ad ad

राजनीति


सिन्धुपाल्चोकमा माओवादी–समाजवादी तालमेल, एमाले र कांग्रेस एक्लाएक्लै!

सापकोटा र बस्नेतको टक्करले जुटेनन् सत्तारुढ दल
सिन्धुपाल्चोकमा माओवादी–समाजवादी तालमेल, एमाले र कांग्रेस एक्लाएक्लै!

फाइल फोटो


रुपक चौलागाईं
बैशाख १०, २०७९ शनिबार २०:५४, काठमाडौँ

सत्ता गठबन्धन दलहरुबीच स्थानीय तह भागबन्डामा सहमति नजुटेपछि सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त हुने भएको छ। 

केन्द्रबाट पाँच दल मिलेर जाने सैद्धान्तिक सहमति भए पनि सिन्धुपाल्चोकका गठबन्धन दलबीच ‘भागवण्डा’ मिल्न नसक्दा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो। 

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये कांग्रेसले ८ वटामा आफ्नो दाबी राखेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभएका हुन्। 

निर्वाचन आयोगले भोलि (आइतबार) र पर्सि (सोमबार) का लागि उम्मेदवारी मनोनयन मिति तोकेको छ। यद्यपि अहिलेसम्म गठबन्धनका दलहरु (कांग्रेस, माओवादी र समाजवादी)बीच छलफल नै हुन सकेको छैन। 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज माधव सापकोटा ‘सुवोध’ का अनुसार शनिबार दिउँसोसम्म कांग्रेसले सहमति जुट्ने गरी छलफल अघि बढाएको छैन। कांग्रेसले बेवास्ता गरे सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त हुने सापकोटा बताउँछन्।

उता, सिन्धुपाल्चोक कांग्रेस सभापति जंगबहादुर लामा भने ८ स्थानीय तह राखेर बाँकी ४ वटामा माओवादी केन्द्र र समाजवादीलाई दिनेगरी सहमति हुनसक्ने बताउँछन्। 

‘उहाँहरु ४ र ८ मा तयार भए हामी अझै गठबन्धनकै पक्षमा छौं,’ लामाले नेपालखबरसँग भने, ‘अब उहाँहरु (माओवादी केन्द्र र एकीकृत समाजवादी) आउनुभएन भने हामी सिंगल उम्मेदवार लिएर अघि बढ्छौँ।’

माओवादी र समाजवादी मिल्ने
सत्ता गठबन्धनका पाँचमध्ये सिन्धुपाल्चोकमा ३ दल माओवादी, कांग्रेस र एकीकृत समाजवादी छन्।

 कांग्रेसले बहुमत पालिका दाबी गरिरहँदा माओवादी र एकीकृत समाजवादी बराबर हैसियतमा भागबन्डा हुनुपर्ने अडानमा छन्।

यस्तो अवस्थामा नाटकीय परिवर्तन नभएसम्म गठबन्धन दल मिल्ने सम्भावना लगभग टुटेको छ। ​

सिन्धुपाल्चोकबाटै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रीय सदस्य युवराज दुलालका अनुसार अहिले जिल्लास्तरमा कुनै छलफल भएको छैन। 

‘कांग्रेसले अनिच्छा देखाएपछि हामीले पनि बराबरीको सिद्धान्तमा एलाइन्स गर्ने हो, नभए नगर्ने भनेर भनेका हौं,’ दुलालले नेपालखबरसँग भने।

एकीकृत समाजवादी जिल्ला नेता सोम सापकोटा पनि कांग्रेस लचिलो नभए माओवादी र आफूहरु तालमेल गर्ने बताउँछन्। 

‘पछिल्ला चरणमा कांग्रेस  गठबन्धन गर्दिनँ भनेको अवस्था पनि छैन,’ सापकोटाले भने, ‘गठबन्धनबाट भागिरहेको अवस्था पनि छैन। त्यसो हुँदा समाजवादी र माओवादीबीच जिल्लाभर गठबन्धन हुन्छ।’

जिल्ला इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सुवोध कांग्रेस सहमतिमा नआएपछि माओवादी र समाजवादीबीच तालमेल हुने बताउँछन्। 

‘अब सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘माओवादी–समाजवादी, एमाले र कांग्रेसबीच हुने देखियो,’ सापकोटाले भने। 

कांग्रेस एमालेसँग नजाने 
माओवादी र समाजवादीले जिल्ला तहका नेताहरुले कांग्रेसले एमालेसँग एलायन्स गर्नेगरी छलफल गरेको आरोप लगाएका छन्। यद्यपि यो आरोपमा सत्यता नभएको कांग्रेस सभापति लामाले बताए।

‘हामी कुनै पनि स्थानीय तहमा एमालेसँग मिलेर जाँदैनौं। बरु, गठबन्धनसँगै मिलेर जान्छौं,’ लामाले भने, ‘सबै स्थानीय तहमा भोलि नोमिनेशन दर्ता गर्छौं। केन्द्रले पठाएको पत्रअनुसार मिल्न तयार छौं, गठबन्धनबाहिर गएर कोहीसँग तालमेल गर्दैनौं।’

