ad ad

राजनीति


विराटनगरमा उम्मेदवारको उल्झन : कांग्रेसलाई गुट मिलाउनै सकस, हेबिवेट खोज्दै एमाले

विराटनगरमा उम्मेदवारको उल्झन : कांग्रेसलाई गुट मिलाउनै सकस, हेबिवेट खोज्दै एमाले

फाइल फोटो


सुमन पुरी
बैशाख ११, २०७९ आइतबार २२:५२, मोरङ

प्रदेश १ स्थित विराटनगर महानगरपालिकामा मनोनयन दर्ताको पहिलो दिन गुज्रिँदा पनि दलहरुले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। 

प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा चर्को गुटबन्दीका कारण कांग्रेसले मेयरबारे निर्णय गर्न नसकेर सकसमा परेको छ। 

महानगरमा गठबन्धन गरेर जाने निर्णयसँगै प्रमुख पद नलेपी कांग्रेसको भागमा परेको छ। कांग्रेसको भागमा प्रमुख पद परेपनि आकांक्षी धेरै हुँदा उम्मेदवारको टुंगो लगाउन समस्या परेको हो। 

कांग्रेस कार्य सम्पादन समितको पटक पटक बसेको बैठकले उमेद्वार तोक्न नसक्दा निर्णय गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिइएको छ। 

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूका अनुसार महानगरको टिकट वितरणमा विवाद भएपछि  देउवा एक्लैले टिकट तोक्ने अधिकार लिएका छन्। 

आइतबार घोषणापत्र सार्वजनिक भएपछि बसेको कार्यसम्पादन समितिको बहुमतबाट देउवालाई संसदीय समितिको अधिकार मिलेको हो।

कांग्रेसका तर्फबाट महानगरको मेयर बन्न नेताहरु अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली र नागेश कोइराला आकांक्षी छन्। 

यहीअनुसार तल्लो तहबाट नाम सिफारिस भए पनि गुटका कारण फाइनल नाममा सहमति हुन नसकेको हो। 

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आइतबार र सोमबारका लागि तय गरिएको छ। 

मनोनयन दर्ता गर्ने एक दिन कट्दा समेत कांग्रेसले मेयरको उमेद्वार छनौट गर्न नसक्दा गठबन्धनमा समेत प्रभाव परेको छ। 

महानगरको मेयर बन्न आकांक्षीमध्ये अर्याल देउवानिकट नेता हुन्। पराजुलीलाई फेरि मेयरको टिकट दिलाउन कांग्रेस नेता कृष्ण सिटौलाले अड्डी कसेका छन्। 

यस्तै नागेश कोइरालाका लागि शेखर कोइरालाले लविङ गरेका छन्। कोइराला परिवारका सदस्य समेत रहेका नागेशका लागि शशांक कोइरालाले समेत अडान लिएको कांग्रेस नेताहरु बताउँछन्। 

एमालेमा हेबिवेटको खोजी 
उता नेकपा एमालेले भने महानगरको उम्मेदवार बनाउने विषयमा हेबिवेट र प्रोफाइल हेरिरहेको छ। 

एमाले स्रोतका अनुसार कांग्रेसले कसलाई उमेद्वार बनाउँछ, त्यसैलाई हेरेर प्रमुख पदको टिकट दिने तयारी एमालेले गरेको छ। 

मेयरको उमेद्वार बन्न महानगर अध्यक्ष सागर थापा, प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री जीवन घिमिरे, मोरङ एमाले उपाध्यक्ष बाबुराम कार्की आकांक्षी छन्। 

यस्तै पूर्व मन्त्री लालबाबु पण्डितले समेत आकांक्षा देखाएका छन्। पछिल्लो समय गुरु बरालले समेत आकांक्षा देखाएको चर्चा छ।

कांग्रेसले अमृत अर्याल या डिला संग्रौलालाई उमेद्वार बनाए जीवन घिमिरे, लालबाबु या गुरु बराललाई मेयरको उमेद्वार बनाउने तयारी एमालेको रहेको स्रोतले जनाएको छ। 

एमाले प्रचार प्रदेश १ का प्रचार विभाग प्रमुख घनश्याम खतिवडाले आन्तरिक तयारी भइरहेकाले अब टुंगो लाग्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .