राजनीति


देउवाले शुभकामना दिएपछि निधिले भने : यो त मेरो लागि ‘गुड न्युज’ हो

देउवाले शुभकामना दिएपछि निधिले भने : यो त मेरो लागि ‘गुड न्युज’ हो

केशव सावद
कात्तिक २५, २०७८ बिहिबार १९:४९, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच आसन्न महाधिवेशनमा दिने उम्मेदवारीबारे फेरि छलफल भएको छ। 

१४ औँ महाधिवेशनको तयारीका बारेमा छलफल गर्न सभापति देउवाले बिहीबार दिउँसो बोलाएको आफूनिकटका पदाधिकारीहरूको बैठकमा दुई शीर्ष नेतृत्वबीच उम्मेदवारीबारे छलफल भएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभापति निधिले महाधिवेशनमा उम्मेदवारीबारे आफ्नो अडान दोहोर्‍याएका थिए। जवाफमा सभापति देउवाले निधिलाई उम्मेदवारी दिने अधिकार भएको भन्दै शुभकामना दिए। 

शुभकामना लगत्तै निधिले सभापति देउवाले दिएको शुभकामना आफ्ना लागि शुभ समाचार भएको अभिव्यक्ति दिए। उनको अभिव्यक्तिपछि देउवाले आफूले १५ औँ महाधिवेशनका लागि शुभकामना दिएको प्रतिक्रिया दिए। 

‘विमल दाइले सभापतिसँग उम्मेदवारीका बारेमा आफ्नो पुरानै धारणा दोहोर्याउनुभयो।। ​त्यसपछि सभापतिले त्यो तपाईंको अधिकार हो, तपाईंलाई शुभकामना छ भन्नुभयो,’ निधिको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसपछि दाइ (निधि)ले यो त मेरो लागि गुड न्युज हो भन्नुभयो। उहाँको कुरा सुनेर सभापतिले अहिलेका लागि होइन, १५ औँ का लागि भनेको हुँ। नउठ्नुस् भन्दै आएको छु, मान्नुहुन्न भन्नुभयो।’

बैठकमा उपसभापति निधि र सभापति देउवाबीच ठट्टासमेत भएको स्रोतको भनाइ छ।

‘विमल दाइले ज्योतिषीले तपाईंलाई ७ पटक प्रधानमन्त्री बन्नुहुन्छ पो भन्नुभएको हो। सभापति बन्नुहुन्छ भन्नुभएको होइन नि भन्नुभयो,’ स्रोतले भने, ‘त्यसपछि सभापति हाँस्नुभयो।’ 

निधिले गत वर्ष साउन २९ गते सभापति देउवालाई उनकै निवास बूढानीलकण्ठमा भेटेर १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। 

‘म १४ औँ महाधिवेशनमा सभापतिमा लड्न चाहन्छु। त्यसमा तपाईंको समर्थन चाहन्छु,’ उनले देउवासँग भनेका थिए, ‘तपाईंकै मार्गदर्शनअनुसार सभापति बनिसकेपछि पनि पार्टी सञ्चालन गर्छु।’ 

छलफलका क्रममा उपसभापति निधिले सभापति देउवालाई आगामी महाधिवेशनमा उम्मेदवारी नदिन पनि आग्रह गरेका थिए भने देउवाले पनि निधिलाई १५ औं महाधिवेशनमा सभापतिमा लड्न सल्लाह दिएका थिए। 

निधिले विभिन्न कारणहरु देखाउँदै १५ औं महाधिवेशन आफ्ना लागि ‘सुट’ नगर्ने बताएका थिए। 

१५ औं महाधिवेशनमा आफू ७० वर्ष पुग्ने, कांग्रेसमा ३–४ पुस्ताको जाम रहेको, पदका लागि तँछाडमछाड भइरहेको, जाम खोल्नका लागि नयाँ पुस्तालाई मार्ग प्रसस्त गर्नुपर्ने, सबै पदहरु निर्वाचित भएर आउने भएका कारण सभापतिले मनोनित गर्ने व्यवस्था नभएको भन्दै उनले १५ औँ महाधिवेशनसम्म पर्खनु आफ्ना लागि अनुकुल नहुने उनको भनाइ थियो। 

त्यो बेला उनी देउवाकै समर्थनमा सभापतिमा उठ्ने भन्दै बूढानीलकण्ठबाट बाहिरिएका थिए। त्यसपछि निधिले काठमाडौंमा नेताहरुसँग भेटघाट गर्नुका साथै जिल्लामा टेलिफोन सम्पर्क गरेर नेता–कार्यकर्ताहरुसँग आफू सभापतिमा उठ्ने बताउँदै आएका थिए। 

उपसभापति निधिले साउन ५ गते सभापति देउवाकै निवास पुगेर फेरि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताएका थिए। 

आफूले गत वर्षको साउन अन्तिम साता उम्मेदवारीका विषयमा राखेको कुरा स्मरण गराउँदै उनले देउवालाई भनेका थिए, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु। सभापतिमा तपाईंको समर्थनमा म लड्छु।’

बिहीबार भएको छलफलमा पनि निधिले आफू सभापतिमा उठ्ने दोहोर्‍याउँदै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब छोड्नुपर्ने धारणा राखे। जवाफमा देउवाले चुनावी प्रतिष्पर्धामा उत्रिनु आफ्नो अधिकार भएको जवाफ फर्काएका छन्। 

‘छलफलका क्रममा विमल दाइले रामचन्द्र दाइ र तपाईं (देउवा) चुनाव नलड्नुस्। नयाँ पुस्तालाई लड्न दिनुस्। स्वच्छ प्रतिष्पर्धा हुन्छ भन्नुभयो,’ निधिनिकट स्रोतले भने, ‘जवाफमा सभापतिले महाधिवेशनमा उठ्नु आफ्नो अधिकार हो भन्नुभयो।’

निधिले गत भदौ ११ गते नयाँ बानेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर औपचारिक रुपमै १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .