केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको विषय टुंग्याउने गरि पार्टीका अन्य नेताहरुसँग परामर्श तीव्र पारेका छन्।
केही मन्त्रीलाई हटाएर तिनका ठाउँमा नयाँ चयन गर्ने र अन्य केहीको जिम्मेवारी फेरबदल गर्दै मन्त्रिमन्डलको पुनर्गठन गर्न लागिएको हो। प्रधानमन्त्री तथा पार्टीका अन्य शीर्ष नेताहरुसँग सम्पर्कमा रहेका नेताहरुले प्रधानमन्त्री ओलीले मंगलबार नै पुनगर्ठनको विषय टुंग्याउन चाहेको बताएका छन्।
‘मंगलबार नै पुनर्गठन गर्ने गरि प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु अन्तिम चरणको परामर्शमा हुनुहुन्छ,’ नेकपाका एक नेताले नेपालखबरलाई बताए।
यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मंगलबार बिहान फेरि एकपटक बसेर अन्तिम गृहकार्य गर्ने तयारी छ।
नेकपाको आइतबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्ने सैद्धान्तिक सहमति दिएपछि त्यसयता शीर्ष नेताहरुबीच यसबारे थप सघन वार्ता र समझदारी भएको स्रोतहरुले जनाएका छन्।
नेकपा सचिवालयका एक सदस्यका अनुसार सो बैठकमा केही सदस्यले पुनर्गठनको विषय धेरै नलम्ब्याउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा सोमबार भएको छलफलपछि प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी फेरबदल र अरु केहीलाई हटाएर पुनर्गठन गर्ने अन्तिम तयारी गरेका हुन्।
उद्योगमन्त्री मातृका यादव, कृषि विकास तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, खेलकुद मन्त्री जगत विश्वकर्माको हालसम्मको कार्यसम्पादन प्रति प्रधानमन्त्री असन्तुष्ट रहेकोले उनीहरु हटाइने सूचीमा रहेको स्रोतहरुको दाबी छ।
पुनर्गठनमा अर्थमन्त्री डा युवराज खतिवडा पनि हट्ने सूचीमा छन्। अन्य मन्त्रीहरुमा गोकर्ण विष्ट, लालबाबु पण्डित, बीना मगर र पद्मा कुमारी अर्याल लगायतलाई परिवर्तन गर्ने तयारी भएपनि उनीहरुबारे टुंगो लागिनसकेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, महेश बस्नेत, यज्ञराज सुनवार प्रस्तावित मन्त्रीहरुको सूचीमा छन्।
नयाँ मन्त्रीको चयन गर्दा ‘क्लष्टर’ मिलाइने गरी नाम तयार पारिएको बालुवाटार स्रोतले जनाएको छ।
‘प्रधानमन्त्रीले विभिन्न पक्ष, क्षेत्र र विषयहरु मिलाएर मन्त्री चयनको कुरा अगाडि बढाउनुभएको छ,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो।
सोमबार पनि प्रचण्डले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका थिए। सोमबार नै प्रचण्डले नेकपाका नेता माधवकुमार नेपाल र मन्त्रीहरु वर्षमान पुन र रघुवीर महासेठसँग खुमलटारमा छलफल गरेका थिए।
प्रचण्डनिकट एक नेताले मंगलबार मन्त्री पुनर्गठन प्रक्रिया अघि बढ्ने बताए। पार्टीमा नेताहरुको जिम्मेवारी समेत फेरबदल गर्नेगरी उक्त सहमति भएको उनले बताए।
मन्त्री पुनर्गठन भएलगत्तै पार्टीका केही नेताहरूको जिम्मेवारी पनि फेरबदल गरिनेछ।
नयाँ मन्त्री बन्ने सूचीमा रहेकाहरू आफूले रोजेको मन्त्रालय पाउन प्रयास गरिरहेका छन्। यसअघि केही समय गृह र उर्जामन्त्रीको अनुभव सम्हालेका जनार्दन शर्माले सामान्य प्रशासनमा रुचि देखाएका छन्।
यस्तै, यसअघि महिला तथा बालबालिका मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समालेकी नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि मन्त्रालयबारे पछिल्लो समय लचिलो बनेको स्रोतले बतायो।
पहिलो पटक मन्त्री बन्ने सूचीमा रहेका देवेन्द्र पौडेल यसअघि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकार थिए। यस्तै चर्चामा रहेका मध्ये सुरेन्द्र पाण्डे यसअघि माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए भने महेश बस्नेत सुशील कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए।
प्रधानमन्त्री ओली मन्त्रिमन्डल पुनर्गठन र पार्टी जिम्मेवारीसम्बन्धी सबै विषयहरु टुंगो लगाएर जतिसक्दो छिटो स्वास्थ्य उपचार गर्न जाने तयारीमा छन्। शनिबार आफ्नो मृगौलाको तेस्रोपटक डायलासिस गराएका प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपण गराउने तयारीमा छन्। त्यसका लागि ओली अमेरिका वा सिंगापुर जाने तयारीमा छन्।
ओलीले नेकपाको एकता प्रक्रियासँगै जोडिएर आएको पार्टीको जिम्मेवारी बाँडफाँटदेखि कार्यकारी नेतृत्व अर्का अध्यक्ष प्रचण्डलाई दिने विषय लगायत सबै कुरा आफु उपचारका लागि विदेश जानुअघि नै सल्टाउन चाहेको नेकपा नेताहरुले बताए। त्यसैले अहिले नेताहरूबीच बिभिन्न विषयमा तीब्र छलपफल भइरहेको हो। यसबारे सबै विषयमा निर्णय भने भइनसकेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया