‘आगामी निर्वाचनमा पूर्व माओवादीबीच गठबन्धन बनाएर जाने विषयमा छलफल भइरहेको छ,’ केही दिनअघि आफूलाई भेट्न खुमलटार निवासमा पुगेका नेताहरुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘विप्लवजीसँग पनि छलफल चलिरहेको छ।’
अबको केही महिनाभित्रै प्रदेश र संघीय संसदका २२ सिटमा उपनिर्वाचन, ४ वर्षे कार्यकाल पुरा गरेका राष्ट्रिय सभाका २० सदस्यको निर्वाचन र स्थानीय तहको निर्वाचन हुँदैछ।
निर्वाचनकै लागि सक्रिय भइरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विप्लवदेखि मोहन वैद्य किरणको पार्टीसँग समेत मोर्चाबन्दी वा गठबन्धन बनाएर जाने बताएका हुन्।
प्रचण्डले विप्लव र किरणसँग मोर्चाबन्दी हुने सम्भावना उच्च भएको बताएको उनको निवास पुगेका एक केन्द्रीय सदस्यले नेपालखबरलाई बताए।
‘हामीले आगामी निर्वाचनलाई समेत लक्षित गरेर कांग्रेससहितको गठबन्धन त बनाइ सकेका छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘यो गठबन्धन कायम राख्दै सबै कम्युनिस्ट घटकबीच सके एकता नत्र चुनावी मोर्चाबन्दी हुन्छ। किरणजी र विप्लवजीसँग पनि कुरा भइरहेको छ।’
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि त्यसको पुष्टि गरे।
‘हाम्रो पार्टीले चुनावमा तालमेल, मोर्चाबन्दी वा गठबन्धन बनाएर जाने विषयमा विप्लवजी, किरणजीसँग कुरा गरिरहेको छ। तर, निष्कर्षमा पुगिएको छैन,’ महराले नेपालखबरसँग भने, ‘उहाँहरुले जनताको पक्षमा, समाजवादको पक्षमा संयुक्त भएर लडौँ भन्ने प्रस्ताव गर्नुभएको छ।’
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले प्रचण्डसँग विप्लव लगायतका नेताले भेट गरेको बताए।
तर, अहिलेसम्म चुनावमा भाग लिनेबारे कुनै निर्णय नगरेकोले त्यसबारेमा छलफल नै नभएको उनले बताए।
‘चुनावमा भाग लिने पार्टीको नीति बनेको छैन,’ बास्तोलाले नेपालखबरसँग भने, ‘मंसिर ८ गते काठमाडौंमा बृहत् जनसभा गरेपछि बैठक बसेर ठोस निर्णयमा पुग्छौँ।’
‘समाजवादको लागि जनमत संग्रहको चुनाव गराउने हो भने हाम्रो पार्टी सहभागी हुन्छ भनेर विप्लवजी लगायत नेताहरुले सबै पार्टीसँग छलफल गर्नुभएको हो,’ उनले थपे, ‘चुनावकै विषयमा मसिनो गरी छलफल चाहिँ भएको छैन।’
केही महिनाअघि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले चुनावमा भाग नलिने निर्णय गरेको थियो।
‘चुनावसम्बन्धी विषय अब बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरेर एउटा निर्णय गर्छौँ,’ बास्तोलाले थपे।
तर, नेकपाभित्र प्रचण्डसँग मिल्ने कि एमालेसँग मिलेर जाने भन्ने कुरामा एक मत छैन। बास्तोलाले कम्युनिस्ट घटकबीच एक भएर जानुपर्ने मत पार्टीभित्र बलियो रहेको बताए।
‘सबै कम्युनिस्ट घटक एक बनाउनुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ। तर, प्रचण्डजीसँग भएको छलफल भने अहिलेको राजनीतिक विषयकै सेरोफेरोमा केन्द्रित छ,’ उनले भने।
सो पार्टीभित्र प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमालेसँग मिलेर जान जोडबल गरिरहेको उनीहरुको भनाइ छ।
अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न नहुने पक्षमा विप्लवको नेकपा प्रचण्डको लाइनसँग नजिक देखिएको छ।
सत्तारुढ दलमध्ये कांग्रेस एमसीसी पारित गरेर जानुपर्ने पक्षमा छ। माओवादी केन्द्रमा धेरै नेताहरु अझैपनि एमसीसीको विरोधमा छन्। नेकपा एकीकृत समाजवादीले एमसीसीबारे आफ्नो स्पष्ट अडान सार्वजनिक नगेपनि सो पार्टी तत्काल एमसीसी पास गर्न नहुने पक्षमै छ।
विप्लव नेतृत्वको नेकपाको जाजरकोट, कालिकोट, रोल्पा, कपिलवस्तुलगायत केही जिल्लामा राम्रै उपस्थिति रहेको मानिन्छ।
नेकपाले चुनावमा माओवादी केन्द्रसँग गठबन्धन बनाएको अवस्थामा भने ती स्थानमा जित्न थप सहज हुने विश्लेषण माओवादी केन्द्रले गरेको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशका सचिव रामदीप आचार्य विप्लव र मोहन वैद्यसँगको गठबन्धनले मनोवैज्ञानिक रुपमा समेत प्रभाव पार्ने बताउँछन्।
‘किरण र विप्लवको पार्टीसँग हुने चुनावी गठबन्धनले केही प्रभाव त पर्छ,’ आचार्यले भने, ‘अंकगणित मात्र होइन चुनावमा मनोविज्ञानले पनि ठूलो महत्व राख्छ। तर उहाँहरु हुँदा र नहुँदैमा चुनावमा उलटपुलट भइहाल्ने हुँदैन।’
माओवादीका नेताहरु पनि विप्लव, वैद्य, गोपाल किराती लगायत पूर्वमाओवादीका नेताहरुसँग सकेसम्म एकता नै होस् भन्ने चाहना राख्छन्।
‘कुनै समय एकै ठाउँ बसेर युद्ध लडी गणतन्त्र ल्याएका नेताहरु एकै ठाउँमा भइदिए उर्जा थपिन्थ्यो भनेर सबैले सोचेका छौँ,’ आचार्यले थपे।
नेकपाका सचिवालय सदस्य बास्तोलाले चुनावमा भाग लिएको अवस्थामा आफ्नो पार्टीले वर्ग हेर्ने बताए।
‘कुन पार्टीसँग हुन्छ, छलफल नै नभई भन्ने कुरा भएन,’ उनले भने, ‘गठबन्धन बनेकै अवस्थामा हाम्रो पार्टीले वर्ग हेर्छ। आन्दोलनमा जनताको मुद्दा उठाएको पार्टीसँगै मिलेर जान सक्छौँ।’
त्यसो त विप्लव पछिल्लो दिन माओवादी केन्द्रभन्दा एमालेप्रति नरम देखिएका छन्।
झण्डै चार वर्ष भूमिगत भएर २०७७ साल फागुन २१ गते सार्वजनिक भएका विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सहमति गरेका थिए। सो सहमतिपछि पटकपटक विप्लव–ओली वार्ता भइसकेको छ।
प्रचण्डलाई कमजोर बनाउन ओलीले विप्लवलगायत पूर्व माओवादी नेताहरुसँग रणनीतिक गठबन्धन बनाएर जाने सम्भावना पनि रहेको माओवादी केन्द्रका नेताहरु बताउँछन्।
विप्लव एमालेसँग मिलेको अवस्थामा माओवादी गढ भनिएका रोल्पा, रुकुममा माओवादी कमजोर हुने विश्लेषण उनीहरुको छ।
‘एमालेले निश्चित हार्ने सम्भावना भएका माओवादी गढमा विप्लवलाई टिकट मिलाइदिएर एमालेले सहयोग ग¥यो भने माओवादीले चुनाव हार्छ,’ एक नेताले भने, ‘राजनीतिमा यो पनि नहोला भन्न सकिँदैन।’
Shares

प्रतिक्रिया