राजनीति


एमसीसी आन्दाेलनमा सरकार संयम नबनेकाे भए हिंसा भड्किन सक्थ्याे : गृहमन्त्री

एमसीसी आन्दाेलनमा सरकार संयम नबनेकाे भए हिंसा भड्किन सक्थ्याे : गृहमन्त्री

सुदीप भण्डारी
फागुन २४, २०७८ मंगलबार २१:५०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी विरोधको नाममा भएको आक्रमण र आलोचना सरकारले सहेर संयम बनेको बताएका छन्।

उनले एमसीसी विरोधमा आन्दोलनका क्रममा थुप्रै प्रहरी घाइते हुँदा पनि सरकारले ठूलो बल प्रयोग नगरेर संयमित बनेको बताए। 

नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमामा गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खाँणले आन्दोलनमा हिंसा नभड्कियोस भनेर सरकार सजक बनेको दाबी गरे।

‘झण्डै ५० जना प्रहरी घाइते भएर पनि उहाँहरुले (प्रहरी) धेरै शक्ति प्रयोग गर्नुभएन। जसका कारण यति ठूलो प्रदर्शनमा कसैको जीवन गुमेन’ उनले भने ‘त्यहाँ धेरै ठूला घट्ना भएको भए हिंसाले प्रति हिंसा जन्माउँथ्यो।’

खाँणले आन्दोनलप्रति संयम बनेजस्तै अभिव्यक्ति स्वतन्त्रताप्रति पनि सरकार उदार बनेको बताए। एमसीसीबारेमा सरकार र नेताहरुविरुद्ध विभिन्न टिकाटिप्पणी सामाजिक सञ्जालमा आए पनि राज्य पक्षले कसैलाई पक्राउ नगरेको खाँणले बताए।

‘पछिल्लो घट्नाक्रममा विभिन्न खालका टिका टिप्पणीहरू सामाजिक सञ्जालमा आए। हामीले कसैलाई बोलाएर सामान्य सोधपुछ पनि गरेका छैनौं’ उनले भने, ‘हामी अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा गर्ने अनुयायी हौं।’

विरोधका नाममा आलोचना, गाली, झण्डा देखाए पनि जिवित मान्छेलाई श्रद्धाञ्जली नलेख्न गृहमन्त्रीको आग्रह छ।

कांग्रेस नेता समेत रहेका खाँणले एमसीसी विशुद्ध विकास परियोजना राष्ट्रहित र समृद्धिको लागि भएकाले आफ्नो पार्टी नेतृत्वको सरकारले अनुमोदन गराएको उल्लेख गरे। उनले एमसीसी पनि अनुमोदन गर्ने र गठबन्धन पनि जोगाउने चुनौति पार लगाएको उल्लेख गरे।

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गलत खालका भ्रम र प्रचारबाजी भइरहेको भन्दै पत्रकार जगतले सत्य तथ्य उजागर गर्नुपर्ने बताए।

सो अवसरमा प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट बीबीसी नेपाली सेवा तथा बुटवल एफएममा कार्यरत माधव नेपाललाई र २०७६ बाट नेपाल टेलिभिजनका सम्वाददाता हरिष ढकाललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .