राजनीति


माधव नेपाल मेरो घरमा भात खान आएका हुन्, म एमाले छाड्दिनँ : द्वारिकलाल चौधरी

माधव नेपाल मेरो घरमा भात खान आएका हुन्, म एमाले छाड्दिनँ : द्वारिकलाल चौधरी

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १२:२२, काठमाडौँ

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफू एमले छाडेर कतै नजाने बताएका छन्।

काठमाडौंबाट आइतवार इटहरी पुगेका पत्रकारहरूसँगको कुराकानीका क्रममा चौधरीले केही दिनअघि माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आफूकहाँ भात खान मात्रै आएको बताए। 

नेकपा एमाले सुनसरीका पूर्व जिल्ला अध्यक्षसमेत रहेका चौधरीले एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफूकहाँ भात खाएर गएको बताउँदै एमालेबाट कतै नजाने स्पष्टीकरण दिए। 

चौधरीले आफू स्थानीय सरकार भएकाले प्रदेशको मुख्यमन्त्री आफूकहाँ आउँदा स्वागत गर्नु दायित्व भएको बताए। 'एमालेकै भए पनि अरु पार्टीका भए पनि स्वागत गर्नु मेरो कर्तव्य हो', उनले भने, 'माधव नेपाल पनि राष्ट्रिय नेता हुन्, मुख्यमन्त्रीसँगै उनलाई पनि घरमा स्वागत गरेका हुँ।'

'माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई मेरो घरमा आएर भात खाएको सत्य हो', उनले भने, 'उहाँहरु दुवैजना अर्कै पार्टीको मान्छे हो, म एमालेमै छु। उहाँहरुले मेरो घरमा भात खाँदैमा एमाले छाड्न लागेको नभन्नुस्। म अहिले एमालेको नीति र विचारबाट दायाबायाँ लाग्दिनँ।'

प्रमुख चौधरीले एमालेमा देखिएको विवाद समाधान हुँदैजाने बताएका छन्। यही कात्तिक २६ मा समाजवादीका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राई चौधरीको इटहरीस्थित घरमा पुगेर भात खाएका थिए।

एमाले सुनसरीको कात्तिक २४ मा बसेको बैठकमा असन्तुष्टि जनाउँदै बहिष्कार गरेपछि चौधरी एकीकृत समाजवादीतिर जाने चर्चा चलेको थियो।

सुनसरी एमालेमा दुईवटा समूह देखिएका थिए। रेवतीरमण भण्डारी र रमेश बस्नेत समूहलाई मिलाउन राखिएको बैठकमा चौधरीले माइक खोसेका थिए। 

उक्त बैठकमा माइक खोसेर बाहिरिएपछि चौधरीले एमाले छोड्न लागेको चर्चा सुरु भएको थियो। तर उनले आफू एमालेकै कार्यकर्ता भएकाले दायाँ बायाँ कतै नलाग्ने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad