राजनीति


महाधिवेशनबारे थप निर्णय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज

महाधिवेशनबारे थप निर्णय गर्न कांग्रेस केन्द्रीय समितिको बैठक आज

फाइल फोटो


केशव सावद
कात्तिक २८, २०७८ आइतबार ५:४१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ।  

पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राख्न लागेकाे हाे। 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन्। 

यसअघि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा आइतबार दिउँसो १ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख थियो। 

केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ। 

‘बैठकले निर्वाचन समितिले गरेको हेरफेरलाई अनुमोदन गर्छ। महाधिवेशनको तयारी र व्यवस्थापनका लागि समिति र उपसमितिहरू गठन हुन्छन्,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘महाधिवेशनलाई अगाडि बढाउने क्रममा विधानका कतिपय धाराहरुलाई संशोधन–निलम्बन गर्नुपरेको अवस्था थियो। यसबारे पनि बैठकले टुंगो लगाउँछ।’     

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार बूढानीलकण्ठमै कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएको थियो। पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता शर्माले जानकारी दिए। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंसिर २४–२७ मा १४औँ महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ। दशैंतिहार, नेपाल सम्बत र छठका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबारबाट फेरि सुरु भएको छ। 

जसअन्तर्गत शनिबार प्रदेश २ का सर्लाहीबाहेक आठ, सुदूरपश्चिमको कैलाली, कर्णालीको सुर्खेत र डोल्पा, लुम्बिनीको बाँके तथा बागमतीको रसुवा जिल्लामा वडा अधिवेशन सुरु भएको छ।

कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो। जसमध्ये तराई र पहाडका जिल्लाहरुमा वडा र गाउँ/नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। 

कांग्रेसले ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ। हिमालका १३ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ। 

२१ हिमाली जिल्लामध्ये ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, कालिकोट, मुगु, हुम्ला, बझाङ र बाजुरामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो।  

क्रियाशील सदस्यता र समायोजनमा विवाद देखिएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा कात्तिक ३० गते गाउँ/नगरपालिका अधिवेशन निर्धारण गरिएको छ।  

कांग्रेसले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेका ५१ र वडा अधिवेशन सुरु नभएका १३ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन गर्ने तयारी गरेको छ। 

१३ जिल्लामा वडा र पालिका अधिवेशन भइसकेपछि आगामी मंसिर ३ गते ६४ जिल्लाहरुमा एकसाथ प्रदेशसभा अधिवेशन सुरु गरिने कांग्रेसको कार्यतालिका छ। 

कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सातै प्रदेशको अधिवेशन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .