ad ad

राजनीति


इटहरीमा सत्ता गठबन्धन : कांग्रेस छोड्दै नछोड्ने, समाजवादी झुक्दै नझुक्ने

मेयरमा समाजवादीको दाबीले कांग्रेसमा हलचल
इटहरीमा सत्ता गठबन्धन : कांग्रेस छोड्दै नछोड्ने, समाजवादी झुक्दै नझुक्ने

फाइल तस्बिर


कृष्ण बहाब
चैत ३०, २०७८ बुधबार १३:२९, इटहरी

प्रदेश १ का का दुई उपमहानगरपालिका सुनसरीमै छन्। धरान र इटहरी उपमहानगरपालिका मोरङको विराटनगर महानगरपालिकापछि बढी जनसंख्या भएका सहर हुन्। 

यी दुई उपमहानगरमध्ये धरानको मेयर कांग्रेसका तिलक राई छन्। इटहरीको मेयरमा एमालेका द्वारिकलाल चौधरी।

२०७४ को निर्वाचनमा धरानमा एमालेले मेयर जितेको थियो। त्यहाँका मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचन भयो। र, कांग्रेसका तिलक राई मेयर बने। धरानमा मेयर कांग्रेसबाट प्रतिनिधित्व गरे पनि उपमेयरसहित १३ वडाअध्यक्ष एमालेबाट प्रतिनिधित्व गर्दछन्।

इटहरीमा समीकरण अलिक फरक छ। इटहरी उपमहानगरमा २० वटा वडा छन्। जसमा कांग्रेसबाट जितेका १२ जना वडाध्यक्ष छन्। ८ जना वडाध्यक्ष एमालेबाट प्रतिनिधित्व गर्छन्।

१२ वटा वडामा जिते पनि कांग्रेसबाट प्रतिस्पर्धा गरेकाहरु मेयर र उपमेयरमा  पराजित भए। मेयर पदमा एमालेका द्वारिकलाल चौधरीले २२ हजार ६८९ मत ल्याउँदा कांग्रेसका रोहित प्रसाईले १९,९८५ मत मात्र ल्याएका थिए। 

त्यसैगरि, उपमेयरमा एमालेकी लक्ष्मी गौतमले २१ हजार ८४२ मत ल्याउँदा कांग्रेसकी विमला ढकालले १८ हजार ३५२ मत ल्याइन्।

कांग्रेस र समाजवादीको आ–आफ्नै दाबी!
२०७४ सालको निर्वाचनमा मेयर र उपमेयर पदमा दोस्रो भएको कांग्रेसको यो पटकको निर्वाचनको रणनीतिमा धेरैको चासो छ। २०७४ को राजनीतिक पोजिसन २०७९ सम्म धेरै परिवर्तन भएकोले कांग्रेसको उम्मेदवारमा चासो बढेको हो। एमाले विभाजित भएकाले पनि कांग्रेसतर्फ धेरैको नजर छ। 

एमाले विभाजित भएको अवस्थामा पनि अहिले कांग्रेस चुनावी मैदानमा एक्लै छैन। देशभर गठबन्धन गरेर जाने योजना सत्ता पक्षका पाँच दलले बनाइसकेका छन्। इटहरीमा समेत यसको प्रभाव देखिएको छ। 

इटहरीको मेयर र उपमेयरमा गठबन्धनका दुई दल कांग्रेस र एकीकृत समाजवादीबीच तानातान सुरु भएको छ। 

अहिले इटहरी कांग्रेस र समाजवादीमध्ये कसले गठबन्धनबाट मेयरको टिकट ल्याउला भन्ने चर्चा छ। कांग्रेसबाट अहिले मेयर पदमा हेमकर्ण पौडेल, रोहित प्रसाई र भीम पौडेल चर्चामा छन्। 

