अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि आक्रमणको घोषणा गरेका थिए। तर पछि उनले आफ्नो निर्णय बदले।
न्युयोर्क टाइम्सका अनुसार इरानले अमेरिकी ड्रोन विमान ध्वस्त बनाएपछि राष्ट्रपति ट्रम्पले इरानलाई आक्रमण गर्न अनुमति दिएका थिए।
टाइम्सका अनुसार शुक्रबारको झिसमिसे बिहानीमै ट्रम्पले इरानमाथि आक्रमण गर्न आफ्ना सेनालाई अनुमति दिएका थिए।
इरानमाथि आक्रमण गर्न सेनासमेत तयार भएका थिए। युद्धक विमानहरु आकाशमै थिए, पानी जहाजहरु आक्रमणको तयारीमा जुटेका थिए।
यद्यपी सुरुवाती चरणमै ट्रम्पले आफ्नो निर्णय उल्टाएर आक्रमण नगर्न भनेको ह्वाइट आउसका अधिकारीलाई उदृतगर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
इरानले बुधबार अमेरिकी ड्रोनलाई ध्वस्त बनाएपछि ट्रम्पले ट्वीटमा ‘इरानले गल्ती गरेको’ अभिव्यक्ति दिएका थिए।

इरानका अनुसार अमेरिकाको जासुसी ड्रोन विमान आफू नियन्त्रित क्षेत्रमा आएपछि त्यस ड्रोनलाई खसाएको हो।
अमेरिकाले भने आफ्नो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमै भएको दाबी गर्दै आएको छ।
सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच एक परमाणु सम्झौता भएको थियो।
उक्त सम्झौताको उदेश्य इरानको परमाणु महत्वाकाँक्षामा अंकुश लगाउनु थियो।
तर इरानले हालै उक्त सम्झौता आंशिक रुपमा बहिष्कार गरेको छ। अमेरिका यस सम्झौताबाट गतवर्ष नै निस्किसकेको छ।
सम्झौताबाट लगभग बाहिरिएको अवस्थामा रहेको इरानले आफूले युरेनियम तथा परमाणु हतियार फेरि निर्माण गर्ने बताइरहेको छ। इरानले परमाणु हतियार बनाउने भनेपछि अमेरिका रुष्ट बनेको हो।

अमेरिकी ड्राेन विमान
इरानमाथि अमेरिकाले सम्झौता अगाडि देखिनै प्रतिबन्ध लगाएको छ। जसका कारण इरानको अर्थतन्त्रमा ठूलो झट्का लागेको छ। इरानले अमेरिकी प्रतिबन्ध हट्ने विश्वासमा परमाणु हतियार सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको थियो।
अमेरिका सम्झौताबाट बाहिरिएसँगै इरानले परमाणु हतियार बनाउने बताएको हो। अमेरिका भने विना सर्त इरानले परमाणु हतियार सम्झौतालाई पालना गर्नुपर्ने पक्षमा छ। सोही कारण यतिबेला अमेरिका र इरानबीच द्वन्द चर्किएको छ।
अमेरिकाले इरानसँग कुनै आर्थिक सम्झौता नगर्न विश्वलाई दबाब दिएको छ। वितेको केही महिनायता इरान छेउछाउका समुद्रमा राखिएका तेल ट्यांकरमा आक्रमण भएका छन्।
साउदी अरब तथा ओमनका तेल ट्यांकरमा आक्रमण भएका हुन्। अमेरिका लगायत अन्य राष्ट्रले उक्त आक्रमण इरानले गरेको बताउँदै आएको छ। इरानले आरोप गलत भएको बताउँदै आएको छ।

अमेरिकाले हालै इरानबाट आफ्ना सहयोगी राष्ट्र जोगाउनेभन्दै हजारौं अमेरिकी सेना गल्फ अफ ओमनमा तैनाथ गरेको छ।
यसै सिलसिलामा अमेरिकी ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेकोभन्दै इरानले त्यसलाई खसाएको दाबी गरेको हो।

प्रतिक्रिया