राजनीति


सुनसरीमा जारी एमाले विवादमा ‘खेल्न’ खोज्दै माधव नेपाल!

सुनसरीमा जारी एमाले विवादमा ‘खेल्न’ खोज्दै माधव नेपाल!

शुक्रबार इटहरीका मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरीको घरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।


कृष्ण बहाब
कात्तिक २७, २०७८ शनिबार १५:३८, काठमाडौँ

‘जेठ २ विवाद’कै बीच यही कात्तिक २४ गते नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठक बस्यो। बोलाइयो। दसबुँदे सहमतिबमोजिम पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कि नफर्काउने विषयमा सुनसरीमा लामो समयदेखि विवाद रहे पनि महाधिवेशन नजिकै आएकाले जिल्ला कमिटीको बैठक राखियो। 

जेठ २ मा फर्किन संस्थापन स्थापननिकट समूह सहमत नभएपछि केही नेताबीच ‘मध्यमार्गी’ सहमति’ भयो– विस्तारित बैठकको अध्यक्षता जेठ २ का समर्थक जिल्ला इन्चार्ज धर्म निरौलाले गर्ने र खेमराज पोख्रेलको अध्यक्षतामा अधिवेशन आयोजक कमिटी बनाउने।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो अध्यक्ष रेवतीरमण भण्डारीबीच लामो समयदेखि जारी विवादमा बुधबार दुवै जनालाई ’ब्याक’ गर्ने सहमति भयो। तर त्यही विवाद मिलाउन गरिएको सीमित नेताहरूबीचको सहमति पनि विवादित भयो।

इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बसेको बैठकमै त्यो असन्तुष्टि देखियो। एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका इटहरीका मेयर द्वारिकलाल चौधरीले बैठकको अध्यक्षता गर्ने प्रक्रिया अवैधानिक भएको भन्दै मञ्चमै पुगेर माइए खोसे।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेपछि बैठक स्थलमा तनाव भयो। 

चौधरीको हातबाट माइक फिर्ता लिन एमाले कार्यकर्ताहरू मञ्चमा उक्लिए। माइक खोएिपछि चौधरी कार्यक्रम स्थलबाट हिँडे। बैठक बहिष्कार गरेका उनले उपमहानगर कार्यालयको आफ्नै कार्यकक्षमा आएर पत्रकार सम्मेलन गरे।

चौधरी मात्र हैन, जेठ २ अघिका अध्यक्ष रमेश बस्नेतसमेत बैठकमा सहभागी भएनन्। साथै धरानबाट जेठ २ अघिको कमिटीका जिल्ला सदस्यहरू समेत सहभागी भएनन्। अध्यक्ष आफू रहेको र जिल्ला कमिटीको बैठक आफूहरूले नबोलाएको बस्नेतको टिप्पणी छ।

एमालेको विवादमा एकीकृत समाजवादी सक्रिय!
सुनसरी एमालेमा विवाद टुंगिसकेको दाबी संस्थापन पक्षका  नेताहरूको छ। तर कार्यक्रममा देखाएको व्यवहार र विज्ञप्तिले  सुनसरीमा विवाद झनै झाँगिँदै गएको देखिन्छ।

उता एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी भने उक्त विवादमा खेल्न खोजेको छ। जिल्ला बैठकमा माइक खोसिएको २ दिनपपछि अर्थात् शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल इटहरीका मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरीको घरमै पुगे।

याे भेटलाई एकीकृत समाजवादीले फेसबुकमार्फत पार्टी प्रवेशकै हल्ला चलायाे। एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरी वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका चन्द्र भट्टराईलगायत नेता एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको भनेर फेसबुकमार्फत प्रचार गरिएको थियो। तर भट्टराईलगायत अन्य एमाले नेताले विज्ञप्ति नै निकालेर विरोध गरेपछि फेसबुक पोस्ट हटाइएको थियो।

चौधरीले समेत एमालेभित्र ‘निहुँ’ खोजेकै बेला माधव नेपाललाई घर बोलाएर पार्टीभित्र तरंग ल्याइदिए। पार्टीमा आफूले भनेको कुरा लागु हुन छाडेपछि चौधरीले एमालेबाट फुटेको दलका अध्यक्षलाई नै घर ल्याएर एमालेभित्र बहस सिर्जना गरिदिए। 

अध्यक्ष नेपालसँगै नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसमेत कार्यक्रममा सहभागी भएका थिए। बिहीबार बेलुका इटहरी आएका माधव नेपालले चौधरीलाई मात्र हैन, एमाले कमिटीप्रति असन्तुष्ट अन्य कार्यकर्तालाई समेत भेटे। 

प्राचीन हरिद्वारका रूपमा चिनिएको चतरामा जगतगुरु बालसन्तसँग समेत नेपालले भेटे गरे। यहीँ स्थानीय कार्यकर्ताहरूसँग नेपालले एमाले विवादबारे पनि जानकारी लिए।

‘तपाईंहरूले बुझ्नु नै भएको छ नि, एमालेभित्र अहिले ठूलो विवाद छ, त्यसले गर्दा हाम्रो पार्टीमा आउने सम्भावना बढेको छ’, नेकपा एकीकृत समाजवादीका एक जना केन्द्रीय नेताले भने, ‘धेरै कमरेडहरू हामीसँग कन्भिन्स हुनुहुन्छ। केही समय लिने बताएकाले तत्काल पार्टी प्रवेशचाहिँ भएको छैन।’

नेकपा एकीकृत समाजवादीले अहिले सुनसरीमा बढी विवाद देखिएको धरान उपमहानगरलाई अलि बढी ’फोकस’ गरेको देखिन्छ। जेठ २ का पक्षधर बढी देखिएको धरानमा ‘कन्भिस’ गर्न अहिले छलफलसमेत जारी राखेको एकीकृत समाजवादीका एक नेताले बताए। 

‘नाम सार्वजनिक गर्न मिल्दैन तर धेरै साथीहरू हामी नजिक हुनुहुन्छ’, उनको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .