ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन एक हुँदा एमालेलाई अस्तित्व जोगाउने चुनौती

कुन प्रदेशमा कति छ मतभार?
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन एक हुँदा एमालेलाई अस्तित्व जोगाउने चुनौती

केशव सावद
पुस २०, २०७८ मंगलबार १६:२, काठमाडौँ

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुले मंगलबार मनोनयन दर्ता गरेका छन्। आगामी माघ १२ गते हुन गइरहेको निर्वाचनका लागि दलहरुले सम्बन्धित प्रदेशमा मनोनयन दर्ता गरेका हुन्। 

राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरेर आगामी फागुन २० गतेबाट बिदा हुँदैछन्। एमालेका ८, माओवादी र एकीकृत समाजवादीका ४–४, कांग्रेसका ३ र मनोनीत १ सांसद फागुन २० बाट बिदा हुन लागेका हुन्। 

जसमध्ये १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ जना निर्वाचन प्रक्रियाबाट छानिने छन्। राष्ट्रिय सभाको रिक्त १९ सिटमा सत्तारुढ ५ दलीय गठबन्धनले सहकार्य गर्ने निर्णय गरिसकेको छ। 

निर्वाचनमा सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि लागि निर्वाचन हुन लागेको हो। 

चार वर्षे कार्यकाल सकिनेमा १९ जना निर्वाचित र एकजना सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका छन्। २०७५ असार ४ गते भएको गोलाप्रथा अनुसार उनीहरुको चार वर्षीय पदावधि कायम भएको थियो। 

जसमध्ये सबैभन्दा बढी प्रमुख प्रतिपक्षी नेकपा एमालेका आठ सांसदहरुको पदावधि सकिदैछ। यस्तै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका पाँच, नेकपा (एकीकृत समाजवादी) का चार र सत्ताको नेतृत्व गरिरहेको कांग्रेसका तीन सांसदको पनि चार वर्षीय पदावधि सकिन लागेको छ।   

संसद सचिवालयका अनुसार चार वर्षीय पदावधि सकिन लागेका एमाले सांसदमा अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन्। 

माओवादी केन्द्रका खिमबहादुर विक, जीवन बुढा, दिनानाथ शर्मा, शशिकला दाहाल र रामनारायण बिडारीको पनि पदावधि समाप्त हुँदैछ। बिडारी तत्कालीन नेकपा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा मनोनित राष्ट्रियसभा सदस्य हुन्। 

एमालेबाट चोइटिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) मा गएका उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर र कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारीको पनि चार वर्षीय पदावधि सकिन लागेको छ। 

माओवादी सांसद् चन्द्रबहादुर खड्का पार्टी परित्याग गरी एमालेमा गएपछि कारबाहीमा परेका थिए। उनको स्थानमा २०७८ जेठ १७ गते भएको उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी भएका थिए। 

कार्यकाल सम्हालेको चार महिनामात्रै पूरा भए पनि खड्काकै स्थानमा निर्वाचित भएका कारण उनको कार्यकाल पनि फागुन २० मा सकिँदैछ।  

कार्यकाल सकिनु ३५ दिन अगाडि राष्ट्रियसभा निर्वाचन गरिसक्नुपर्ने संवैधनिक व्यवस्था छ। राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता हुन्छन्। 

जसअनुसार देशभरका सात सय ५३ स्थानीय तहबाट १ हजार ५ सय ६ र सात प्रदेशबाट ५ सय ५० प्रदेशसभा सदस्यहरु राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने छन्। 

कुन प्रदेशबाट कति रिक्त ?
प्रदेश १ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्दै आएका तीनजनाको पदावधि सकिदैछ। जसमा अगमप्रसाद बान्तावा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ छन्।

प्रदेश २ बाट शशिकला दाहाल र सुमनराज प्याकुरेल छन्। बागमती प्रदेशबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेलको समयावधि समाप्त हुँदैछ। 

गण्डकीबाट खिमबहादुर विक, दीनानाथ शर्मा र शान्तिकुमारी अधिकारी जिसी तथा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय, रामलखन चमार र कोमल वलीको पनि पदावधि सकिँदैछ। 

कर्णाली प्रदेशमा कविता बोगटी, जीवन बुढा र ठगेन्द्रप्रकाश पुरीको अवधि सकिँदैछ भने सुदूरपश्चिमबाट चक्र स्नेही, तारादेवी भट्ट र शेरबहादुर कुँवर बिदा हुँदैछन्। बागमतीका रामनारायण बिडारी मनोनित सदस्य हुन्।  

गठबन्धनमा भागबण्डा
पाँच दलीय गठबन्धनले आफ्ना सिटहरु यथावत राखेर खाली हुन लागेका एमालेका ८ सिटमा पनि भागबण्डा गरेको छ। गठबन्धनले ८ सिटमा कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी (जसपा) नेपाललाई २ तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेको छ। 

सत्तारुढ गठबन्धनले एक भएर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जाने सहमति गरेसँगै प्रतिपक्षी एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। 

गठबन्धनको सहमतिअनुसार प्रदेश १ का तीन सिटमध्ये महिलातर्फ एकीकृत समाजवादी, अन्यमा कांग्रेस र अल्पसंख्यकमा जसपाले उम्मेदवारी दिएको छ। 

प्रदेश २ का दुई सिटमध्ये महिलातर्फ माओवादी र अन्यमा जसपा, बागमतीका दुई सिटमध्ये अन्यमा कांग्रेस र महिलातर्फ एकीकृत समाजवादी, गण्डकीका तीन सिटमध्ये महिलामा कांग्रेस, अन्य र दलित क्लस्टरमा माओवादीले उम्मेदवारी दिएको छ।

लुम्बिनीका तीनमध्ये पुरुष खुलातर्फ कांग्रेस, महिलातर्फ एकीकृत समाजवादी र दलिततर्फ जनमोर्चाले, कर्णालीका तीन सिटमध्ये महिलातर्फ कांग्रेस, अपाङ्गतर्फ माओवादी र खुलातर्फ एकीकृत समाजवादी तथा सुदूरपश्चिमका तीन सिटमध्ये खुलातर्फ कांग्रेस, दलिततर्फ माओवादी र महिलामा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ। 

कुन प्रदेशमा मतभार कति? 
सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य छन्। जसमा नेकपा माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का १४, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, जनता समाजवादी पार्टी (जसपा) का १, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ प्रदेशसभा सदस्य छन्।

सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरुको संख्यालाई आधार मान्दा मात्रै गठबन्धन एमालेभन्दा १३ सय ९२ मतभारले अगाडि छ। सुदूरपश्चिममा प्रदेश सभा सदस्यका तर्फबाट एमालेको मतभार ५ सय २८ मात्र छ। 

सुदूरपश्चिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जना छन्। स्थानीय तह र प्रदेश सभा गरी सुदूरपश्चिममा ५६ सय ४६ मतभार छ।

कर्णाली प्रदेशमा ३५ प्रदेशसभा सदस्य छन्। जसमा एमालेका १३, माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ जना सदस्य छन्।  

कर्णालीमा पनि प्रदेश सभा सदस्यको संख्यालाई आधार मान्दा एमालेको मतभार ६ सय २४ हुन आउँछ। कर्णालीमा गठबन्धनको मतभार १ हजार ८ छ। जुन एमालेभन्दा ३ सय ८४ ले बढी हो। 

कर्णालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जना छन्। जसअनुसार कर्णालीमा कुल मतभार ४४ सय ८८ हुन आउँछ।

लुम्बिनी प्रदेशका ८१ प्रदेशसभा सदस्यमध्ये एमाले ३७, माओवादी १९, कांग्रेस १९, जसपा ४, एकीकृत समाजवादी १ र जनमोर्चाका १ छन्। प्रदेश सभा सदस्यको संख्याअनुसार लुम्बिनीमा एमाले भन्दा गठबन्धनको मतभार ३ सय ९६ छ।
लुम्बिनीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना छन्। जसअनुसार लुम्बिनीमा ७७ सय ५८ मतभार देखिन्छ।

गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्यमध्ये एमाले २७, कांग्रेस १५, माओवादी १२, जसपा २, जनमोर्चा २ र स्वतन्त्र १ छन्। प्रदेश सभा सदस्यको संख्याअनुसार गण्डकीमा एमालेभन्दा गठबन्धनको मतभार १ सय ९२ मात्रै बढी देखिन्छ। 

गण्डकीमा स्वतन्त्र सांसद दीपक मनाङेले गठबन्धनलाई सघाए ४८ मतभार थप हुनेछ। प्रदेश सरकार गठन हुँदा उनले गठबन्धनलाई सघाएका थिए।  

प्रदेश सभा सदस्यहरुको मतभारमात्रै हेर्दा गण्डकीमा गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ। तर स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभारसमेत जोड्दा झण्डै ७ सय मतभार फरक पर्छ। 

गण्डकीमा स्थानीय र प्रदेश सभा गरी एमाले एक्लैको मतभार २५ सय ५६ हुन्छ भने पाँच दलीय गठबन्धनको मतभार ३२ सय ५२ हुन आउँछ। 

बागमती प्रदेशमा १ सय ९ प्रदेश सभा सदस्य छन्। जसमध्ये एमाले ४३, माओवादी २३, कांग्रेस २२, एकीकृत समाजवादी १४, विवेकशील साझा ३, राप्रपा २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) २ छन्। 

बागमतीका प्रदेश सभा सदस्यहरुको संख्याअनुसार गठबन्धनको मतभार २८ सय ३२ र एमालेको मतभार २ हजार ६४ छ। जसअनुसार बागमतीमा एमालेभन्दा गठबन्धन ७ सय ६८ मतभारले अघि देखिन्छ। 

बागमतीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन्। बागमती प्रदेशको कुल मतभार ९४ सय ९८ छ।

प्रदेश २ मा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्। प्रदेश २ मा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ। 

प्रदेश २ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ ।

प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। जसमा एमाले ४१, कांग्रेस २१, माओवादी १५, एकीकृत समाजवादी १०, जसपा ३, राप्रपा १, संघीय समाजवादी फोरम १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ जना छन्। 

प्रदेश सभा सदस्यको संख्या हेर्दा प्रदेश १ मा गठबन्धन र एमालेबीचको मतभार ३ सय ८४ छ। प्रदेश १ मा गठबन्धनको २३ सय ५२ र एमालेको १९ सय ६८ मतभार देखिन्छ। 

प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ७२ जना छन् । प्रदेश १ मा स्थानीय तह र प्रदेश सभा गरी ९ हजार ३ सय १२ मतभार हुन्छ।

कसरी निकालिन्छ मतभार?
प्रदेशसभाका सदस्यको मतभार कायम गर्दा नेपालको कुल जनसंख्यालाई प्रदेशसभाका सदस्यको कुल संख्याले भाग गरिन्छ। 

यसरी हिसाब गर्दा प्रदेशसभाका एक सदस्यको मतभार ४८ हुन्छ। सात प्रदेशमा ५ सय ५० प्रदेश सांसद छन्। 

७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १ हजार ५ सय ६ छन्। स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८–१८ मानिन्छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .