनता र हार्दिकता बुद्धिजमको मुख्य मर्म भएको जनाउँदै सिचुवान विश्वविद्यालयका दक्षिण एशियाली मामिलाका प्राध्यापक दाइ योङहोङले चीन र भारतबीचमा देखिएका मतभेद हटाउन बुद्धिजमको सूत्र उपयोगी हुने तर्क राखेका थिए।

कार्यक्रममा चाइन एसोसिएसन फर फ्रेन्डसीपका अध्यक्ष तथा पूर्वमन्त्री चेन जेमिन प्रमुख अतिथि थिए। चीन, नेपाल र भारतका विज्ञहरुले बुद्धिजम सम्बन्धी २० वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .