ad ad

राजनीति


एमालेबाट तीन महानगर प्रमुखका उम्मेदवार ‘पक्का’

काठमाडौंसहित अन्यमा एकभन्दा धेरै दाबेदार
एमालेबाट तीन महानगर प्रमुखका उम्मेदवार ‘पक्का’

फाइल फोटो


रुपक चौलागाईं
बैशाख ८, २०७९ बिहिबार १८:२, काठमाडौँ

देशभरका ६ वटा महानगरपालिकामध्ये ३ वटामा नेकपा एमालेबाट प्रमुखमा उठ्ने उम्मेदवार तय भएका छन्। 

चितवनको भरतपुर, ललितपुर र पर्साको वीरगन्ज महानगरपालिकामा तल्लो कमिटीबाट सर्वसम्मत आएका नामलाई एमालेको सचिवालय बैठकले सदर गरेको हो। 

ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सरावगी र भरतपुर महानगरपालिकामा विजय सुवेदी एमालेबाट मेयरमा उठ्ने भएका छन्। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले यी ३ वटा महानगरमा एक एकजनाको नाम सिफारिस भइ आएकाले उनीहरुलाई नै सदर गरिएको बताएका छन्। 

‘ती महानगरपालिकाको त तय भयो नि?’, भन्ने प्रश्नमा गुरुङले भने, ‘त्यो भनिराख्नु पर्दैन। बुझ्दा पनि हुन्छ। तर, औपचारिक निर्णय भएको छैन।’

उनका अनुसार भरतपुर महानगरपालिकाको प्रमुख विजय सुवेदी, वीरगन्जमा जनता समाजवादीबाट आएका वर्तमान मेयर विजय सरावगी र ललितपुर महानगरपालिकामा २०७४ मा झिनो अन्तरले कांग्रेससँग पराजित हरिकृष्ण ब्यन्जनकारको मात्रै नाम सिफारिस भएको छ। 

आजको बैठकमा देशभरका महानगर र उपमहानगरका उम्मेदवारको लागि सिफारिस भएका नाम महासचिव शंकर पोखरेलले पढेर सुनाएका थिए। 

यसबारे औपचारिक निर्णय आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकले गर्ने गुरुङले जानकारी दिएका छन्। उनका अनुसार १० गते दिउँसो ३ बजे अध्यक्ष ओली निवास बालकोटमा सचिवालय बैठक बस्नेछ। 

बालकोट बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले भने, ‘उम्मेदवारहरूबारे पार्टीका महासचिवले बैठकमा जानकारी गराउनुभएको छ। त्यसबारे वैशाख १० गते बस्ने बैठकबाट ६ वटा महानगर र उपमहानगरको उम्मेदवारबारे निर्णय गर्छौं।’

हरिकृष्ण ब्यन्जनकार
ललितपुरबाट सिफारिस भएका ब्यन्जनकार ०७४ को निर्वाचनमा ३२६ मतान्तरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनसँग पराजित भएका थिए। 

हरिकृष्णले दुईटा वडाको मत तलमाथि भएको भन्दै त्यतिबेला पुनःमतगणनाका लागि निवेदन दिएका थिए। तर, निर्वाचन अधिकृतले नमानेपछि उनी महर्जनसँग ३२६ मतले पराजित भए। 

महर्जनले २४ हजार ६४२ मत पाएर ललितपुरको मेयर निर्वाचित हुँदा ब्यन्जनकारले २४ हजार ३१५ मत ल्याएका थिए। पुनः मतगणनाको माग लिएर ब्यन्जनकार अदालत पनि गए । तर अदालतले पनि उनको रिट खारेज गरेको थियो।

विजय सरावगी
सरावगी २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। उनले १९ हजार ३९३ मत पाएर मेयरमा विजयी भएका थिए।

गत २८ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिने आश्वासनसहित उनलाई एमाले प्रवेश गराएका थिए। टिकट पाउनकै लागि उनी एमाले प्रवेश गरेको चर्चा चलेको थियो। 

उनीबाहेक वीरगन्जको मेयरमा अन्य कसैको पनि दाबी नरहेपछि एमालेबाट सर्वसम्मत उम्मेदवार भएका छन्। सरावगी ११ जना वडाध्यक्ष र दुई महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेका थिए।

विजय सुवेदी
०७४ को निर्वाचनमा पनि भरतपुर महानगरपालिकाको मेयर बन्ने आकांक्षा देखाएका विजय सुवेदी बागमती प्रदेशसभा सदस्य हुन्। 

एमालेबाट भरतपुर महानगरपालिकामा सुवेदी एक्लैको सिफारिस भएसँगै उनी मेयरको उम्मेदवार हुने पक्का भएको छ। 

०७४ को निर्वाचनमा भरतपुरको मेयर बन्न नपाएका सुवेदीलाई एमालेले चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’को उम्मेदवार बनाएको थियो। 

प्रदेशसभामा निर्वाचित भएका सुवेदी केही समय बागमती प्रदेशको मन्त्री समेत बनेका थिए। २०७४ मा एमालेबाट उठेका देवी ज्ञवाली मतगणनामा अनेक झमेला र विवादबीच माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .