समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाललाई ११ प्रदेशसहितको पुनर्संरचना गर्नुपर्ने अडान दोहोर्याएका छन् ।
काठमाडौंमा बिहीबारदेखि सुरु सो पार्टीको संघीय परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले ११–प्रदेशको पुनसंरचना मोडेलमा जोड दिएका हुन् ।
‘उत्पीडित राष्ट्रियताहरुको मुक्ति तथा शासन सत्त्तामा साझेदारीका लागि राज्यको एकात्मक तथा केन्द्रीकृत चरित्र तथा संरचना अन्त्य गरी पहिचान, अधिकार, स्वायत्तता र स्वशासनमा आधारित संघीयता निर्माण गर्नुपर्दछ,’ उनले प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ । ‘त्यसनिम्ति पहिचानमा आधारित १०+१ प्रदेशको मोडेलमा जानु आवश्यक छ ।
अहिलेको राज्यलाई संघीयकरण गर्ने प्रक्रियालाई अधुरो र अपूर्ण संज्ञा दिँदै आफ्नो पार्टीले मधेशी, आदिवासी जनजाति, मुस्लिम, खस, थारु, शिल्पी दलित, अल्पसंख्यक तथा लोपोन्मुख जाति समुदायको मुक्तिआन्दोलनलाई सदैव अगाडि बढाउने बताएका छन् ।
उनले विकास, सुशासन र समृद्धिको लागि सोहिअनुसारको प्रणाली, विधि, पद्धति र संस्थागत प्रक्रिया हुनुपर्नेमा त्यसो नहुँदा अहिले मुलुकमा राम्रो विकास हुन नसकेको दाबी गरेका छन् ।
‘अहिलेको नेकपा सरकारले पनि ‘विकास, सुशासन र समृद्धि’ कै कुरा गरिरहेको छ तर किन भइरहेको छैन त ? समृद्धि, सुख र समाजवाद शब्द जप्दैमा प्राप्त हुँदैन । त्यसको वस्तुगत आधार तयार हुनु पर्दछ । सोहीअनुरुपको राजनीतिक प्रणाली, विधि पद्धति र संस्थागत प्रक्रिया हुनु पर्दछ । त्यो अहिले छैन,’ उनले भनेका छन् । ‘त्यसैले ‘विकास, सुशासन र समृद्धि’ को शर्त नै संविधान संशोधन, शासकीय स्वरुपमा परिवर्तन, पहिचान र अधिकारको प्रत्याभूति र प्रदेशको पुनर्सीमांकन हो ।’
संविधान सभाबाट संविधान बनाउने क्रममा तत्कालीन एनेकपा माओवादी पार्टीले पहिचानमा आधारित ११–प्रदेशको पुनसंरचना मोडेल प्रस्ताव गरेकाे थियाे भने कांग्रेस तथा तत्कालीन एमालेले त्यसकाे विराेध गरेपछि साे प्रस्ताव पारित हुनसकेकाे थिएन ।
प्रतिक्रिया