कांग्रेसबाट तीन जनाको दावेदारी देखिँदा इटहरी उपमहानगरको मेयर पद नेकपा एकीकृत समाजवादीले पाउनुपर्ने आवाज उठाइरहेको छ। समाजवादीका इटहरी उपमहानगर कमिटी अध्यक्ष गणेश बुढाथोकीले मेयरको टिकट आफूहरुले लिने दाबी गर्छन्।

सुनसरीका १२ वटा स्थानीय तहमध्ये समाजवादीले इटहरी उपमहानगरमा मेयरको दाबी गर्ने बुढाथोकी बताउँछन्। ‘इटहरीको मेयर सहित केही वडा हाम्रो हुनु पर्छ भन्ने हाम्रो बटमलाइन हो’, बुढाथोकीले भने।

बुढाथोकीले भने जस्तै अहिले समाजवादीका नेता केशवकुमार विष्ट गठबन्धनको मेयर हुने चर्चा छ। राष्ट्रिय खेलकुद परिषद्को पूर्व सदस्य सचिवसमेत रहेका विष्ट अहिले समाजवादीमा केन्द्रीय सदस्यसहित खेलकुद विभाग इन्चार्ज छन्।  

कांग्रेसको इटहरी उपमहानगर कमिटीले गत स्थानीय तह निर्वाचनमा हारेको वडामा मात्रै गठबन्धन गर्ने भएको छ। हारेको वडामा मात्रै गठबन्धन गर्ने विषयमा आइतबार बसेको कांग्रेस उपमहानगर कमिटी बैठकमा छलफल पनि चलेको थियो।

कांग्रेसले मेयर नछाड्ने
समाजवादीले गठबन्धनको तर्फबाट मेयरको टिकट माग गरेपछि कांग्रेसमा भने विरोध हुन थालेको छ। 

उपमहानगर कमिटीमै रहेका कांग्रेस पदाधिकारीहरूले नेकपा समाजवादीले टिकट पाउने हल्ला चल्न थालेपछि सार्वजनिक रूपमै विरोध गर्न थालेका हुन्।

सार्वजनिक रुपमा नै गठबन्धनको विरोध सुरु भएपछि आइतबार कांग्रेस उपमहानगर समितिको बैठकमा यो विषयमा कुरा भयो। 

बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गठबन्धनको विरोध नगर्ने तर इटहरीको मेयर–उपमेयर नछोड्ने बताए।

‘साथीहरूले गठबन्धनबारे फेसबुकमा टीकाटिप्पणी सुरु गर्नु भएको रहेछ, मैले पनि हेरेँ’, बैठकमा ढुङ्गानाले भने, ‘नलेख्नु पनि भन्दिन साथीहरूलाई म। तर कुरा के हो भने इटहरीमा हामीले जितेका १२ वटा वडा र मेयर–उपमेयर अरूलाई दिन सक्दैनौँ।’

गत निर्वाचनमा इटहरीका २० वडा मध्ये १२ वडामा कांग्रेसले जित निकालेको थियो। कांग्रेसले तिनै १२ वडा र मेयर, उपमेयर अरूलाई दिएर गठबन्धन नहुने बैठकमा ढुङ्गानाले आश्वस्त पारे।

यता पालिकास्तरको गठबन्धन संयन्त्रमा रहेका इटहरी कांग्रेस सभापति हेमकर्ण पौडेलले गठबन्धनबारे अन्तिम धारणा तत्काल बनिनसकेको बताए। नेपालखबरसँगको कुराकानीमा पौडेलले वस्तुगत अवस्थाको आधारमा गठबन्धन गर्ने बताएका छन्।

‘हामी गठबन्धनको विपक्षमा छैनौँ। तर, गठबन्धनभित्रका पार्टीहरूको वस्तुगत अवस्थाका आधारमा मात्रै निर्णय लिन्छौँ’, पौडेलले भने, ‘अब हामीले यही विषय केन्द्रमा लेखेर पठाउँछौ, त्यसपछि के निर्णय आउला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .