ad ad

राजनीति


कालापानी विवादमा चीनले मध्यस्थता गर्न सक्छः चिनियाँ विज्ञ

कालापानी विवादमा चीनले मध्यस्थता गर्न सक्छः चिनियाँ विज्ञ

नेपालखबर
मंसिर २, २०७६ सोमबार १३:१४,

कालापानीमा नेपाल र भारतबीच रहेको सीमा विवाद समाधानका लागि चीनले मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने एक चिनियाँ प्राध्यापकले बताएका छन्।

नेपाल भ्रमणमा फुदान विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक लिन मिनवाङले यो विवादबारे चीनको कुनै अडान नरहेको बताए। उनले सीमा विवाद नेपाल र भारतले शान्तिपूर्ण छलफलबाट समाधान गर्नुपर्ने बताए।

‘च्याङ्ला भञ्ज्याङ (लिपुलेक)को बारेमा चीनको कुनै पनि अडान छैन। नेपाल र भारतले यसको शान्तिपूर्ण समाधान खोज्नु पर्छ,’ दक्षिण एसिया मामिला विज्ञ प्राध्यापक लिनले भने, ‘नेपालले चाहेमा भारतसँगको छलफलमा चीनले मध्यस्थकर्ताको भूमिका खेल्न सक्छ।’

उनले सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा स्पष्टसँग आफ्नो धारणा राखिसकेको बताए ।

मोदीको भ्रमणपछि जारी गरेको संयुक्त विज्ञप्तिमा लिपुलेक भञ्ज्याङ हुँदै द्विपक्षीय व्यापार गर्ने उल्लेख भएपछि नेपालले आपत्ति जनाएको थियो।

पछिल्लो समय कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपाली भूभागलाई भारतले आफ्नो सीमाभित्र राखेको राजनीतिक नक्सा प्रकाशित गरेपछि नेपालले त्यसको विरोध गरेको छ। आइतबार प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउने बताएका थिए।

गतसाता काठमाडौँस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै नेपाल र भारतलाई सीमा समस्या शान्तिपूर्ण रुपमा समाधान गर्न आह्वान गरेको थियो।

लिम्पियाधुरा नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दुमा अवस्थित छ। ‘यस्तो विवादको शान्तिपूर्ण समाधान खोज्ने चीनको नीति रहँदै आएको छ,’ प्राध्यापक लिन भने, ‘हामीले नेपालसँगको सीमा विवाद सन् १९६१ मौ समाधान गरिसकेका छौं।’ भारतले जारी गरेको नयाँ नक्सामा चीन र पाकिस्तानको भूभाग समेत पारेको उनले बताए।

भारतको गृहमन्त्रालयले कात्तिक १६ गते भारत प्रशासिक जम्मु तथा कस्मिरको प्रशासकीय संरचना परिवर्तन गरेपछि जारी गरेको नक्साप्रति बेइजिङ र इस्लामावादले यसअघि नै कडा विरोध जनाइसकेका छन्।

केही नेपाली सञ्चारकर्मीहरुसँग अन्तक्र्रियामा सहभागी भएका फुदान विश्वविद्यालयका अर्को प्राध्यापक झाङ वेइवेइले भारतप्रति उसका छिमेकीहरु सशंकित रहेको बताए।

‘गत साता भारतमा रहँदा मैले थिंक ट्यांकका साथीहरुलाई सोधेको थिएँ, छिमेकी देशसँग भारतको सम्बन्ध राम्रो हुन सकेको छैन? भारतप्रति किन छिमेकी देशको शंका र समस्या छ?’ झाङले भने।

अन्तक्र्रियामा चीनले अघि सारेको ‘टु प्लस वान’ मात्रै नभएर नेपाल, भारत र चीनको त्रिदेशीय सहकार्य, बेल्ट एन्ड रेड इनिसिएटिभदेखि ऋणपासो र बढ्दो व्यापार घाटाका विषयमा पनि चिनियाँ विज्ञहरुले धारणा राखेका थिए।

अन्तक्रियामा चाइना एकेडेमी अफ इन्टरनेसनल ट्रेड एन्ड इकोनोमिक कोअपरेसनकी प्राध्यापक फान योङपेङले नेपालको अर्थ व्यवस्थाको संरचनागत सुधार हुनुपर्ने बताइन्। नेपालको पर्यटनसहितका सेवा क्षेत्र र कृषिमा आधुनिकीकरण गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .