राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीबीचको एकता जहाँको त्यहिँ रहेको छ।
दुवै पार्टीका प्रतिनिधिहरुले तत्काल एकताको कुनै सम्भावना नदेखिएको बताएका छन्।
गत पुस दोस्रो साता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र तथा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवल शमशेर राणाबीच भएको भेटवार्ताका पछि दुई पार्टीबीच एकता हुन लागेको समाचार बाहिरिएको थियो।
उक्त भेटपछि राप्रपा महामन्त्री राणाले समान विचार मिल्नेसँग एकता गर्ने पार्टीको नीति अनुरुप छलफल भएको बताएका थिए। राप्रपाले राणाको नेतृत्वमा पार्टी एकीकरण समिति समेत गठन गरेको थियो।
राप्रपाले संघीयता खारेजी, हिन्दु राज्य स्थापना र राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै आएको छ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि ‘विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने माग अघि बढाएका थिए। उक्त दस्तावेजलाई पार्टीले समेत अनुमोदन गरेको थियो।
तर भेटका क्रममा अध्यक्ष मिश्रले एकताका लागि पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुनुपर्ने माग राखेपछि सम्वाद अघि बढ्न सकेको थिएन। उक्त कुरामा राप्रपाका शीर्ष नेतृत्व सकारात्मक नभएपछि एकताको कुरा जहाँको त्यहिँ अड्किएको छ।
‘बजारमा अतिरञ्जित कुराहरु नै आइरहेको छ। पछिल्लोपटक भन्दा कुरा अघि बढेको छैन्,’ विवेकशील साझाका प्रवक्ता शरद पाठकले भने, ‘नयाँ शक्ति, नयाँ सोचको पार्टी निर्माण गर्ने हो भने एकीकरणको बारेमा वार्ता गर्न सकिन्छ भनेर त्यसबेला भनिएको हो। हामी त्यो बटम लाइनमा क्लियर छौं। त्यसपछि अनौपचारिक रुपमा कुरा भएपनि कुरा अघि बढेको छैन।’
‘उहाँहरुलाई नाम र चुनाव चिन्ह परिवर्तन गर्न तयार भएर आउन गाह्रो होला तर हाम्रो त्यो बटम लाइन हो,’ प्रवक्ता पाठकले थपे, ‘त्यसपछि बल्ल पार्टीको मार्ग निर्देशक सिद्धान्त, राजनीतिक मुद्दामा छलफल गर्छौ। बटमलाइन बनाएकै कुरामा उहाँहरु क्लियर नभएकाले एकता अघि बढ्ने सम्भावना तत्काल देखिन्न।’
राप्रपाका महामन्त्री तथा पार्टी एकिकरण समितिका सदस्य डा। धवल शमशेर राणाले मूलभूत कुरा नै नमिलेकाले एकताका प्रक्रिया अघि नबढेको बताए।
‘साझासँग हाम्रो कुरा मिलेन। उहाँ आफ्नो ठाउँमा हुनुहुन्छ। हामी आफ्नो ठाउँमा छौं,’ राणाले भने, ‘हाम्रो मूलभूत कुरा नै मिलेन। सम्भावनाका ढोकाहरू छँदैछन्। पछि सहकार्य हुनसक्ला तर अहिलेलाई कुरा मिलेन।’
Shares

प्रतिक्रिया