त्यसो त, प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले समेत जिल्ला नेताहरुलाई गठबन्धन नतोड्न भनेका छन्। तर, भागबन्डामा लचिलो हुन नसक्ने भन्दै कांग्रेस जिल्ला नेताहरु एक्लाएक्लै नोमिनेशन दर्ता तयारीमा छन्। 

अग्नि र मोहनको टक्कर
सिन्धुपाल्चोकका स्थानीय नेताहरु दुई ‘हेभिवेट’ नेताको पेचिलो प्रतिस्पर्धाका कारण सिन्धुपाल्चोकको गठबन्धनमा समस्या आएको स्वीकार गर्छन्। 

जिल्लाबाट माओवादी नेतृत्वसम्म प्रभाव पार्ने एक नेताले भने, ‘एमालेलाई खासमा गठबन्धन भत्काउन पर्ने थियो । मोहन बस्नेतलाई पनि एमाले र माओवादी मिल्लान् भन्ने डर सँगसँगै थियो।’

ती नेताका अनुसार माओवादी केन्द्र अब ‘सिंगल सेट’कै आधारमा उम्मेदवारी तय गर्नेगरी अघि बढेको छ।

समाजवाजीका जिल्ला अध्यक्ष सापकोटा पनि कांग्रेस र एमालेबीच निर्वाचनका संघारमा भएका आन्तरिक छलफलका कारण गठबन्धनमा समस्या आएको बताउँछन्। 

‘कांग्रेस र एमालेबीच छलफल भयो,’ सापकोटाले भने, ‘यो छलफल हुन्छ भने कांग्रेसलाई गठबन्धनबाट बाहिर पठाउनुको विकल्प छैन। हामी अहिले पनि आशावादी छौं, गठबन्धन तीनवटा पार्टीबीच हुन्छ।’

त्यस्तो नभए माओवादी र समाजवादी एलायन्स गरेर निर्वाचनमा सहभागी हुने उनले बताए। 

त्यसो त, ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट सभामुख समेत रहेका अग्निप्रसाद सापकोटा र कांग्रेस नेता मोहनबहादुर बस्नेतबीच पेचिलो प्रतिस्पर्धा भएको थियो।

सभामुख समेत रहेका सापकोटा अहिले पनि जिल्लातहको राजनीतिमा प्रभाव जमाइरहेका हुन्छन्। उता, बस्नेत कांग्रेसको केन्द्रदेखि नै राम्रो सम्बन्ध बनाएर जिल्लामा आफू केन्द्रित राजनीतिको बलियो आधार बनाउने गरी लागेका छन्। 

०७४ मा सिन्धुपाल्चोक
०७४ को निर्वाचनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ७ वटामा नेकपा एमाले, ३ कांग्रेस र २ माओवादीले जितेको थियो। 

दुई नगरपालिकासहित पाँच वटा गाउँपालिकामा एमाले विजयी भएको थियो। बाह्रबिसे र मेलम्ची दुईवटा नगरपालिका र जुगल, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङपाल, बलेफी र लिसंखुपाखर गाउँपालिकामा एमालेले जित निकालेको थियो।

त्यस्तै, माओवादी केन्द्रले एक नगरपालिका र एक गाउँपालिकामा जित निकालेको थियो। चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिकामा जित निकालेको थियो। 

नगरपालिकामा जितबिहीन भएको कांग्रेसले तीनवटा गाउँपालिका हात पारेको थियो। इन्द्रावती, सुनकोशी र हेलम्बु गाउँपालिकामा कांग्रेस विजयी भयो।

कम्युनिस्ट त्यस्तै हुँदा रहेछन्
कांग्रेस सभापति लामाले कम्युनिस्टहरूको ‘ग्राउन्ड’ राम्रो भएको दाबी गरे। उनले भने, ‘उहाँहरुको ग्राउन्ड त्यति छैन, उहाँहरुलाई चाहेको जति नदिएपछि कम्युनिस्टहरूको भन्ने कुरा नै त्यस्तै हुँदो रहेछ।’

स्थानीय विषयमा थप प्रष्ट पार्दै लामाले नेपालखबरसँग भने, ‘होइन भने, हामीले बसौं भनेको हो, संख्यामा नमिलेपछि नबसौँ भनेर उहाँहरुले भन्नुभयो। कुनै स्थानीय तहमा एमालेसँग मिलेर जाँदैनौं। बरु, मिल्यो भने गठबन्धनसँगै सम्भावना छ।’

उनले एमालेसँग मिलेर कांग्रेसले उम्मेदवारी नदिने जिकिर गरे। ‘हाम्रो पार्टीको स्थानीय तहमा भोलि सबैतिर नोमिनेशन दर्ता गर्छौं,’ उनले भने, ‘केन्द्रको पत्रअनुसार मिल्न तयार छौं, गठबन्धनबाहिर गएर कोहीसँग तालमेल गर्दैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .