राजनीति


देशलाई माया गर्ने जनशक्ति चाहियोः शिक्षामन्त्री

देशलाई माया गर्ने जनशक्ति चाहियोः शिक्षामन्त्री

नेपालखबर
असार ७, २०७६ शनिबार १०:२०,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन्।

दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए।

जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उनले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताए। ‘सबैले उच्चशिक्षा लिन्छन् भन्ने छैन, तर अब माध्यमिक तह उत्तीर्ण भएर बाहिर निस्किँदा सीप सिकेर श्रम बजारमा आउनसक्ने वातावरण मिलाउनुपर्छ।’

शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा मन्त्रीले पोखरेलले अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको र यो गलत भएको बताए।

‘विद्यालय नसकिँदै युरोप जाने सपना पाल्ने जनशक्ति हैन, देशको माटोलाई माया गर्ने, स्वाधीन, स्वतन्त्रताको रक्षाका लागि काम गर्ने जनशक्ति उत्पादन आवश्यक छ’, उनले भने, ‘प्रति वर्ष पाँच हजार जनशक्ति उत्पादन गर्ने गरी गत वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयलाई विस्तार गर्दै लैजाने हो।’

यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोख्रेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताए। सरकारले प्रत्येक प्रदेशमा एक÷एकवटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरु गरिसकेको उनले बताए।

बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

विभिन्न विषयगत क्षेत्रमा वार्षिक झण्डै पाँच हजार जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित २०७५ भदौदेखि सञ्चालनमा आएको उक्त शिक्षालय भवनको शिलान्यास भएको छ।

घोराही उपमहानगरपालिका–१७ स्थित आधारभूत विद्यालय कर्जाहीले प्रदान गरेको साँढे दुई बिघा जमीनमा भवन निर्माण हुने शिक्षालयका प्राध्यापक यादव सुवेदीले बताए। शिक्षालयको विकासका लागि रु एक अर्ब खर्च गर्नेगरी गुरुयोजनासमेत निर्माण भएको छ।

यो वर्ष रु पाँच करोड खर्च गरेर भवन बन्दैछ। १५ लाखको भवन निर्माण भइसकेको छ। शिक्षालयलाई पूर्वाधारयुक्त बनाउनका लागि अहिलेको जमिनले मात्रै नपुग्ने भएकाले थप जमिनको खाजी गर्न मन्त्री पोखरेलले आग्रह गरे। पूर्वाधार निर्माणका लागि शिक्षालयलाई आवश्यक पर्ने जमीनको व्यवस्था गर्न घोराही उपमहानगरपालिकाले महत्वपूर्ण सहयोग गर्ने नगरप्रमुख नरुलाल चौधरीले बताए।

प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय बन्दै

सरकारले यही वर्षदेखि सातै वटा प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय निर्माणको प्रक्रिया शुरु गरेको छ । विशेष क्षमता भएका बालबालिका आवासीय रुपमा अध्यायन गराउने गरी सरकारले पहिलो चरणमा सातै वटा प्रदेशमा विशेष शिक्षा आवासीय विद्यालय निर्माण शुरु गरेको हो ।

यसै सन्दर्भमा प्रदेश नं ५ स्तरीय विशेष शिक्षा आवासीय विद्यालयको दाङको घोराहीमा शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका– १४ बालमन्दिर आधारभूत विद्यालयमा विसं २०७१ देखि बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्दै आएका छन्। तर, भौतिक पूर्वाधार र दरबन्दीको कारण सामान्य बालबालिका सरह अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकासहित प्रदेशका त्यस्ता बालबालिकालाई अध्ययन गराइने भएको छ।

चालु आर्थिक वर्षभित्रै खर्च गर्ने गरी एक करोड विनियोजन भएको र यो आयोजना बुहवर्षीय रुपमा सञ्चालन हुने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए। अझै पनि देशमा तीन लाख बालबालिका शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै उनले ती बालबालिका अपाङ्ग, गरिब, दलित र छात्रा रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .