राजनीति


बाँकेमा जसपाले छाड्यो गठबन्धन, देशभर पाँच दलको तालमेलमा गडबडी

बाँकेमा जसपाले छाड्यो गठबन्धन, देशभर पाँच दलको तालमेलमा गडबडी

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०७९ बिहिबार १८:०, रुपन्देही

बाँकेमा जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ। 

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारी कांग्रेसले नछोडेपछि जसपा गठबन्धनबाट अलग भएको हो। 

जसपाले कांग्रेस र माओवादी सम्मिलित गठबन्धन छाडेपछि एकल निर्णय गर्दै चारवटा पालिकामा उम्मेदवार पनि तय गरेको छ। 

जसपा नेता मोहम्मद इस्तियाक रायनले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेपछि अब त्यसभित्रकै विचार मिल्ने दलसँग तालमेल गर्ने बताएका छन्। 

'गठबन्धनकै दलसँग तालमेल गर्छौँ। बाँकेको हकमा हामीले गठबन्धन छाड्यौँ', उनले भने, 'यो देशभर पनि जान सक्छ। हाम्रो पार्टीलाई फाइदा हुँदैन भने गठबन्धन आवश्यक छैन।' 

जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित ४ पालिकामा उम्मेदवार पनि तय गरेको छ। जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा कमरूद्विन रायलाई उमेदवार बनाएको छ। 

'हामी यी ४ पालिकाबाहेक अरूमा गठबन्धन गर्न सक्छौँ', नेपालगञ्जमा मेयरका उम्मेदवार रायले भने, 'यहाँ हाम्रो उमेदवार बनाएर केन्द्रबाट परिपत्र भइसकेको छ।'

पाँच दलीय गठबन्धन छाडेपछि जसपाले डुडुवा गाउँपालिकामा भण्डारीलाल यादव, जानकी गाउँपालिकामा राजीव बर्मा र नरैनापुरमा इस्तियाक अहमद साहलाई उमेदवार बनाएको छ।

बाँकेबाट जनता समाजवादी गठबन्धनबाट बाहिरिएपछि अब सात बुँदे सहमतिअनुसार गठबन्धनकै दलसँग तालमेल हुने नेता रायनले बताएका छन्। 

नेपालगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०७४ मा विजयी मेयर धवल शमशेर जबरा नउठ्ने भएपछि मेयरमा कांग्रेस र जसपाबीच प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ। 

जसपाले मागेको नेपालगञ्जको मेयर कांग्रेसले नदिने बताएपछि देशभर गठबन्धन नरहने चेतावनी पनि रायनले दिएका छन्। 

'यसले अब देशभर गठबन्धन टुट्ने जोखिम बढेको छ', उनले भने, 'अब हामी पाँच दलीय गठबन्धन छाडे पनि विचार मिल्ने एउटा दलसँग तालमेल गर्न सक्छौँ।'

जसपाले कांग्रेससँग वीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, कांग्रेसले यसअघि जितेको कलैया उपमहानगरपालिका मागेको थियो। त्यस्तै अर्को एउटा उपमहानगर दिन पनि जसपाले भनेको थियो। 

'गठबन्धनकै दलसँग तालमेल गर्छौँ। बाँकेको हकमा हामीले गठबन्धन छाड्यौँ। यो देशभर पनि जान सक्छ। हाम्रो पार्टीलाई फाइदा हुँदैन भने गठबन्धन आवश्यक छैन', रायले अगाडि भने।  

स्थानीय तह र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय पाँच दलले गरेकाले विचार मिल्ने नजिकको सम्भावना माओवादी केन्द्रसँग तालमेल हुन सक्ने संकेत उनले गरे। 

बाँकेको हकमा एमालेले जितेका चारवटा पालिकामा गठबन्धन गरौँ भन्दा कांग्रेसले नमानेको उनले बताए। 

'पहाडमा हाम्रो संगठन नै छैन, त्यहाँ कांग्रेसले जानै नदिने', उनले भने, 'तराईका हाम्रो जनाधार भएका ठाउँमा पनि कांग्रेसले नछाड्ने भएपछि हामी बाहिरिएका हौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad