सर्वोच्च अदालतमा झण्डै चार सातादेखिको तनाव आइतवार पनि जारी छ। प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन थालेका कानुन व्यवसायी र प्रहरीबीच आइतवार पनि घम्साघम्सी चल्यो।
जबरालाई रोक्न सर्वोच्चको गेटमा बसेका वकिल र प्रहरीबीच धकेलाधकेल भएको छ। तर आइतवार पनि प्रधानन्यायाधीश जबरा दोस्रो गेटबाट सुरक्षासहित सर्वोच्चमा छिरेका छन्।
उनले त्यसअघि नै सरकारी निवास बालुवाटारबाटै आइतबारका लागि मुद्दाको पेशी तोकेका थिए। उनले शुक्रबार पनि यही अभ्यास गरेका थिए।
जबराले आइतबारका लागि सबै किसिमका २७२ मुद्दाको पेशी तोकेका छन्।
आइतवार वकिलहरूले मूल गेट र दोस्रो गेटमा पनि धर्ना दिने बताएका थिए। तर दोस्रो गेटमा अवरोध हुन नदिइ जबरालाई सुरक्षाकर्मी सर्वोच्च छिराएका हुन्।
आन्दोलनकारी नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पद छाडेर निकास दिन भनेका छन्।
तर जबरा प्रश्न उठेजति सबै न्यायाधीशले पद त्याग्ने भए आफू तयार रहेको भनेर अड्डी कसिरहेका छन्।

Shares

प्रतिक्रिया